• ६ चैत २०८०, मङ्गलबार

सत्तरी करोडको कालोपत्रे टिकेन

blog

चरीकोट समाचारदाता

चरीकोट, भदौ ८ गते । उत्तरी क्षेत्र दोलखाको मुख्य सडक दोलखा–सिँगटी सडक वर्षासँगै आएको बाढीपहिरोले कतै भासिने र कतै कालोपत्रेमा क्षति पुगेपछि सवारीसाधन सञ्चालनमा जोखिम बढेको छ। 

दोलखा बजारदेखि सिँगटी बजारसम्मको ३५ किलोमिटर सडक दुई वर्षअघि सडक विभागले ७० करोड रुपियाँको लागतमा कालोपत्रे गरेको थियो। कतै पहिरो, कतै कालोपत्रे भत्किएर खाल्टाखुल्टी हुँदा यात्रा जोखिमपूर्ण बनेको हो । अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो खसेको, सडकमा खाल्टाखुल्टी परेको र कतिपय स्थानमा खोलाको पानी सडकबाट नै बग्ने गरेको छ।  कालिञ्चोक, बिगु र गौरीशङ्कर गाउँपालिका जोड्ने मुख्य सडक क्षति पुगेसँगै जिल्ला सदरमुकाम चरीकोट हुँदै राजधानी काठमाडौँलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन र यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

निर्माण कम्पनीले सडक कालोपत्रे सम्पन्न गरेर गएको असारमा सडक डिभिजन कार्यालय चरीकोटलाई हस्तान्तरण गरेको थियो। हस्तान्तरण गरेको दुई महिनामा नै सडक जीर्ण हुँदासमेत डिभिजन कार्यालयले मर्मतमा चासो नदिएको स्थानीय नवराज अर्यालले बताउनुभयो। पूरा काम नै नसकी सडक हस्तान्तरण गरिएकाले सडकको यस्तो अवस्था आएको अर्यालको भनाइ छ।

सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख अर्जुन सुवाल सडक मर्मतका लागि पर्याप्त बजेट नभएका कारण मर्मत गर्न नसकेको बताउनुहुन्छ। मर्मतका लागि थौरै मात्र बजेट भएकाले सामान्य मर्मतको काम भइरहेको उहाँको भनाइ छ। वर्षाले सडकमा क्षति पुगेपछि गत साउनमा २० लाख रुपियाँ बराबर रकमको ठेक्का आह्वान गरे पनि निर्माण कम्पनीले ठेक्का नहाल्दा काम हुन नसकेको बताउँदै उहाँले पुनः ठेक्काबाट वा अरू कुनै विधिबाट सडक मर्मत गर्ने तयारी भइरहेको बताउनुभयो।