• ६ चैत २०८०, मङ्गलबार

अनागरिकलाई नागरिकता दिन विधेयक : गृहमन्त्री खाण

blog

सिंहदरबरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : गृह मन्त्रालय

काठमाडौं, भदौ ६ गते । गृहमन्त्री बालकृष्ण खाणले अनागरिकको जीवन बिताइरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याउनु परेको बताउनुभएको छ । सिंहदरवारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै सो विधेयक ल्याइएको दाब समेत गर्नुभयो । 

गृहमन्त्री खाणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताउनु भयो । उहाँले संवैधानिक व्यवस्था अनुसार नै गैरआवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नु परेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘‘सो विधेयकमा महिलाहरुको स्वाभिमानमाथि चोट पुर्‍याउने खालको कुनै पनि प्रावधान छैन । हामीले यो विधेयक ल्याएको सन्ततिको नागरिकता नभएर हो । यस्तो समस्या लाखौंमा छन् । नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जीउनु दुःखद हो । उनीहरुले विश्वविद्यालयमा भर्ना हुन, लोकसेवा आयोग र सरकारी संस्थाहरुमा प्रतिस्पर्धा गर्न, बैंकमा खाता खोल्न, मोवाइलको सिमकार्ड लिन, सामाजिक सेवाका लागि संघ, संस्था दर्ता गर्न, आफनो क्षमता र सामर्थ्य अनुसार केही उद्योगधन्दा र कृषि फर्महरु खोलौं भन्दा पनि नागरिकता छैन ।’’

मन्त्री खाणले पूर्ववर्ती सरकारले पनि यो कुरालाई सम्बोधन गरेर विधेयक ल्याएको बताउनुभयो । ‘‘अध्यादेशमा पनि यो कुरा उल्लेख गरेको थियो । र, यो विषयका साथसाथै हामीले गैर आवासीय नेपाली नागरिक सार्क रिजन बाहेक, जो विश्वभर छरिएर रहेका छन् । उनीहरुले पनि नेपाली नागरिकताको निरन्तरता चाहे । एक पटक नागरिकता लिइसकेका नेपाली नागरिक, जसले परित्याग गर्‍यो, उसले फेरि गैर आवासीय नेपाली नागरिकता लिन चायो भने, उनका बाबुआमा र बाजेबज्यै नेपाली नागरिक छन् भने यी प्रमाणको आधारमा उनीहरुलाई गैर आवासीय नेपाली नागरिकता दिने । जसको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार हुन्छ,’’ मन्त्री खाणले भन्नुभयो । 

मन्त्री खाणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको पनि उल्लेख गर्नुभयो ।