नेपाल चीन सम्बन्ध झन् कसिलो

Hari binod Adhikariहरिविनोद अधिकारी

नेपाल र चीन सदा एकअर्काको सम्मान गर्छन् र एकअर्कालाई समानताको दृष्टिले हेर्दछन् । पञ्चशीलको आधारमा सम्बन्ध विस्तार गर्छन् । नेपालले त सधैँ चीनजस्तो आकार र जनसङ्ख्याले ठूलो देशलाई सम्मान गरेकै छ तर चीनले पनि हामीलाई त्यत्तिकै माया गर्छ जति हामी गर्छौं भन्ने कुरा यो पटकको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र ७ देखिको १४ सम्मको एकहप्ते औपचारिक भ्रमणले पनि पुष्टि गरेको छ ।
अहिले हाम्रा प्रधानमन्त्रीको भ्रमण त्यस्तो बेलामा भएको छ जुन बेला हामी भारतसँग बिग्रिएको सम्बन्ध सहजीकरणको प्रक्रियामा छौँ । औपचारिक भाषामा त हामीले भन्ने गरेका छौँ कि भारतसँग हाम्रो सम्बन्ध बिग्रेको पो कहाँ थियो र रु तर यो समय नेपालको आन्तरिक राजनीतिको मात्र सङ्क्रमणकाल होइन कि कूटनीतिको पनि सङ्क्रमणकाल भित्र परेको छ । खासगरी संविधान घोषणासँगै भारतसँगको सम्बन्ध अचानक बिग्रेको छ । भारतसँगको सम्बन्धलाई सहजीकरण गर्न थालेको बेलामा नै चीन भ्रमण हुनुले नेपाललाई चीन कार्ड खेलेको आरोप पनि लाग्न थालेको कुरा प्रधानमन्त्री ओलीले यस आशयको विचार चीनमा नै राख्नुले पनि आरोपप्रति ध्यानाकर्षण भएको पुष्टि भएको छ ।
कुनै पनि छिमेकी सरकार प्रमुखको विदेश भ्रमणलाई अर्को छिमेकीले ध्यानपूर्वक हेरेको हुँदो रहेछ भन्ने कुरा नेपालले चीनसँग दसबुँदे सहमति गरेको कुरालाई भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो प्रेस भेटघाटमा समेत चासो देखाउँदै नेपाल र भारतको सम्बन्धको कसैले नक्कल गर्न नसक्ने भनी टिप्पणी गर्नुले स्पष्ट पारेको छ । भारतमा अहिले नेपालसँगको सम्बन्धले सरकार र प्रतिपक्षका बिचमा आरोप प्रत्यारोपसमेत सुरु भएको देखिन्छ । भारत औपचारिकरूपमा सम्बन्ध सप्रेको देखाउन चाहन्छ तर व्यवहारमा त्यो पुष्टि गर्न सकिरहेको छैन । त्यस्तो बेलामा चीनको नेपालप्रतिको विश्वास र आदर अझ बढी मुखरित भएको छ । सहकार्यका लागि ढोका खोल्ने काम भएको छ र जस्तो सहयोगका लागि पनि चीन तयार रहेको सन्देश दिन सफल भएको छ ।
सर्सर्ती हेर्दा हाम्रा प्रधानमन्त्रीको भ्रमण सफलतातिर उन्मुख देखिन्छ । एकप्रकारले चीनको हामीसँग खासै समस्या छैन र नेपाल–चीन सम्बन्ध नै यस्तो होला छिमेकीहरूका बीचमा कि कुनै समस्याले त्यसलाई असर पारेको देखिएन । जहाँसम्म एक चीनको प्रश्न छ, त्यसलाई हामीले पहिलेदेखि नै मान्दै आएका छौँ । संयुक्त राष्ट्रसङ्घमा चीनका नाममा फर्मोसा वा ताइवानले प्रतिनिधित्व गर्दा पनि हामीले त्यसलाई मानेका थिएनौँ र अनवरतरूपमा चीन भनेको मुख्य भूमि हो जसलाई माओले नेतृत्व गर्नुहुन्छ भनी भन्दै आएका थियौँ । न त हामीले चीनका कुनै विद्रोहीलाई नेपालका सरकार चलाउन दिएका छौँ, न त चीनका बौद्ध धर्मावलम्बीलाई कुनै असर पर्ने गरी व्यवधान उत्पन्न गरेका छौँ । एक चीन नीतिप्रति यदि वचन र कर्मले एकाकार गरेका छौँ भने हामी नेपालीले मात्र गरेका छौँ यो विश्वमा नै । त्यसैले हाम्रो चिन्ता भनेको हाम्रो भूमिलाई कसैले पनि भारत र चीनका विरुद्धमा प्रयोग गर्न नपाओस् भन्ने छँदैछ । अरू कुरामा हाम्रा दलबीचमा मतभिन्नता होला, चीनका मामिलामा एक धारणा छ र रहिरहने छ भन्ने कुरामा चीन पनि विश्वस्त देखिन्छ ।
चीन र नेपालको राम्रो सम्बन्ध शदियौँदेखि भए पनि औपचारिकरूपमा आधुनिक नेपाल र आधुनिक चीनसँग सम्बन्ध बनेको ६१ वर्ष भयो । हाम्रा लागि भारत र चीन बराबर भए पनि खुला सीमाना र सांस्कृतिक सम्बन्धले भारतसँग बढी घनिष्टताजस्तो देखिए पनि चीनसँग पनि नेपालको घनिष्टता छ । सुख र दुःखका साथी हौँ भन्ने कुरा गोरखा भूकम्पको बेलामा देखिएको थियो ।
अहिलेको भ्रमणको महìव भनेको पारवहन सुविधा र व्यापार विविधीकरणमा सहजता हो । धेरै कुरा छन् जसले चीनको नेपालप्रतिको सम्मान दर्शाउँछ । हामीले पाएको विश्वासलाई कति विश्वस्त गराउन सक्छौँ, त्यसमा हाम्रो सम्बन्धको न्यानोपन कति गाढा भन्ने मापन हुँदै जान्छ ।
नेपाल चीन सम्बन्धको कडीको कुरा गर्दा बीपी कोइरालाक प्रसङ्ग स्वतः आउने गर्दछ । धेरै समयसम्म नेपाली राजनीतिमा बीपीलाई चीनको विरोधी देखाउने तìवहरू पनि थिए जसले गर्दा बीपीको परराष्ट्र नीति ओझेलमा पारिएको थियो । अहिले खुला समय छ । सबैले समयसाथै पात्रको पनि मूल्याङ्कन गरिरहेका छन् । बीपीको भ्रमण र केपीको भ्रमणलाई यस कारणले ऐतिहासिक मान्ने कुरा आएको हो कि बीपीले सगरमाथा नेपालको हो कि होइन भन्ने समस्यालाई नेपालको नै हो भन्ने समाधान निकाल्न सक्नुभयो र केपीले पारवहनको सुविधालाई लिपिबद्ध गराउनु भयो । बेला यस्तै सङ्क्रमणकालको थियो । अहिले पारवहन रोकेको नभने पनि रोकिएको थियो र कम्तीमा पनि अब भारतबाट पारवहनको सुविधा नपाउँदाका बखत पनि सामान सस्तो महँगो जे होला, नेपाल सामान आउन सक्ने भयो चीनबाट वा तेसो देशबाट ।
अरू सहमति सम्झौताहरू प्रतीकात्मक छन् । चीनका तर्फबाट भन्दा पनि हाम्रै तयारीले कति छिटो वा ढिलो भन्ने छ । पूर्वाधार विकासपछि मात्र परिणाम आउने हो तर अहिलेको विकट अवस्थामा यो पनि हाम्रा लागि राहत मिल्ने विषय बनेको चाहिँ पक्कै हो ।
भारत भ्रमणको ठीक एक महिनापछि चीनको भ्रमण गरिएकोले पनि भारतसँग दाँजेर हेरिएको हो । भारतले नयाँ संविधानका बारेमा खासै चर्चा नगर्नु र संयुक्त विज्ञप्तिसमेत प्रकाशित प्रसारित नगरको परिप्र्रेक्ष्यमा चीनले संविधानलाई उदात्त भावले स्वागत गर्नु र संयुक्त विज्ञप्तिमा सहमति नभएका कुराहरूलाई समेत प्रतिबद्धताका रूपमा धेरै कुरा अटाउनुले पक्कै नै त्यसले दिने महìव दूरगामी छ ।
यसपटक रोजगारीका बारेमा पनि छलफल भएको भए र वर्षमा नेपाली कामदारहरूको कोटासमेत तोक्न सकेको भए अझ सुनमा सुगन्ध हुने थियो ।
संयुक्त राष्ट्रसङ्घको शक्ति राष्ट्रको रूपमा रहेको चीनले आफूलाई तेस्रो विश्वको प्रतिनिधि ठान्दछ र गरिब मुलुकहरूको पक्षमा बोलेको पाइन्छ । बुद्ध धर्मावलम्बीहरूको पनि देश भएकाले बुद्ध जन्मस्थानका बारेमा चीन संवेदनशील देखिन्छ । नेपाललाई आवश्यक जे पनि दिने र जस्तो सहयोग पनि गर्ने वचन दिइरहने देशले नेपालको दीर्घकालीन हितको चिन्ता गरेको छ जसलाई हामीले मुक्त कण्ठले स्वागत गर्नुपर्छ ।
सम्झौता भइसक्यो, चीनले हामीलाई असहज अवस्थामा पनि सहजता दिने प्रतिबद्धता देखाइसक्यो । अब कुरो कार्यान्वयनको हो । जति हामी इमानदारिताका साथ चीनलाई विश्वास दिलाउँछौँ र पूर्वाधार तयार गर्दछौँ, त्यति छिटै हामीले परिणाम प्राप्त गर्न सक्छौँ । हामीले पनि भारत र चीनलाई समदूरीमा राखेर व्यवहार गर्न सक्नुपर्छ । वास्तवमा भारत र चीनका बीचमा देखिने निकटतालाई हामीले पनि सदुपयोग गर्न सक्नुपर्छ । विकासको गतिमा तीव्र गतिशील दुई मुलुकको बीचमा बसेर पनि हाम्राँै पछौटेपन अन्त्य हुन सकेन भने हाम्रा लागि पनि यो लाजको विषय हो ।
चीनसँग सम्बन्ध राम्रो हुँदैमा भारतसँग सम्बन्ध बिगार्ने भन्ने पनि होइन र भारतसँग सम्बन्ध राम्रो बन्ने भनेको चीनसँग सम्बन्ध बिगार्ने भन्ने पनि होइन । दुवै देशहरू हाम्रा सीमाना जोडिने महान् छिमेकीहरू हुन् । एउटाका विकल्प अर्को हुनै सक्दैन तर एउटाको विरुद्धमा अर्कोलाई प्रयोग गर्ने भन्ने हुँदैन । अतीतमा त्यस्तो भएको थियो भने पनि अब हामीले गर्नु हुँदैन । भारतले पनि चीनको सदाशयताबाट छिमेकीले गर्ने व्यवहारको व्यावहारिकता पक्कै बुझेको हुनुपर्छ ।
भारत र चीनका बीचको सम्बन्धलाई दाँजेर हेर्ने भन्दा पनि प्रत्यक्ष देखिने व्यवहारका आधारमा मूल्याङ्कन गरेर नेपाल सरकार अघि बढोस् र विश्वासको सङ्कट आउन नदिने वातावरण तयार गरोस् भन्ने अपेक्षाबाहेक अरू केही तत्काल भन्नु पर्ने केही देखिँदैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना