• ६ चैत २०८०, मङ्गलबार

काठमाडौंमा सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम

blog

‘लोकल गाइड’ तालिमको उद्घाटन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ ७ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुभएको छ ।

नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक ‘लोकल गाइड’ तालिम संचालन गरेको हो । 

स्थानीय पथप्रदर्शक ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुहुँदै मन्त्री श्रेष्ठले स्थानीय पथप्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताउनुभयो । 

पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका स्थानीय युवाहरुलाई तालिममा सहभागि गराइएको छ । यसबाट पर्यटन प्रवर्द्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै पदमार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

लोकल गाइड तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुलर्भ वास्तुकलाको जानकारी दिइनेछ । साथै उनिहरुलाई उक्त मार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी दिइनेछ । 

हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी घःछेँ–मेछ्य हिति–रञ्ति मल्ल सतःघाट–भेलु महादेव–निपु हिटी–भुइँखेल हुँदै स्वयम्भू पुगिने पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यस क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।  सम्पदामार्गले आर्थिक गतिविधि चलायमान हुनुका साथै रोजगारीका विभिन्न अवसर सिर्जना हुने मन्त्री श्रेष्ठको भनाइ छ । 

प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतिले न्याथममा पहिलोपटक सम्पदा लक्षित लोकल गाइड तालिम संचालन गरिएको बताउनुभयो । मन्त्री श्रेष्ठले आफ्नो ७३ बुंदे कार्ययोजनामा समेत लोकल गाइड तालिम संचालनको विषय समेट्नुभएको थियो ।