• ८ वैशाख २०८१, शनिबार

बाह्र वर्षपछि पुनर्निर्माण हुँदै बागमती पुल

blog

यादवराज पुरी

रौतहट, भदौ ५ गते  । नदीको धार परिवर्तन भएपछि निर्माण कार्य रोकिएर अधुरो रहेको दुर्गाभगवती गाउँपालिका–५ स्थित रौतहट र सर्लाही जोड्ने बागमती पुलको पुनर्निर्माण सुरु भएको छ। छिमेकी जिल्ला जोड्ने महत्त्वाकाङ्क्षी परियोजनाअन्तर्गत लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा ठेक्का सम्झौता गर्दै २०७० जेठ ३० मा काम सम्पन्न गर्न पुल निर्माण सुरुलगत्तै नदीले धार परिवर्तन गरेपछि बन्द भएको निर्माण कार्य १२ वर्षपछि पुनः सुरु भएको हो। 

हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि पुल निर्माणका लागि ठेक्का पाएका महालक्ष्मी, विकास र वाईपी जेभी निर्माण कम्पनीले काम सुरु गरेका छन्। निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत सो कम्पनीले काम सुरु गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नदी नियन्त्रणको कामसहित पुल निर्माणका लागि सो कम्पनीले ५७ करोड ४० लाख रुपियाँमा ठेक्का सकार गरेको छ। २२४१ मिटर लम्बाइको सो पुल निर्माण कम्पनीले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरेका छन्। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गर्नुभएको उक्त पुल बिल्डर्सले त्यतिबेला ३५ करोड ८९ लाख रुपियाँमा ठेक्का सकार गरी पप्पु कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा लगाएको थियो। 

पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो। कन्स्ट्रक्सनले १७ वटै स्पानको काम सकेको छ। निर्माणकै क्रममा पुलभन्दा करिब आठ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि निर्माणको काम रोकिएको लुम्बिनी बिल्डर्सका प्रमुख लङ्क केसीले जानकारी दिनुभयो। उहाँका अनुसार धेरै समयसम्म निर्माण कम्पनी र निर्देशनालयबीच छलफल भए पनि कामअघि बढाउने सहमति हुन सकेन। पुल निर्माण अवधि सकिएको, लामो समयसम्म निर्देशनालयले साइट उपलब्ध गराउन नसकेको र निर्माण सामाग्रीको भाउ आकाशिएकोले पुरानै दरभाउमा काम गर्न नसक्ने भएपछि बाध्य भई एकतर्फी रूपमा ठेक्का तोड्नु परेको बिल्डर्स प्रमुख केसीको भनाइ छ। यता पुल पुनः निर्माण हुन थालेपछि दुर्गाभगवती गाउँपालिकाका कृषक चन्देश्वर यादवले सर्लाही र रौतहट आवतजावतमा जोखिमपूर्ण डुङ्गा यात्राबाट मुक्ति पाइने भयो भन्दै खुसी व्यक्त गर्नुभयो।