• ६ चैत २०८०, मङ्गलबार

‘नागरिकता फेरियो, पुनर्जन्म भयो’

blog

विशाल सुनार

दुल्लु, भदौ ७ गते । नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिको नागरिकताको प्रमाणपत्र सच्चिएको छ । साबिक मेहेलतोली गाउँविकास समिति–६ (हाल भगवतीमाई गाउँपालिका–३) मेहेलतोलीका कविराम कामी र साबिक कट्टी गाविस–६ (हाल भगवतीमाई गाउँपालिका–५) का कर्णबहादुर कामीको नागरिकताको नयाँ प्रमाणपत्र जारी भएको छ । 

आइतबार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्याएर नयाँ नागरिकता उपलब्ध गराएको हो । तत्कालीन मेहेलतोली गाउँ पञ्चायत–६, हाल भगवतीमाई गाउँपालिका–३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुग्नुभएको छ । उहाँले तत्कालीन जिल्ला प्रशासन कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको थियो । तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उहाँलार्ई ‘कुकुर कामी’ नाम राखेर नेपाली नागरिकता उपलब्ध गराएको थियो ।

गोरखापत्रमा समाचार प्रकाशन भएपछि साउन २३ गते गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो । गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्याएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिनुभएको थियो ।

यस्तै नागरिकतामा ठगे कामी लेखिएका साबिक कट्टी गाविस–६ (हाल भगवतीमाई गाउँपालिका–५) का कर्णबहादुर कामीले पनि नागरिकताको महलमा कर्णबहादुर कामी लेखिएको नयाँ नागरिकताको प्रतिलिपि प्राप्त गर्नुभएको छ । वास्तविक नामसहितको नागरिकता प्राप्त गरेपछि कविराम कामीले भन्नुभयो, “बल्ल आज मेरो न्वारान भयो । नाम फेरिँदा जुनी फेरिएजस्तो लागेको छ ।” नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा निवेदन दिनुभएको थियो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार आवश्यक प्रक्रिया पु-याएर कविराम कामी र कर्णबहादुर कामीलाई नागरिकताको नयाँ प्रमाणपत्र जारी गरिएको छ । उहाँले भन्नुभयो, “हामीले नागरिकतामा कुकुर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर कामीलाई नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ ।” नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालय दैलेखले सार्वजनिक सूचनामार्फत आह्वानसमेत गरेको छ ।