• ६ चैत २०८०, मङ्गलबार

भिजिट भिसामा युएई गएर अलपत्र पर्नुभएका मण्डलको उद्धार

blog

युएईमा अलपत्र परी स्वदेश फर्कने क्रममा ललितकुमार मण्डल । तस्बिर : मधेशी एकता समाज

काठमाडौं, भदौ ५ गते । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र पर्नुभएका सप्तरीको तोपा–कजौलीका ललितकुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी नेपाल फिर्ता पठाएको छ । 

आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज युएईका उपाध्यक्ष कृष्ण ठाकुरले मण्डललाई भदौ १ गते बुधबार स्वदेश फिर्ता पठाउनुभएको हो । एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गत जनवरीमा दुबई लगेका थिए । तर नेपाली एजेण्टको दुबईमा रहेको बङ्गाली एजेण्टले त्यहाँको कम्पनीमा भिसा नलगाइकनै काम लगाइदिएका थिए । 

त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डल गत जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य हुनुभएको थियो । एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि समाजलाई जानकारी दिएको बताउनुभयो ।

त्यसपछि समाजका युएई उपाध्यक्ष कृष्णकुमार ठाकुरले मण्डललाई उद्धार गरेर करिब दुई हप्ता आफूसँग राखेर आवश्यक  कानुनी प्रक्रिया पूरा गरी इन्डिगो एयरलाइन्सबाट मण्डललाई नेपाल फिर्ता पठाउनुभएको हो । 

स्वदेश फर्किने क्रममा अबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गर्नुभयो । उहाँले भिजिट भिसामा खाडी मुलुक गए आफूजस्तै अरुले पनि दुःख पाउने भन्दै नेपाली युवालाई सचेत पनि गराउनुभयो ।