• ६ चैत २०८०, मङ्गलबार

१९ सय ३७ वटा मिटर ब्याजबाट ठगीका उजुरी

‘मिटरब्याज लिएर जनता ठग्नेहरुलाई कारबाही गरिने’

blog

पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : गृह मन्त्रालय

काठमाडौं, भदौ ६ गते । गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ । 

गृह मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताउनुभएको हो । उहाँले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री खाणले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दावी गर्नुभयो । 

उहाँले मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको पनि बताउनुभयो । मन्त्री खाणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रह गरिएको समेत बताउनुभयो । उहाँले मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गते भन्दा पछाडि अनुमान गरे भन्दा धेरै रहेको पनि जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगीका उजुरी परेको बताउनुभयो । मन्त्री खाणका अनुसार प्रदेश १ मा ९२, मधेश प्रदेशमा १ हजार ३३०, बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बीनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति र कार्यक्रममा नै आएको पनि मन्त्री खाणले बताउनुभयो । 

‘‘पछिल्लो पटक गृह मन्त्रालयले कार्यदल बनाएको छ । कार्यदलले मिटर ब्याजीबाट आम जनताले भोग्नुपरेको समस्या छ । त्यो जानकारी र उजुरी दिन समय तोकेका थियौं । कतिपय जिल्लामा मिटर ब्याजीहरु भेटिए तर कतिपय ठाउँमा उजुरी समेत परेनन् । मिटर ब्याजीहरुले जनतालाई ठगी गरिरहेको छ । सरकारको स्थानीय अनुसन्धान, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ । त्यो सरकारले गर्नेछ ।’’

गृहमन्त्री खाणले अहिलेसम्म परेका तथा अब पर्ने उजुरी उपर मन्त्रालयले तत्काल छानबिन र अनुसन्धान गरेर कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता पनि जनाउनुभयो ।