• ६ चैत २०८०, मङ्गलबार

लालपुर्जा वितरण

blog

भरतपुर समाचारदाता

चितवन, भदौ ६ गते । चितवनको भरतपुुर महानगरपालिका–२, आँपटारी क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका १२० भूमिहीन परिवारलाई आइतबार धनीपुर्जा वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना र  राष्ट्रिय भूमि आयोगको समन्वयमा भरतपुर–२ मा भएको कार्यक्रममा धनीपुर्जा वितरण गरिएको हो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा पुर्जा वितरण गरिएको हो । 

२०४७ सालदेखि उक्त स्थानमा बस्दै आउनुभएका छविलाल देवकोटाले भन्नुभयो, “यसअघि पनि सुकुम्बासी आयोग बन्थे र सेवासुविधा लिनका लागि नियुक्त हुन्थे । हाम्रो काम जस्ताको तस्तै थियो तर यस पटक हाम्रो वर्षौंदेखिको समस्या सुल्झियो । हामी सुकुम्बासीबाट घरधनी भयौँ ।” उहाँले आफू त्यहाँ बस्दादेखि भोगेको दुःख र सरकारले बस्ती खाली गराउन गरेको १५ दिने उर्दीका विषयमा भन्नुभयो, “हामीलाई उठाउने हो भने कहीँ न कहीँ त ठाउँ दिनुप¥यो भनेर दुई–तीन पटक काठमाडौँ पनि गयौँ । यहीँ चाहिन्छ हामीले कहिल्यै पनि भनेका होइनौँ तर सरकारले यही उपयुक्त ठान्यो, जे जति छ त्यो वैधानिक रूपमा हाम्रो बन्यो । यसमा हामी धेरै खुसी छौँ ।”

भरतपुर–२, आँपटारी क्षेत्रमा आयोगले उनीहरूले चर्चेर बसेको र जनप्रतिनिधिले प्रमाणित गरेको आधारमा १३० वर्गमिटर नबढ्ने गरी घडेरीको पुर्जा वितरण गर्ने मापदण्ड निर्धारण गरेको थियो ।