• ६ चैत २०८०, मङ्गलबार

‘निर्वाचनमा सहयोग रहन्छ’

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच निर्वाचन सम्बन्धमा छलफल

blog

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तापछि एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेता ।

काठमाडौं, भदौ ८ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार करिब डेढ घण्टा छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा समक्ष एमाले अध्यक्ष ओलीले मुख्य चार वटा बुँदामा आफ्नो कुरा राख्नुभएको छ । एमाले अध्यक्ष ओलीसहित उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङ बालुवाटार पुग्नुभएको थियो। छलफलमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्थ्यो। 

भेटवार्ताको पहिलो बुँदामा समसामयिक राजनीतिक, संविधान, लोकतन्त्र र आगामी निर्वाचन सम्बन्धमा छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो।

नेम्वाङले भन्नुभयो, “हामीले अपनाएको लोकतन्त्रमा प्रतिस्पर्धाको राजनीति स्वभाविक हो। तर, तपाईंहरुको यो सरकारले प्रतिस्पर्धाको होइन, निषेधको राजनीति, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिएर छलफल गर्दै चल्नुपर्नेमा, प्रतिपक्षीलाई घेराबन्दी गर्ने र यो ढंगले अगाडि बढ्ने गर्नुभएको छ भनेर अध्यक्षले भन्नुभयो।” यससँगै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वस्थ, स्वच्छ र भयरहित बनाउन सहयोग रहने एमाले अध्यक्ष ओलीले बताउनुभएको छ। 

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नागरिकता विधेयक राष्ट्रपति समक्ष जस्ताको तस्तै पठाएको सन्दर्भमा छलफल भएको जाकारी दिनुभयो। 

बैठकबारे पौडेलले भन्नुभयो, “राष्ट्रपतिज्यूले संविधानसम्मत ढंगले पुनर्विचार गर्नका निम्ति नागरिक विधेयक फिर्ता पठाइसकेपछि सत्तारुढ दलका नेताले संसदभन्दा बाहिर रहेका नेताले राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्ने, हुवहु पास गर्ने भनेर संसद बाहिर जे जस्तो हर्कत प्रस्तुत गरियो। यो गम्भिर विषय हो।”

यसैगरी नेता पौडेलले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको विषयमा छलफल भएको उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, “द्वन्द्वकालमा भिक्टिम भएकाहरु, अन्यायमा परेकालाई न्याय दिने होइन कि त्यो अन्यायलाई अनुमोदन गर्ने ढाँचामा यो सत्तारुढ गठबन्धन आउन खोजेको छ”,

देउवा–ओली भेटवार्तामा महँगी नियन्त्रण गर्न कडाइका साथ ध्यानाकर्षण गरिएको एमाले नेताहरुले बताएका छन्।  भेटवार्तामा प्रधानमन्त्री देउवाले यी कुराहरुमा आफू सकारात्मक रहेको र यो विवषय गठबन्धनभित्र पनि राख्ने बताउनुभएको एमाले नेताहरुले बताउनुभएको छ।