गरिबी निवारणका कार्यक्रम प्रभावकारी बनाउन निर्देशन

Sushil Koirala 1काठमाडौँ, १३ माघ । प्रधानमन्त्री सुशील कोइरालाले देशको झन्डै एक चौथाइ नेपालीको जीवनस्तर उठाउनका लागि गरिबी निवारणका कार्यक्रम प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डका अध्यक्ष कोइरालाले बोर्डको आज प्रधानमन्त्रीको कार्यालयमा बसेको ११ औँ बैठकमा लक्ष्य निर्धारण र कार्यक्रम तर्जुमा गर्नाका साथै उपलब्धि मापनमा पनि सही तथ्याङ्कको आवश्यकता पर्ने भएकाले सही ढङ्गले गरिब घरपरिवार पहिचान गर्न बोर्डलाई निर्देशन दिनुभयो ।

सही तथ्याङ्कको सङ्कलन त्यसको अद्यावधिक गर्ने कार्यक्रम, तथ्याङ्क लिने प्रणालीको सरलीकरण र सुधार, संस्थागत सुदृढीकरणलगायत उक्त कार्यमा संलग्न रहने जनशक्तिलाई दक्ष बनाउन सामूहिक तालिमसमेत आवश्यक भएको उहाँले बताउनुभयो । उहाँले गरिब घर र परिवार पहिचान भएपछि तिनको गरिबी हटाउने कार्यक्रम पनि सँगै लैजाने व्यवस्था गर्नुपर्ने आँैल्याउनुभयो ।

बैठकमा उपप्रधानमन्त्री वामदेव गौतमले सबै घरपरिवारलाई परिचयपत्र वितरण गरी गरिबीको स्तरअनुसार राज्यले दिने सेवा सुविधा र गरिबी हटाउन लगिने कार्यक्रमको किटानी गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

अर्थमन्त्री डा रामशरण महतले केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गरेको नेपाल जीवनस्तर सर्भेक्षणका आधारमा गरिबीको दरका परिणामसँग मिल्दो विधिको प्रयोग गरी गरिब घरपरिवार पहिचान गर्नुपर्ने धारणा राख्नुभयो ।

समन्वय बोर्ड बैठकसमक्ष मुख्य रूपमा तीन प्रस्ताव पेस गरिएको थियो, जसमा वेब पोर्टलमा आधारित गरिब घरपरिवार परिचयपत्र व्यवस्थापन सूचना प्रणाली सफ्टवेयर, गरिब घरपरिवार पहिचान मापदण्ड र विधि र थ्रेस होल्ड निर्धारण थिए । बैठकमा गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापनको नाम छोट्टयाई कार्यालयको सान्दर्भिकता झल्कने गरी नाम परिवर्तनका लागि समेत प्रस्ताव गरिएको थियो ।

बैठकमा समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेललगायत बोर्डका अन्य पदाधिकारीको उपस्थिति थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना