म्यान्मारमा प्रजातन्त्रको बिहानी

bibas wostiविवश वस्ती

करिब आधा शताब्दी लामो सैन्य शासनको पतनपछि अब म्यान्मारको राजनीतिले कुन मोड लेला ? सैनिक शासकको दबदबामा पिल्सिएको म्यान्मारको आकाशमा केही दिनपूर्व प्रजातन्त्रका सुनौला किरणहरू फैलिएपछि अपार प्राकृतिक स्रोत, सम्पदाहरूले भरिपूर्ण दक्षिण–पूर्वी एउटा राष्ट्रप्रति अहिले सिङ्गो विश्वले उत्सुकतापूर्वक नजर बिछ्याइरहेको छ । सन् नब्बेको प्रारम्भिक दशकमै बहुसङ्ख्यक जनताले प्रजातन्त्रका हिमायती आङ सान सूकीलाई रोजे पनि लामो समयदेखि सत्ताको चाबी लिएर बसेको सैनिक शासकले जनमतलाई अस्वीकार गर्न चाह्यो र विश्वका प्रजातान्त्रिक शक्ति र हिमायतीका सामु म्यान्मारको तत्कालीन शासक एउटा चुनौतीका रूपमा उभिँदै आएको थियो । अब भने, विश्वव्यापी दबाब र प्रजातन्त्रको पक्षमा बढेको समर्थनसँगै थाकेको सैनिक सरकारले बहुसङ्ख्यक जनताको मत र आवाजलाई कदर गर्न करै लागेको छ ।
म्यान्मारको कानुनी अड्चनले गर्दा करिब आधा शताब्दीदेखि प्रजातन्त्रको स्थापनाको आन्दोलनको प्रतीकका रूपमा उभिएकी, नोबेल शान्ति पुरस्कार बिजेता सूकीले व्यापक जनताको चाहना भए पनि राष्ट्रपति बन्न पाइनन् तर सूकीका विश्वासपात्र एवं प्रजातान्त्रिक लडाइँमा अग्रमोर्चामै रहेर क्रियाशीलता देखाएका टिन चाउले अहिले राष्ट्रपतिको जिम्मेवारी लिएका छन् । सैनिक शासकले सूकीलाई नजरबन्दमा राखेर बाह्य संसारसित विच्छेद गराएका बेला नवनियुक्त राष्ट्रपति चाउले नै बाह्य राष्ट्रहरूका प्रजातान्त्रिक शक्तिसँग सम्पर्क र समन्वय गरेर प्रजातन्त्रको पक्षमा लबिङ गरेको मानिन्छ । सूकीको विद्यालय तहदेखिकै घनिष्ट साथी चाउ राष्ट्रपति बन्नुमा सूकीको विश्वासपात्र मात्र नभएर म्यान्मारमा प्रजातन्त्रको बीउ रोप्न उनले खेलेका अथाह भूमिका पनि कारण बन्न पुगेको छ ।
सन् १९६९ मा सेनाले ‘कु’ गरेर सत्ता हत्याएपछि करिब आधा शताब्दीसम्म म्यान्मार बाह्य विश्वसँग हरेक हिसाबले अलग रह्यो । प्रजातन्त्रको अपहरण गरेर देशका जनतालाई सैन्य शासनमुनि बाँच्न बाध्य तुल्याएपछि विश्वका अधिकांश प्रजातान्त्रिक मुलुकहरू सैनिक शासनको विपक्षमा उभिनु स्वाभाविकै थियो । जनता र शासकबीचको चाहना बाझिएपछि अन्तरद्वन्द्व र विरोधका शृङ्खलाहरू जनपङ्क्तिबाट उब्जिनु अनिवार्यजस्तै बन्न पुग्यो र बढ्दो राजनीतिक अस्थिरताले देशको आर्थिक उन्नति र समृद्धिका ढोकाहरू लगभग बन्दजस्तै रहे । प्रजातन्त्र चाहने जनतामाथिको गिरफ्तारी र दमन तीव्र बनेपछि अमेरिकालगायत अरू प्रजातान्त्रिक मुलुकहरूले लगाएको नाकाबन्दीले म्यान्मारको अर्थतन्त्र झनै ह्रासको दिशातिर लम्कियो । जनताको विश्वास र समर्थन प्राप्त गरेको भए बाह्य मुलुकहरूको नाकाबन्दीलाई चिरेर अघि बढ्ने सामथ्र्य तत्कालीन सरकारले अवश्य नै राख्न सक्थ्यो तर देशभित्र जनविद्रोह र असन्तुष्टि व्याप्त रहेका कारण नाकाबन्दीलाई चिरेर जानसक्ने ल्याकत सैन्य शासकले राख्न सकेन । त्यही कारण अपार प्राकृतिक र खनिज स्रोत र सम्पदा हुँदाहुँदै पनि अरू दक्षिण–पूर्वी एसियाली मुलुकहरू थाइल्याण्ड, मलेसिया, सिङ्गापुरले आर्थिक क्षेत्रमा अकल्पनीय छलाङ मारे पनि म्यान्मार भने राजनीतिक द्वन्द्व, गतिहीनता र बन्द–समाजका कारण निरन्तर पछि पर्दै गयो । यो स्वाभाविक पनि थियो ।
सैनिक शासकले खगारेको एउटा मुलुकको दुर्दशा सिङ्गो विश्वले नियालि रहे पनि म्यान्मारमा प्रजातन्त्रको सुनौलो बिहानी देख्न चाहने प्रजातान्त्रिक मुलुकको सपना सन् नब्बेकै दशकमा पूरा हुन सक्थ्यो तर सैनिक शासकको हठ र प्रजातन्त्रको जरै उखेल्ने मनसायमा रहेको तत्कालीन शासकले बहुसङ्ख्यक जनताको मताधिकारलाई मजाकको विषय मात्र बनाइदियो । देशका जनताको तीव्र आकांक्षा र विदेशीको बढ्दो दबाबलाई थाम्न नसकेर सन् १९९० मा म्यान्मारमा तत्कालीन सैनिक सरकारले आम निर्वाचन त ग¥यो तर नेशनल एसेम्बलीको ४ सय ८५ सिटमा भएको निर्वाचनमा सूकीले नेतृत्व गरेको नेशनल लिगले ३ सय ९७ सिट प्राप्त गरे पनि सत्ता सुम्पिइएन । मात्र १० सिटमा खुम्चिन पुगेको सैनिक सरकारले नै सत्ताको चाबी आफूमै राखिरह्यो । देशका बहुसङ्ख्यक जनता प्रजातन्त्रवादी नेतृ सूकीको पक्षमा रहेको स्पष्ट भएपछि सैनिक सरकारले नजरबन्दमा रहेकी सूकीको नजरबन्द–अवधि बढाउने काम मात्र गरेन, आफूलाई नयाँ जनादेश स्वीकार्य नभएको हँुदा सत्ता छाड्न बाध्य नभएको अभिव्यक्ति आयो । त्यो सैनिक शासकको यस्तो कठोर अभिव्यक्ति थियो, नब्बेको दशकमा सिङ्गो विश्वभर निरङ्कुश सत्ताहरू ढलेर प्रजातन्त्रको लहर चलिरहँदा एउटा देशका शासक भने ९५ प्रतिशत जनताको चाहना र इच्छालाई पैंतालामुनि दबाएर शासन गर्ने स्वप्न देख्दै थियो । म्यान्मारको सैनिक शासकको यस्तो रवैया र कदमले सिङ्गो विश्व स्तब्ध हुनु अन्यथा पनि थिएन ।
म्यान्मारको बढ्दो सैनिकीकरणले जनताका अधिकार कुण्ठित हुँदै गएको थाहा पाएपछि सन् १९८८ मा सूकी स्वदेश फर्किएकी थिइन् । बेलायती नागरिकसित विवाह गरेर सुख, सयल र आरामपूर्ण जिन्दगी बिताइरहेकी उनले म्यान्मारमा फर्किएर खोसिएको जनाधिकार पुनस्र्थापित गर्न अथक सङ्घर्ष गर्नुको पछाडि म्यान्मारका जनतालाई एकदिन प्रजातन्त्र दिलाउने उनको उत्कट अभिलाषा र दृढ सङ्कल्प शक्तिको परिणाम थियो तर म्यान्मार फर्किएर राजनीतिक क्रियाशीलता देखाएलगत्तै उनलाई सैनिक शासकले घरमै नजरबन्दमा राख्यो । बाह्य दबाब तिखो बन्दै गएपछि नजरबन्दलाई केही खुकुलो गर्ने सैनिक सरकारले बितेको अढाई दशकमा सूकीलाई लामो समय नजरबन्दमा नै राख्दै आयो । सैनिक शासकले यतिसम्म गर्न चाह्यो कि, देशको नाम नै बर्माबाट म्यान्मार र राजधानीको नाम रङ्गुनबाट याङ्गुनमा परिवर्तन मात्र गरेन, राजधानी यांगुनमा सैनिक शासन विरुद्धका गतिविधिले तीव्रता लिएपछि एउटा अनकन्टार जङ्गल–क्षेत्र नेपिटोमा देशकै राजधानी सार्ने काम पनि गरियो ।
सन् १९९१ मा सूकीले नोबेल शान्ति पुरस्कार प्राप्त गरिन् तर उनी त्यतिबेला नजरबन्दमा थिइन् र नोबेल पुरस्कार कमिटीले सूकीलाई पठाएको पत्र सैनिक शासकले सूकीलाई दिन अस्वीकार ग¥यो । पुरस्कार ग्रहण गर्न बेलायतमा रहेका सूकीका दुई सुपुत्र एलेक्जेन्डर एरिस र किम एरिस ओस्लो पुगेका थिए । ती दुई किशोरले नोबेल पुरस्कार वितरण समारोहमा निकै मार्मिक शब्द निकाले– ‘यो सम्मान केवल मेरी आमाले मात्र पाएकी होइनन्, ती सबै पुरुष, महिला र बालबालिकाहरूले पाएका हुन्, जो निरन्तर आज पनि, जब म यहाँ बोलिरहेको छु, स्वाधीन लोकतान्त्रिक बर्माको उत्थानका लागि आफ्नो सुख, आफ्नो स्वतन्त्रता र आफ्नो जीवनलाई बलिदान दिन लागिपरेका छन् । ’
अन्ततः यतिबेला म्यान्मारका जनता लामो समयदेखि भोग्दै आएको स्वेच्छाचारी शासनबाट मुक्त त भएका छन् तर सैनिक शासनको अध्याय समाप्त भए पनि त्यसको छायाँले भने अझैँ केही समय अल्झाइरहने यथार्थबाट भने विमुख हुन सकिँदैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना