• ६ चैत २०८०, मङ्गलबार

सेवाग्राहीलाई नमस्कारसहित सेवा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ ८ गते । सिन्धुली जिल्लाको नौवटा स्थानीय तहमध्ये दुधौली नगरपालिका–३ को वडा कार्यालयले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिन सुरु गरेको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा महिला निर्वाचित भएर आएसँगै मुस्कानसहितको सेवा सेवाग्राहीले पाउन थालेका छन्। 

स्थानीय खड्गबहादुर सार्कीका अनुसार निर्वाचित भएको तीन महिना नबित्दै वडाध्यक्षले वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गर्नुभएको छ। उहाँका अनुसार कार्यालयमा पुगेका सेवाग्राही सबैलाई कर्मचारीदेखि जनप्रतिनिधिसम्मले नमस्कार गरेर मुस्कानसहितको सेवा दिने गरेका छन्। 

जिल्लाका ७९ वटा वडामध्ये दुधौली नगरपालिका वडा नं. ३ मा मात्रै नेपाली कांग्रेसबाट ३६ वर्षीया भद्राकुमारी माझी वडाध्यक्षमा निर्वाचित बन्नुभएको हो।

यसअघि कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएको फोटोकपी सेवा अहिले सेवाग्राहीले निःशुल्क पाएका छन्।  

“फोटोकपी गर्न टाढा जानु पर्ने हुन्थ्यो। अहिले वडामा पुगेका सेवाग्राहीलाई अन्यत्र जानु पर्ने झन्झटबाट मुक्ति पाएका छन्। यो सेवा कार्यालयभित्र निःशुल्क प्रदान गरेका छौँ,” वडाध्यक्ष माझीले भन्नुभयो, “सेवाग्राहीले पैसा तिरेर पनि सेवा लिने अवस्था थिएन। वडा कार्यालय नजिकै फोटोकपी गर्ने मेसिन नहुँदा सेवाग्राहीलाई सास्ती थियो।” 

यस्तै स्वास्थ्य र शिक्षासँगै खहरे नियन्त्रण गरेर बस्ती र खेतीयोग्य जमिन जोगाउने काम आफ्नो पहिलो प्राथमिकतामा परेको वडाध्यक्ष माझीले बताउनुभयो। 

उहाँले वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई भेदभाव नगरी सबैलाई समान रूपले प्रदान गर्ने सुनाउनुभयो। विभिन्न समस्याका कारण वडा कार्यालयसम्म पुगेर सिफारिस लिन नसक्ने सेवाग्राहीको घरआँगनमा नै पुगेर उहाँले सिफारिसमा सहजीकरण गर्दै आउनुभएको छ।