आमासमेतको डीएनए किन ?

dinesh jhaदिनेश कुमार झा


जैविक नाता कायम एक संवेदनशील विषय हो । यो देवानी र फौजदारी न्याय सम्पादनमा मात्र नभई व्यक्तिगत प्रयोजनमा समेत आवश्यक हुन्छ । जस्तै अंशमुद्दा, मानाचामल मुद्दा, लोग्ने स्वास्नी नाताकायम, सम्बन्ध विच्छेद, अस्पतालमा साटासाट बच्चाको आमाबाबु यकिन, नागरिकता विवाद, हाडनाता वा जबरजस्ती करणीको परिणामस्वरूप गर्भपतन जिकिरमा दाबी गरिएको व्यक्ति पहिचान, अनाथालयमा रहेको बच्चा दाबी, परिवारजनलाई भिसा प्रयोजन आदि । जैविक नाता कायमका लागि परम्परागत कागजी प्रमाण वा रक्तसमूह जस्ता वैज्ञानिक परिक्षणहरूका विभिन्न सीमा थिए । हाल जैविक नाता कायममा डीएनए परीक्षणको अन्य विश्वसनीय विकल्प नभएको विश्वव्यापी अभ्यासबाट सिद्ध भइसकेको छ ।
सम्मानित सर्वोच्च अदालतसमेतबाट डीएनए परीक्षण अकाट्य प्रमाण हो भनी व्याख्या भएको छ । परिवारजनलाई भिसाका लागि पेश भएका कागजी प्रमाण मात्र पर्याप्त नभई डीएनए आधारित नाता प्रमाण सम्बन्धित निकायबाट माग हुनु वा ८० वर्षको उमेरमा गर्भ बोकाएको आरोपमा गाँउबाट निष्कासित बृद्ध डीएनए परीक्षणबाट आफू सो बच्चाको जैविक बाबु नभएको प्रमाणित भए पश्चात् समाजबाट पुनः ससम्मान स्वीकार्य हुनुले यस परीक्षणको कानुनीबाहेक सामाजिक महŒवलाई समेत दर्शाउँछ ।
प्रयोगशालामा प्राप्त धेरैजसो नाताकायम केश अंश मुद्दासँग सम्बन्धित हुन्छन् । अंश दिनुपर्ने व्यक्तिले बच्चाको जैविक बाबु आफू नभएको जिकिर लिनेगर्छ । अतः अधिकांश केशमा अदालतबाट बच्चा र दाबी गरिएको बाबुलाई डीएनए परीक्षण आदेश भएको हुन्छ । आमालाई होईन । यसको विभिन्न कारण र सोच हुन सक्छन् । जस्तै विवादित बाबु भएकाले आमाको डीएनए परीक्षणको औचित्य नहुनु, महँगो डीएनए परीक्षण शुल्क (प्रति व्यक्ति आठ हजार) गरिब असहाय महिलाका न्यायिक उपचारको बाधक नहोस्, आमाको मृत्यु भइसकेको आदि तर विश्वव्यापी अभ्यासबाट के प्रस्ट भएको छ भने उपलब्ध भए भरपर्दो जैविक नाताकायमका लागि आमा, बच्चा र दावित बाबु तीनै जनाको डीएनए परीक्षण उपयुक्त हुन्छ । शङ्कित बच्चा तथा बाबु मात्रको डीएनए परीक्षण जोखिमपूर्ण र पूर्वाग्रही हुनसक्छ । यसबाट वादी अथवा प्रतिवादीमध्ये एकपक्षलाई नकारात्मक फाइदा हुने सम्भावना रहन्छ । आमाविहीन डीएनए परीक्षणले के कस्ता अवस्थामा कुन पक्षलाई असर पार्ने हो ? छुट्टै बहसको विषय हुन सक्छ । यो डीएनए नतीजा र सो पश्चात्को न्यायिक विश्लेषण, दृष्टिकोणमा निर्भर गर्छ तर यसबाट विशेषज्ञ रायको दायरा सङ्कुचित भई निष्पक्ष न्याय प्रभावित हुने सम्भावना रहन्छ । तसर्थ यसप्रति न्यायिक निकाय र सरोकार व्यक्ति स्वयं संवेदनशील हुनु जरुरी छ ।
जैविक बाबु यकिनमा आमासमेतको डीएनए परीक्षण किन ? यो प्राविधिक दृष्टिकोणले आवश्यक छ । आमाविहीन डीएनए परीक्षणमा वास्तविक बाबुबाहेक अन्य व्यक्तिसमेत जैविक बाबु हुने झिनो सम्भावना रहन्छ । निर्दोष व्यक्तिसमेत जैविक बाबु हुने सम्भावनाका कारण आमाविहीन डीएनए परीक्षणको बढी फाइदा आमा बच्चालाई हुने गर्छ तर यसको अर्को पक्ष पनि छ । आमाविहीन डीएनए परीक्षणमा दावित व्यक्ति साँच्चै नै बच्चाको जैविक बाबु रहेछ भने निज बाबु हुने सम्भावित प्रतिशत कयौँ गुणा कम हुन्छ । यस विपरित आमा, बच्चा र दावित बाबु तीनै जनाको डीएनए परीक्षण गरिएको अवस्थामा निज बाबु हुने सम्भावित प्रतिशत कयौँ गुणा बढी हुन्छ । एउटा वास्तविक केश नै विश्लेषण ग¥यौँ भने आमा, बच्चा र दावित बाबु तीनै जनाको परीक्षणमा अन्य व्यक्ति भन्दा निज बाबु हुने सम्भावना करिब पैतालीस लाख गुणा बढी हुन्छ भने आमा समावेस नगरिए सो सम्भावना दुई हजार मात्र रहन्छ । यस अर्थमा आमाविहीन डीएनए परीक्षणको बढी फाइदा वास्तविक जैविक बाबुसमेतलाई हुनेगर्छ ।
उल्लेखनीय के छ भने बच्चा र दावित व्यक्तिको डीएनए मिल्दैमा निज व्यक्ति जैविक बाबु नै हो भन्न मिल्दैन । बरु अन्य व्यक्तिको तुलनामा निज बाबु हुने सम्भावना कति प्रतिशत रहेछ भनी राय दिइन्छ । झन् कतिपय मुलुकमा जैविक बाबु यकिनको आधार नै सम्भावित प्रतिशतको भार हो । यो गुढ प्राविधिक विषयको मनन सहज नभए पनि प्रचलित वैज्ञानिक यथार्थ हो ।
निर्दोष व्यक्तिलाई जैविक बाबु सावितमा आमा÷बच्चाबाट अथवा बाबुको सम्भावित प्रतिशत कम होस् भनी वास्तविक बाबुबाट आमाविहीन डीएनए परिक्षणको परिकल्पनालाई नकार्न सकिँदैन । आमाको अनिवार्य डीएनए परीक्षण सम्बन्धमा सर्वोच्च अदालतबाट मातहतका अदालतमा सर्कुलरबारे अनुरोधसमेत भएको छ तर अझै आमालाई अनिवार्य गराइएको पाइँदैन । प्रयोगशालाको तथ्याङ्कअनुसार करिब २८ प्रतिशत केशमा आमाको परीक्षण आदेश भएको छैन । हालसम्म नेपालमा यस प्रयोगशाला मात्रमा उपलब्ध डीएनए परीक्षणबाट करिब २५० नाताकायम केश परीक्षण गरिएको छ । जसमध्ये आमाविहीन एक केशमा निर्दोष व्यक्ति जैविक बाबु भएको पाइएकोमा थप परीक्षणबाट निज वास्तविक जैविक बाबु होइन भनी निक्र्योल गरियो । आमाविहीन केशमा निर्दोष व्यक्ति जैविक बाबु हुने सम्भावना कमै हुन्छ तर एकमात्र गलत रायले डीएनए परीक्षणको औचित्यमाथि गम्भीर प्रश्न उत्पन्न गर्ने तथ्यमा दुई मत हुन सक्दैन । हुनका लागि आमाविहीन डीएनए परीक्षण सधैँ असान्दर्भिक हुँदैन । आमाको मृत्यु भएको अवस्थामा बच्चा र दावित बाबु मात्रको डीएनए परीक्षण गरिने प्रचलन छ । बरु यसको अभिप्राय उपलब्ध अवस्थामा आमाको समेत डीएनए परीक्षण अनिवार्य हो । आदेश भएका बच्चाको नै डीएनए नमुना सङ्कलन गरिएको वा बच्चा नाबालक भए परीक्षण मञ्जुरनामा जस्ता कानुनी प्रयोजनमा समेत आमाको उपस्थिति महŒवपूर्ण हुन्छ ।


लेखक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार, डिएनए इकाई प्रमुख, वैज्ञानिक अधिकृत हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना