एसएलसी परीक्षा आजदेखि

शेषकान्त पण्डित

काठमाडौँ, चैत १८ गते ।  यसवर्षको प्रवेशिका (एसएलसी) परीक्षा बिहीबारदेखि सुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक जनशक्तिको परिचालनदेखि सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याइसकिएको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।  परीक्षा नियन्त्रक विष्णुप्रसाद काप्रीले परीक्षाको सबै तयारी पूरा भएको जानकारी गराउँदै देशभर निर्वाध रूपमा परीक्षा सञ्चालन हुने वातावरण तयार भएको विश्वास व्यक्त गर्नुभएको छ ।  परीक्षामा देशभर छ लाख १५ हजार ५५३ विद्यार्थी सहभागी हुने भएका छन् ।  मुलुकभर एक हजार ९४३ परीक्षा केन्द्र कायम गरिएको छ ।  
पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ भने १९ गते नेपाली, २१ गते गणित, २२ गते विज्ञान, २३ गते सामाजिक, २४ गते स्वास्थ्य जनसङ्ख्या, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा तय गरिएको छ ।  परीक्षा बिहान ७.०० बजेदेखि सुरु हुन्छ ।  गतवर्षको तुलनामा यसपटक झण्डै दुई साता ढिलो गरी परीक्षा सञ्चालन गर्न लागिएको हो ।  
वैशाखमा गएको विनाशकारी भूकम्पका साथै भारतीय नाकाबन्दी लगायतका विभिन्न कारणले गर्दा निर्धारित समयमा विद्यार्थीको पठनपाठन हुन नसकेपछि परीक्षा केही ढिला गरिएको हो तर यसबाट विद्यार्थीको परीक्षाफल प्रकाशनमा कुनै असर नपर्नेगरी आन्तरिक तयारी गरिरहेको जानकारी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दिएको छ ।  
मुलुकभर परीक्षा निर्वाध रूपमा सञ्चालन गर्न ७२ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको जानकारी परीक्षा नियन्त्रक काप्रीले दिनुभयो ।  परीक्षा सुरिक्षत हिसाबले हुन्छ, बाहिर सुरक्षाको वातावरण मिलाउँछौँ, विद्यार्थीलाई निर्वाध रूपमा जानेको कुरा लेख्ने वातावरण बनाउन हामी तल्लीन छौँ –उहाँले बताउनुभयो ।  slc
विभिन्न परीक्षा केन्द्रमा हुनसक्ने अनियमितता रोक्न केन्द्रबाट समेत सहसचिव तहका कर्मचारीलाई अनुगमनमा खटाइएको जानकारी पनिकाले दिएको छ ।  ७५ वटै जिल्लामा हुने गरी शिक्षा मन्त्रालयले १८ सहसचिवलाई अनुगमनमा खटाएको जानकारी परीक्षा नियन्त्रक काप्रीले दिनुभयो ।  यसबाट देशभरको परीक्षा मर्यादित हुने विश्वास लिइएको छ ।  परीक्षामा अमर्यादित गतिविधि गरेको पाइएमा त्यसमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।  हरेक परीक्षा केन्द्रमा सुरक्षाका लागि १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
यसैबीच पनिकाले यसवर्षदेखि नेपालमै पहिलोपटक अक्षराङ्कन मूल्याङ्कन पद्धति (ग्रेडिङ)का आधारमा नतिजा प्रकाशित गर्ने व्यवस्था मिलाएको छ ।  यसलाई नौलो भनिए पनि देशभरका विद्यार्थीलाई नआत्तिकन परीक्षामा सहभागी हुन सम्बद्ध पक्षले आग्रह गरेका छन् ।  
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले केही विद्यार्थी तथा अभिभावक ग्रेडिङ प्रणालीका कारण हतास देखिएको भन्दै निर्धक्क भएर परीक्षामा सहभागी हुन आह्वान गर्नुभएको छ ।  ग्रेडिङ पहिले पनि थियो यसपटकबाट अक्षरमा ग्रेडिङ प्रारम्भ गरिएको मात्र हो, नयाँ केही छैन, सबै आनन्दका साथ परीक्षामा सहभागी भए हुन्छ –अध्यक्ष भण्डारीले भन्नुभयो ।  यस विषयमा रहेको अन्योल छिट्टै अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना