• ७ वैशाख २०८१, शुक्रबार

‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम

blog

काठमाडौँ, भदौ, ६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सुरु गर्नुभएको छ । 

आइतबार पहिलो दिन उहाँले मन्त्रालयको कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत श्रमिकका गुनासा सुन्दै कार्यक्रमको सुरुवात गर्नुभएको हो । 

प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकको गुनासो सुन्ने र तिनको सामाधनका लागि पहल गर्नुहुने बताइएको छ ।

पहिलो दिन मन्त्री कुँवरसँग फोनमार्फत प्रत्यक्ष रूपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकले आफ्नो गुनासो, जिज्ञासा, समस्या र सुझाव राखेका छन् । 

कार्यक्रममा विशेष गरी मलेसियामा जाने श्रमिकबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेका र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाबारे श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राख्नुुभएको जनाइएको छ । 

श्रमिकको जिज्ञासाको जवाफ दिँदै मन्त्री कुँवरले मन्त्रालय श्रमिकको पक्षमा भएको आस्वासन दिँदै ऐन कानुन बलियो बनाएर भए पनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा ठगिनबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रूपमा लागिरहेको जानकारी दिनुुभयो । मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रम मन्त्रालयमा कलसेन्टर स्थापना गरिएको छ वर्ष पुगेको जानकारी दिँदै कल सेन्टरमा औसत दैनिक दुई सय गुनासो आउने गरेकोे बताउनुुभयो । 

श्रमिकसँग श्रममन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।