• ७ वैशाख २०८१, शुक्रबार

पदमा लाेभ गरेकाे छैन: नेता खनाल

blog

तिलाचन पाण्डे

तम्घास, भदौ ६ गते । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू कहिल्यै पनि पदको लोभमा नभएको बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठन, गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफू पदको लोभमा नभएको बताउनुभएको हो । 

राष्ट्रपति हुने चर्चाको विषयमा गोरखापत्रकर्मीको जिज्ञासामा उहाँले अहिले यो वा त्यो पद भन्दा पनि पार्टीको निर्णय र आवश्यकताको आधारमा हुने बताउनुभएको छ । 

पहिले निर्वाचनलाई सफल बनाउनुपर्छ भन्नुहुँदै उहाँले पदका कुरा सफल भएपछि पछि आउँछ भन्नुभयो ।

संविधानको रक्षा गर्नका लागि गठबन्धन आवश्यक भएको उहाँको भनाइ छ । जनताले वामपन्थीहरुलाई झण्डै दुई तिहाइको मत दिँदा पनि नेतृत्वले सही व्यवस्थापन गर्न नसकेकाले गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो । 

वामपन्थी एकताको पक्षमा तपाई लाग्नुभएको छ नी भन्ने प्रश्नमा उहाँले वामपन्थी एकता आवश्यक भएको बताउनुभएको छ ।

अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहसँग एकीकरणको सम्भावना नभए पनि नेकपा (माओवादी केन्द्र)सँग निकटता रहेको बताउनुभयो ।

प्रदेश र सङ्घको निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट विगतका इतिहासलाई हेरेर हुने भएकाले कुनै पनि समस्या नआउने उहाँले स्पष्ट पार्नुभयो ।