• ६ चैत २०८०, मङ्गलबार

कर्मनिष्ठ कुमाल

blog

नेपालका एक सय २५ जातिमध्ये कुमाल पनि एक हो, जसलाई आदिवासी/जनजातिमा सूचीकरण गरिएको छ। नेपालका अधिकांश जिल्लामा (केही हिमाली जिल्लाबाहेक) छरिएका कुमालको तनहुँ, लमजुङ, अर्घाखाँची, चितवन, धादिङ, पाल्पा, पर्वत, दोलखा, सङ्खुवासभा, नुवाकोट र गुल्मीमा बाक्लो बसोबास रहेको छ।

नदी, घाटी र समथर मैदानमा यिनीहरूको बढी बसोबास छ। यसो हुनुमा माछा मार्ने कुमाल जातिको परम्परागत पेसाका कारण हुन सक्छ। वि.सं. २०६८ को जनगणनाअनुसार कुमालको जनसङ्ख्या एक लाख २१ हजार १९६ रहेको छ। जसमध्ये सहरी क्षेत्रमा १८ हजार ३५५ र ग्रामीण क्षेत्रमा एक लाख दुई हजार ८४१ जनाको बसोबास छ।

मङ्गोलियनभन्दा ककेसियन अनुहारमा मिल्दोजुल्दो यिनीहरू सुँगुर, कुखुरा, हाँस, खसीको मासु खान्छन्। चरा र जङ्गली जनावरको सिकार गर्न पनि रुचाउँछन्। आदिवासी जनजाति विकास समितिले २०५७ सालमा प्रकाशन गरेको पुस्तिकामा कुमालले भैँसीको मासु खान्छन् भनिएको छ तर परम्परागत रूपमा कुमालले भैँसीको मासु खाँदैनन्। कतिपय बूढापाका कुमालले बाहुनले छोएको कालोमासको दाल समेत खाँदैनथे। सोह्र श्राद्धमा यिनीहरूले पितृलाई माछा चढाउँछन्। चण्डीपूर्णिमाका दिन देवी÷भगवतीको चण्डी रूपको नियमित (निम) पूजा गरिन्छ। यस अवसरमा नयाँ विवाह, सन्तान जन्मिएको, नयाँ घर बनाएको छ भने ती शुभ कार्यका लागि ‘भाग चढाई’ बोका/सुँगुर, कुखुरा काटेर पूजा गर्ने चलन छ।

चण्डीपूर्णिमा (वैशाखेपूर्णिमा)का दिन पितृ र देवीको पूजा गर्ने चलन छ यिनीहरूमा । 

बच्चा जन्मेको छदेखि ११ दिनसम्म सुतक लाग्छ। न्वारन आफ्नै बूढापाका वा बाहुन बोलाएर गराइन्छ।  विगतमा छोरीलाई पाँच र छोरोलाई छ महिनामा अन्नप्रासन गराउने चलन भए पनि हाल यस्तो विभेद हट्दै छोराछोरी दुवैलाई छ महिनामा भातखुवाइ गर्ने चलन चलेको देखिन्छ।

विवाह बाहुन, क्षेत्रीको जस्तै हो। फुपूचेला मामाचेलीको विवाह चल्दैन। मागी र स्वेच्छिक (भागी) दुवै प्रकारका विवाह हुन्छन्। हाडनाता र पुस्ता विचार गरेर मात्र विवाह गर्ने चलन छ। यसो नभएर पानी हटक गर्ने चलन पनि छ। कुमाल जातिमा केटाकेटीका परिवारको सहमतिमा पहिला केटी  भित्र्याउने र एक/दुई वर्षपछि टीका दिने गरिन्छ। टीका नदिएसम्म छोरी/ज्वाइँ, माइती/ससुराली जान हुँदैन। टीका दिने भनेको स्वेच्छिक (भगाएर गरिएको) विवाहलाई केटी पक्षले गर्ने पारिवारिक अनुमोदन हो।

कुमाल भाषा अस्तित्वमा छ तर लिपि देवनागरी नै हो। अधिकांश शब्द नेपाली नै भए पनि उच्चारणगत भिन्न सुनिन्छ । तिब्बती–बर्मेली परिवारमा पर्ने यो भाषाका वक्ता क्रमशः घट्दै गएका छन्। शिक्षाको अवस्थामा सुधार छ, नारी शिक्षा बढ्दो छ। कुमालमा जातीय सङ्गठनले सामाजिक व्यवस्था सञ्चालन गर्दथे। अहिले भने यस्तो प्रचलन हराउँदै गएको छ। समाजमा मुखिया, मिझार र बढ्यौलीको प्रतिष्ठा उच्च मात्र हुँदैनथ्यो सामुदायिक झैझगडा, जारी, पोइला, कुटपिट, चोरी नोक्सानीजस्ता विवाद यिनै मुखिया, मिझार, बढ्यौलीले किनारा लगाउने प्रचलन थियो । अहिले यसको प्रभाव कम छ। हाल आएर मुखिया र मिझार थर पनि बनेका छन् तर कुमालका तीन दर्जन जति आफ्नै थर प्रचलित छन्।

अधिकांश यी थर स्थान विशेषबाट निर्मित भएको देखिन्छ। केही थर बाहुन, क्षेत्रीसँग पनि मिल्दाजुल्दा छन्। पोलाङे, सिरुबारे, बैराठे, गोरखाली, स्याङ्जालीजस्ता थरबाट स्पष्ट हुन्छ। कुमालले एक ठाउँबाट अर्को स्थानमा बसाइँसराइ गर्ने गरेका छन्। यही भएर यिनीहरू बाजेबराजुको जन्मथलोमा गएर कुल (कुलायन) पूजा गर्छन्।

भलाद्मी स्वभावका कुमालको अधिकांश चाडपर्व, संस्कृति रहनसहन बाहुन, क्षेत्रीकै जस्तो छ। यिनीहरू हिन्दु नै हुन्। यिनीहरू पितृ, देवी, वीर, वायु, इन्द्रजस्ता शक्तिमा बढी विश्वस्त पाइन्छन्। चण्डीपूर्णिमा (वैशाखेपूर्णिमा)का दिन पितृ र देवीको पूजा गर्ने चलन छ यिनीहरूमा।

बाघले पाल्तु जनावर नमारोस् भनेर भँगेर (बाघ) पूजा, गाईबस्तुमा रोग नलागोस् भनेर गौँडी (गोठ) र नागको पूजा गरिन्छ। कोरोनाजस्तो देशान नआओस् भनेर देशान्तर (री) पूजा पनि गर्ने प्रचलन छ। खासगरी गाईबस्तुलाई मोहोला, खोरेतजस्ता रोग नलागून् भनेर यस्तो पूजा गरिन्छ।

झारपुक गर्ने, जोखना हेर्ने, लागोभागोमा पूजा वा मन्साउने गरिन्छ। तिज, साउने र माघे सङ्क्रान्ति, चण्डीपूर्णिमाको पूजामा छोरीचेलीलाई बोलाएर खुवाउने चलन छ। देवी वा भगवान्लाई पूजा गर्ने र भूतप्रेत तथा डङ्किनीलाई कुखुरा, सुँगुर, बोका/पाठी बलि दिएर मन्साउने गरिन्छ।

कुमालको घाँटु नाच निकै सशक्त सांस्कृतिक मनोरञ्जन हो। दशैँ, तिहार, हरिशयनी (ठूलो) एकादशी, श्रीपञ्चमी, माघे सङ्क्राति, साउने सङ्क्रान्ति, तिज, शिवरात्रि यिनका प्रमुख चाड हुन्। यस्तै फागुपूर्णिमा, चैते दशैँ पनि विशेष रूपमा मनाइन्छ। कुमालले पाउदुरे, सोरठी, चुड्का, झ्याउरे, ठाडो भाखा र दोहोरी गाउने गर्छन्। विगतमा रोदी बस्ने चलन पनि थियो।

कुमालमा सोह्र श्राद्धको अन्तिम दिन (१६औँ दिनमा) पितृ पूजा गर्ने गरिन्छ। शवलाई नदी किनारमा जलाउने, जुठो नौ दिनदेखि सुरु गरेर १२ दिनसम्म बार्ने र १३आैँ दिनमा शुद्ध हुने चलन छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिको सामाजिक, आर्थिक संस्कृतिलगायतका मापदण्ड र आधारमा लोपोन्मुख, अति सीमान्तीकृत, सीमान्तीकृत सुविधा वञ्चित र उन्नत समूह गरी पाँच समूहमा गरिएको प्राथमिकीकरणमा कुमाल सीमान्तीकृत समूहमा पर्दछ। यिनीहरू मूलतः कृषि पशुपालन, माछा मार्ने र माटाका भाँडा बनाउने पेसामा बढी आबद्ध छन्। कृषि मुख्य पेसा भए पनि दोस्रो विश्वयुद्धताका कुमालका केही युवाले भारतीय र पछि बेलायती सेनामा भर्ना भई काम गर्ने अवसर पाएका थिए। कुमाल कर्मनिष्ट, परिश्रमी र भला प्रवृत्तिका हुन्छन्।

यिनीहरूको खानपिन सामान्य नेपालीको जस्तो हुन्छ। जाँड, रक्सीको खाने मात्र होइन आफैँ बनाउँछन्। जाँड बनाउन आवश्यक पर्ने मर्चा पनि बनाउँछन्।  माछा, गँगटा, घोगी, जलुको साग, निगुरो खाने गर्छन्।

कुमालहरू काला, होचा, ठम्म परेका बलिष्ठ देखिन्छन्। लगौटी, कछाड, भोटो, वेस्टकोट, टोपी लगाउने यिनीहरूको खास जातीय पहिरन नभए पनि महिलाले कालो गुन्यूमा रातो फेर भएको अथवा मखिबुट्टे धोती लगाउँछन्। पुराना महिलाले मखमलको चोली र घलेक लगाउँथे। अहिले भने सामान्य प्रचलन र बजारका पहिरन लगाउने गर्दछन्। दाँतमा बिरी लगाउने र पाखुरा वा नलीखुट्टामा आफ्नै सीप र प्रविधिमा ट्याटु खोप्दथे । 


–त्रिभुवनचन्द्र वाग्ले