• ६ चैत २०८०, मङ्गलबार

नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

blog

नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु । तस्बिर : विकास द्वारे

काठमाडौं, भदौ ५ गते । नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्नेभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुः ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवम् बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।

सरल जीवनशैलीका गान्धीवादी नेता  

पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि.सं २००४ असोज २४ गते गोवर्धन पूजाका दिन सिराहाको बस्तीपुरमा जन्मनुभएका गिरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो ।

उहाँ राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्नुहुन्थ्यो । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभएको कांग्रेसले जनाएको छ ।

नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतकाविरुद्ध निरन्तर सङ्घर्षरत रहनुभयो । सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिनुभएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक पटक जेल र निर्वासनमा रहनुभयो । 

उहाँ कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय हुनुहुन्थ्यो । दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको बैठकको ठहर छ ।

बैठकले उहाँप्रति उच्च सम्मान प्रकट गर्दै यस दुःखद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलीकासाथ शोकाकूल परिवारजन एवं समस्त पार्टी सदस्यमा समवेदना प्रकट गरेको छ । दिवङ्गत नेता गिरीप्रति उच्च सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको बैठकमा दुई मिनेट मौन धारण गरिएको थियो ।

कांग्रेसका नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो । तत्पश्चात् पशुपति आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम छ ।

गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म 

कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लगिएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट लगिएको पार्टी कार्यालयले जनाएको छ । 

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ । उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे उहाँको निधन भएको थियो ।