काँग्रेसमा संसदीय दलका नेता चयनको चासो

Hari prashad bhattraiहरिप्रसाद भटट्राई


मुलुककै ठूलो पार्टी नेपाली काँगे्रसमा यतिखेर संसदीय दलको नेता चयनका विषयमा व्यापक छलफल एवं बहसले ठाउँ लिएको छ, जुन हुनु स्वाभाविक पनि छ ।  त्यस्तो छलफल पार्टीको हित एवं मुलुकको अवस्थालाई हेरेर हुने गरेको छ छैन भन्ने प्रश्नतर्फ भने केही विचारणीय छ, हुन आउँछ तर अहिले नेताहरूको जे जस्तो लबिङ भइरहेको छ, त्यसलाई हेर्ने हो भने त्यस किसिमको पार्टीको निम्ति सकारात्ममक व्यवहार भइरहेको देखिँदैन ।  अर्थात् हुनुपर्ने जे हो त्यसतर्फ सार्थक प्रयास नभएर विगतमा जस्तै परम्पराको खेल एवं त्यस्तो परम्परा मात्रै धान्ने व्यवहार दोहोरिएको भान हुँदैछ ।  त्यही अस्वस्थ परम्पराको बिउ अङ्कुरित गर्दै नेताहरूले आफ्नो स्वार्थलाई हेरेर मात्र काम गर्ने हो भने पार्टीले कमाएको विगतको ब्याजसमेत अब नामोनिशान नरहने निश्चित छ ।  यस किसिमको आम चिन्ता अहिले स्वार्थमुखी कार्यकर्ताको केही झुण्डगत प्रवृत्तिलाई छोडेर अधिकांश पार्टीका इमानदार नेता तथा कार्यकर्ताको छ ।  काँग्रेस संसदीय दलको नेता चयनका सम्बन्धमा यो सकारात्मक चिन्तासँगै यस विषयमा आम चासो बढ्दै गएको छ, जुन सकारात्मक मात्र, होइन स्वाभाविकसमेत हो ।
यतिखेरसम्म यस सन्दर्भमा सरसर्ती हेर्दा दलका नेताहरूमा कसलाई दलको नेता छान्दा समसामयिक परिस्थिति र मुलुक तथा पार्टी व्यवस्थापनमा सघाउ पु¥याउँछ भन्ने भन्दा पनि नेताहरूको अनुहार हेरेर आ–आफ्नो स्वार्थ अनुकूलको पैरवी गर्ने गरेको पाइएको छ ।  यस खालको प्रवृत्तिलाई कदापि राम्रो मान्न सकिँदैन ।  त्यसैले मुलुकको वर्तमान अवस्था, पार्टीले लिनुपर्ने सामयिक कूटनीति एवं त्यसको कार्यनीति, पार्टी नेता तथा कार्यकर्ताको भावना र समग्रमा पार्टी एकढिक्का हुने गरी संसदीय दलको नेता चयनको दिशामा नेपाली काँग्रेस अगाडि बढ्नु जरुरी छ ।  बहुसङ्ख्यक पार्टी कार्यकर्ताको मनोभावनालाई बुझेर मात्र नेताहरूले समयमै उचित निर्णय लिएमा नै पार्टीमा नव ऊर्जा थपिने हुन्छ ।  त्यस ऊर्जाका निम्ति विशेषगरी पार्टीका शीर्ष नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले नै मुख्य भूमिका खेल्नुपर्ने र त्यसका लागि दुवै नेताबाट स्वार्थी मनोवृत्तिका नेता तथा कार्यकर्ताको उक्साहटमा नलागी अरूलाई शिक्षासमेत दिने गरी केही त्याग गरेको देखाउन सक्नुपर्छ तर विडम्बना के छ भने अहिलेसम्मको स्थितिलाई हेर्दा नेताहरूलाई त्यस किसिमको बाटोमा लाग्न नदिन स्वार्थी मनोवृत्तिका कार्यकर्ताले घेरिरहेका र नेताहरूले त्यसलाई चिर्न नसकेको अवस्था छ ।  यसमा नेताहरू थप चनाखो हुनु जरुरी मात्र होइन अश्वयम्भावी नै छ ।  
   काँग्रेस पार्टीभित्रको यो प्रहशनसँगै संसदीय दलको नेता चुन्न पार्टीले तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरिसकिएको छ ।  सोही अनुसार उक्त निर्वाचन समितिले आफ्नो त्यस निर्वाचनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।  निर्वाचनका निम्ति नयाँ संविधानको प्रावधान अनुरूप पार्टी विधान नै संशोधन गर्नुपर्ने अवस्था आएको भन्दै पार्टीका नेताबीच छलफलसमेत भएको बुझिन्छ ।  पार्टीका वर्तमान सभापति शेरबहादुर देउवा र पार्टी पूर्व उपसभापति एवं पूर्व कार्यवहाक सभापति वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यस बारेमा छलफल भइसकेको समेत छ ।  छलफलबाट पार्टी विधान संशोधन गरेर अब संसदीय दलको नेताका लागि निर्वाचनमा जाने लगभग सुनिश्चिसमेत भइसकेको अवस्था यतिखेर छ ।  यस क्रममा अब नेताहरूले आफूमुखी मात्र नभई समग्र परिस्थितिलाई ख्याल गरेर जनता एवं कार्यकर्ताको भावनालाई समेत सम्मान गर्दै तदनुरूपको कार्यदिशा अँगाल्नुमा नै बुद्धिमत्ता हुने कुरालाई सबैले मनन गर्नु आवश्यक छ ।  
   संसदीय दलको नेता छान्ने काम अहिलेको परिस्थितिमा यस पार्टीका निम्ति पहिलो एवं प्राथमिकताको काम होे ।  जसलाई सकभर विना विवाद सल्ट्याउनुपर्छ ।  किनकि मुलुककै ठूलो पार्टी यतिखेर बलियो प्रतिपक्षको भूमिकामा छ ।  ठूलो दल भएको नाताले सरकारमा रहनुपर्ने दल प्रकारन्तरले समयको खेलसँगै यस्तो भूमिकामा रहनुपरेको कुरालाई काँगे्रसजन तथा अन्य दलहरूले समेत मनन गरेको अवस्था छ ।  यति मात्र नभई, अब नेपाली काँग्रेस ठूलो दल भएका कारण सरकारमा जानुपर्ने र नयाँ संविधान कार्यान्वयनको चुनौतीलाई आत्मसात् गर्दै त्यो अभिभारा पूरा गर्नुपर्ने जीकिर गरिरहेका छन् ।  यस कुरालाई पनि काँग्रसले अनदेखा गर्न मिल्दैन ।  
   त्यस्तै सरकारमा रहेका दलका नेतासमेत यस विषयलाई मनन गरेरै सरकारमा सहभागी हुन आग्रह गरिरहेको अवस्था छ ।  सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेकपा एमालेका सभापतिसमेत रहेका केपी ओली स्वयंले समेत नेपाली काँग्रेस यही सरकारमा सहभागी भएर संविधान कार्यान्वयन र मुलुकमा देखिएका जल्दाबल्दा समस्या समाधानमा जुट्नुपर्ने कुरामा जोड दिई रहनुभएको छ ।  आफू सरकारको नेतृत्वमा रहिरहेका कारण काँगे्रसले सरकारको नेतृत्व गरोस् भन्न्ने कुरा एक किसिमले सिधै एवं प्रत्यक्षरूपमा भन्ने कुरा भएन र सितिमिति जो कोहीले सत्ता छाड्ने कुरा पनि आउँदैन ।  मूल कुरा काँग्रेसको आवश्यकता कहाँ र के कस्तो हो भन्ने कुरा यी परिस्थिति र भनाइबाट बुझ्ने स्पष्ट हुने कुरा हो ।  जुन काँगे्रस नेतृत्वले बुुझ्नैपर्ने कुरा हो ।  संविधान अनुसार राज्यका विभिन्न संंवैधानिक निकायमा नियुक्ति सिफारिसलगायतका विषयमा प्रतिपक्ष दलको संसदीय दलका नेता रहनुपर्ने संवैैधानिक व्यवस्था छ ।  नेपाली काँग्रेस संसदीय दलको नेता पद अहिले खाली रहेको अवस्था छ ।  यसअघि नेपाली काँगे्रसका तत्कालीन पार्टी सभापति एवं काँग्रेस ससदीय दलका नेता त्यो भूमिकामा हुनुहुन्थ्यो ।  एकाएक उहाँको असामयिक निधन हुन पुगेपछि काँग्रेस संसदीय दलको नेता खाली हुन पुगेको थियो ।  त्यतिबेला काँग्रेस पार्टी आफ्नो केन्द्रीय  महाधिवेशनमा जुटिरहेको अवस्था थियो ।  पार्टी पङ्क्ति स्थानीय नेतृत्वदेखि केन्द्रीय नेतृत्व चयनमा व्यस्त थियो ।  काँग्रेस पार्टी सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाको चयनसँगै अब पार्टीको संसदीय दलको नेता चयन नै पार्टीको पहिलो एवं प्राथमिक कार्य भएकाले सम्पूर्ण पार्टी पङ्क्तिको ध्यान यसै दिशामा अग्रसर छ, हुनु पनि पर्छ तर दलको नेता छान्न नै यतिखेर हम्मे परेको अवस्था छ ।  त्यसका लागि पार्टी गृहकार्य त भएकै छ तर पार्टी सभापतिको लागि उम्मेदवार भएका नेतामै को नेता बन्ने भन्ने कुरा स्पष्ट खाका नआइसकेकोले संसदीय दलको नेताका विषयमा केही किचलो सुरु भएको हो कि भन्ने भान यतिखेर हुँदैछ ।  त्यसैले अब यी सबै कुरालाई मनन गदै अब नेपाली काँग्रेसले पार्टी र मुलुकलाई केन्द्रबिन्दुमा राखेर त्यस्ता किचलोलाई समयमै हटाउने र प्रजातान्त्रिक अभ्यास अनुरूप संसदीय दलको नेता समयमै छान्नेतर्फ सुझ्बुझ् अपनाउनु आवश्यक देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना