• ८ वैशाख २०८१, शनिबार

पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति सङ्ग्रहालयको उद्घाटन

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संग्रहालयको उदघाटन गर्नुहुँदै । तस्बिर : मन्त्री श्रेष्ठको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण भएको पशुपति सङ्ग्रहालय तथा महास्नान भवनको उदघाटन गर्नुभएको छ । 

सङ्ग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा–पित्तल–ढलौटका मूर्तिहरु, ढुङ्गाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला, चित्रकला, मूर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त अमूर्त सम्पदाका सामग्रीहरु राखिएको छ । 

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदालाई संरक्षण  र संवर्धन गर्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्वका सामग्रीलाई एकै स्थानमा सङ्कलन, अभिलेखीकरण र प्रस्तुतीकरण गरी सङ्ग्रहालयको रुपमा विकास गरिनु ठूलो उपलब्धि भएको बताउनुभयो । 

पशुपति परिसर सभ्यताको पहिचान बोकेको स्थान रहेको बताउनुहुँदै उहाँले यसको संरक्षण, व्यवस्थापन र सरसफाइमा ध्यान दिनुपर्ने चर्चा गर्नुभयो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण पशुपति महास्नानघर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरेको हो । पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति सङ्ग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ ।

बैंकले पशुपति सङ्ग्रहालय महास्नानघर परियोजनामा ५ करोड १४ लाख रुपियाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी रुपियाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति सङ्ग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मतसम्भारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्री श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रयास अन्य बैंक तथा वित्तीय संस्थाका लागि पनि अनुकरणीय रहेको बताउनुभयो ।