• १२ वैशाख २०८१, बुधबार

टेबुल टेनिस प्रतियोगिता आयोजना गर्दै एनआरटी

blog

टेबुल टेनिस प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ ६ गते । नेपाली फुटबलमा गहिरो पहिचान बनाएको काठमाडौं खेल मण्डल/न्युरोड टिम (एनआरटी) ले खुला टेबुल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एनआरटीले असोज ४ देखि ८ गतेसम्म लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा खुला टेबुल टेनिस प्रतियोगिता अयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा एनआरटीका अध्यक्ष सुन्दर नरसिं जोशीले जानकारी दिनुभयो ।

एनआरटीका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले क्लबले फुटबलमात्र नभई विगतमा क्रिकेट प्रतियोगिता समेत आयोजना गरेको जानकारी दिनुभयो । उहाँले एनआरटीले नेपाल क्रिकेट संघ (क्यान) सँग छलफल गरेर फेरि क्रिकेट खेल आयोजना गर्न लागेको जानकारी पनि दिनुभयो । 

खुला टेबुल टेनिस प्रतियोगितामा भारत, बंगलादेशलगायत दक्षिण एसियाली देशबाट ६० देखि ७० जना खेलाडी आउने जानकारी पनि क्लबका अध्यक्ष जोशीले दिनुभयो । प्रतियोगिता एकल खेलहरु लिगकम नकआउट र टिम इभेन्ट्स नकआउटका आधारमा हुनेछ । क्वाटरफाइनलसम्मका खेलहरु बेस्ट अफ ५ र फाइनल चरणका खेलहरु बेस्ट अफ ७ का आधारमा खेलाईनेछ ।

प्रतियोगितामा पुरुष/महिला एकल, यू–१९ जुनियर छात्र/छात्रा, क्याडेट छात्र/छात्रा एकल यू–१५, पुरुष भेट्रान्स एकल ६०, ५० र ४० वर्षमाथि, पुरुष भेट्रान्स टिम ४० वर्षमाथि र महिला भेट्रान्स एकल ४० वर्षमाथि स्पर्धा राखिएको छ । पुरुष एकलतर्फको विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई

१०÷१० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ । महिला एकलतर्फ विजेता, उपविजेता र तेस्रो हुनेलाई पनि समान पुरस्कार प्रदान गरिनेछ । जुनियरतर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः १० हजार, ५ हजार र २५ सय रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकल् जनाएको छ । प्रतियोगितालाई अखिल नेपाल टेबुल टेनिस संघ र नेपाल भेट्रान्स टेबुल टेनिस संघको प्राविधिक सहयोग रहनेछ ।