नेपालमा एसएलसी परीक्षा

dilliram mishraडिल्लीराम मिश्र ‘श्रमजीवी’

 

 

 

नेपालमा प्रवेशिका परीक्षा प्रणालीको इतिहास त्यति लामो नभए पनि अनौपचारिकरूपमा शिक्षणसंस्था खोल्ने परम्परा भने धेरै अगाडि छ । यहाँका प्रथम राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले बेलायतलगायत युरोपका मुलुकको भ्रमण गरी स्वदेश फर्केपछि आफ्ना सन्ततीलाई अङ्ग्रेजी पठन पाठनमा समर्थ बनाउन वि.सं. १९१० असोज २४ गते आफ्नै निवास थापाथली दरबारस्थित दाखचोकको भुइँतलामा अङ्ग्रेजी प्रारम्भिक स्कुल स्थापना गरेका थिए । बेलायतबाट फर्केपछि जङ्गबहादुरको विचारधारामा पनि केही परिवर्तन आएको आभास देखिन्थ्यो । बेलायती नागरिकको चेतना र चिन्तन, विज्ञान प्रविधि र विकास तथा स्तर तथा शिक्षाप्रतिको गहिरो छाप जङ्गमा परेको थियो । उनले स्थापना गरेको नेपाल पहिलो शिक्षण संस्था दरबार हाईस्कुलले आज १ सय ६३ वर्ष पूरा गरिसकेको छ ।
राणाकालमा दरबारभित्रबाट प्रारम्भ भएको दरबार स्कुल वि.सं. १९३४ मा दरबार हाईस्कुलमा रूपान्तरण भयो । संवत् १९४२ देखि यो स्कुल सर्वसाधारणका लागि अध्ययन प्रवेश खुला गरियो । दरबार हाईस्कुलले वि.सं. १९३६ मा कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । दरबार हाईस्कुलबाट टेष्ट परीक्षा पास गरिसकेपछि विद्यार्थीले कलकत्ता विश्वविद्यालयको इन्ट्रान्स परीक्षामा पुनः सम्मिलित हुनु पर्दथ्यो । सर्वप्रथम १९३६ सालमा कलकत्तामा इन्ट्रान्स परीक्षा दिन जाने विद्यार्थीको टोलीमा धीरशमशेर राणाका छोरा खड्गशमशेर पनि रहेका थिए तर उनी परीक्षामा उत्तीर्ण हुन सकेनन् । नेपालबाट सर्वप्रथम इन्ट्रान्स परीक्षा पास गर्ने राणाविद्यार्थी चन्द्रशमशेर हुन् । कलकत्ता विश्वविद्यालयमा इन्ट्रान्स परीक्षा दिन जाने क्रम वि.सं. १९७४ सम्म कायम रहेको देखिन्छ । वि.सं. १९७५ देखि दरबार हाईस्कुलबाट ‘सेन्टअफ’ गरेका विद्यार्थीहरू पटना विश्वविद्यालयको ‘म्याट्रिकुलेशन’ परीक्षामा सहभागी हुन पटना जाने गरेका थिए ।
यो क्रम पनि वि.सं. १९७४ सम्म चल्यो भने १९८५ मा काठमाडौँंमा नै ‘म्याट्रिकुलेशन’ परीक्षा केन्द्र खोलियो । त्यतिबेला पटना विश्वविद्यालयबाट आएका सुपरिटेन्डेण्ट (निरीक्षक) ले परीक्षा सञ्चालन गर्दथे । यो क्रम १९८९ सालसम्म कायम रह्यो । पहिलोपटक काठमाडौँमा खोलिएको पटना विश्वविद्यालय परीक्षा केन्द्रमा म्याट्रिकुलेसन परीक्षामा सरिक हुने विद्यार्थी क्रमशः रामप्रसाद मानन्धर, प्रेमनरसिंह प्रधान, सूर्यप्रसाद उपाध्याय, डिल्लीरमण रेग्मी र शेषराज दली थिए ।
सर्वप्रथम नेपालमा वि.सं. १९९० कात्तिक १६ गते एसएलसी परीक्षाबोर्डको गठन भएको हो । देशभित्र एसएलसी परीक्षा बोर्ड गठन गर्नमा सरदार रुद्रराज पाण्डेको योगदान महìवपूर्ण रहेको छ । नेपालमा परीक्षावबेर्ड गठन भई परीक्षा दिन पाउने प्रबन्ध भए पनि परीक्षासम्बन्धी सबै प्रक्रिया नेपाल सरकारका लागि पटना विश्वविद्यालयले नै गथ्र्यो । परीक्षाको सञ्चालन पटना विश्वविद्यालयबाट आएका निरीक्षकले गर्थे । उनीहरू प्रश्नपत्र लिएर काठमाडौँ आउँथे । पटनाबाट आएका निरीक्षकलाई नेपाल सरकारको तर्फबाट पाहुना सत्कार गरिन्थ्यो । परीक्षा सकिएपछि सबै उत्तरपुस्तिका लिएर उनीहरू पटना जान्थे । पटना विश्वविद्यालयको मातहतमा सञ्चालन हुँदै आएको एसएलसी परीक्षा वि.सं. २००३ देखि नेपाल सरकारद्वारा सञ्चालन गर्ने व्यवस्था भएपछि यसको विधिवत् अन्त्य भएको हो ।
नेपालमा एसएलसी परीक्षाबोर्ड गठन भएपछि पहिलोपटक वि.सं. १९९० पुसको अन्तिम सातादेखि नेपालमै एसएलसी परीक्षा सञ्चालन भएको थियो । परीक्षा केन्द्र दरबार हाईस्कूलदेखि दक्षिणपट्टिको भवनमा थियो । परीक्षा आधाआधी हुँदा माघ २ गते विनाशकारी महाभूकम्प गयो र परीक्षा स्थगित भयो । त्यो परीक्षा संवत् १९९१ जेठ महिनामा लिइएको थियो ।
महाभूकम्पका कारण दुई वर्षसम्म दरबार हाईस्कुलको पढाइ त्रिचन्द्र कलेजमा चल्यो । पहिलोपटक कुल ३४ परीक्षार्थी सहभागी रहेको उक्त एसएलसी परीक्षामा कोही पनि प्रथम श्रेणीमा उत्तीर्ण भएनन् । यीमध्ये १० जना द्वितीय र नौजना तृतीय श्रेणीमा उत्तीर्ण भए भने १४ जना असफल र एकजना अनुपस्थित रहेको देखिन्छ । द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये सर्वाधिक अङ्क भक्तपुरका पुष्पभक्त मल्लले प्राप्त गरेका थिए । वि.सं. १९९० को एसएलसी परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने पुष्पभक्त मल्ल नेपालको पहिलो कृषि इन्जिनियर हुन् ।
हरमणि आचार्य दीक्षित पहिलो परीक्षा नियन्त्रक रहेका थिए । उनले वि.सं. १९९० देखि २०१४ सम्म परीक्षा नियन्त्रकमा रहेर शैक्षिक सेवा प्रदान गरेका थिए ।
एसएलसी परीक्षाको ८३ औँ संस्करणअन्तर्गत २०७२ चैत १८ गते बिहान ८ बजेदेखि प्रवेशिका अर्थात् एसएलसी परीक्षा प्रारम्भ भएको छ । यस वर्षको परीक्षामा नियमित र एक्जाम्टेड गरी कुल छ लाख १५ हजार ५५३ जना परीक्षार्थीले भाग लिएका छन् । इतिहासमा यो आजसम्मको सबैभन्दा व्यापक जमघट हो, जुन सङ्ख्या गत वर्षको भन्दा झण्डै सात प्रतिशतले बढी छ । यीमध्ये नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४१७ परीक्षार्थी दर्ता छन् । गत वर्षजस्तै यस वर्षको एसएलसी परीक्षामा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ । यसअघिका वर्षसम्म परीक्ष दिने छात्रको सङ्ख्या बढी हुन्थ्यो । यस वर्ष नियमिततर्फ दुई हजार १८९ छात्रा बढी छन् ।
अहिलेसम्म छात्रको भन्दा छात्राको उत्तीर्ण प्रतिशत न्यून रहेको छ । यस वर्ष एक्जाम्टेडको रूपमा सहभागी हुने तर गत वर्ष अनुत्र्तीण छात्राको सङ्ख्या ९७ हजार ३६ अर्थात् ६०.८७ प्रतिशत छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष नियमिततर्फ परीक्षा दिनेमध्ये दुई लाख २७ हजार ५३५ छात्रा र दुई लाख २५ हजार ३४६ छात्र छन् । यसपटकको परीक्षामा पनि काठमाडौँबाट सबैभन्दा बढी र मनाङबाट कम परीक्षार्थी छन । आजभन्दा ८३ वर्ष अगाडि वि.सं. १९९० मा ३४ जना परीक्षार्थी सहभागी रहेको नेपालको एसएलसी परीक्षा २०७२ सम्म आइपुग्दा सहभागी परीक्षार्थीको सङ्ख्या यति ठूलो हुन पुगेको हो ।
यसवर्ष परीक्षाको लागि मुलुकभर एक हजार ९४३ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षाका लागि देशभरिका प्रत्येक केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, दुई हजार ९७८ सहायक केन्द्राध्यक्ष, २५ हजार ५५६ निरीक्षक, १३ हजार २७४ कार्यालय सहयोगी र २९ हजार १४५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यस वर्षको परीक्षा शान्तिपूर्वक र मर्यादितरूपमा सञ्चालन गर्न कुल ७२ हजार ८९६ जनशक्ति परिचालन गरिएकोे छ । विद्यार्थीको चापको आधारमा काठमाडौँमा सबैभन्दा बढी तथा मनाङमा एक केन्द्र रहेको छ ।
पहिलो पटक गतवर्ष प्राविधिक विषयका तीन हजार २८८ परीक्षार्थी एसएलसीमा सहभागी भएका थिए । यसवर्ष यो सङ्ख्या तीन हजार २५५ रहेको छ । यसअन्तर्गत कृषि, इञ्जिनियरिङ र मेकानिकल विषय रहेका छन् । प्राविधिक विषयलाई सरकारले परीक्षणको रूपमा लिएको छ ।
यस वर्षदेखि एसएलसीमा फेल भन्ने शब्दावली हटाएर ग्रेडिङ्ग प्रणालीअनुरूप नतिजा प्रकाशित गरिनेछ । यो प्रणाली विश्वमा धेरै पहिलेदेखि लागू भएको हो तर नेपालमा यसै वर्षदेखि परीक्षण गरिँदैछ । प्रणाली जेसुकै भए पनि शैक्षिक गुणस्तरमा सुधार हुनु आजको आवश्यकता हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना