• ८ वैशाख २०८१, शनिबार

महिलालाई जीवित बनाएको भ्रम फैलाउने पास्टर पक्राउ

blog

पक्राउ परेका पास्टर राजेन्द्र गोतामे । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौं ६ गते । बुटवलका एक मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक व्यक्ति पक्राउ परेका छन् । बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो । 

गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएपछि प्रहरीले अनुसन्धान थालेको छ । आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।


सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताउनुभयो । यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो रहेको बताएको उनले बताएका छन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा चर्चका पास्टर गोतामेले भुइँमा सुतेका महिलालाई सन्चो बनाएको र पछि उठेर सरासर हिँडेर नमस्कार गरेको देखिएको छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ ।

आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख केसीको भनाइ छ ।