• ६ चैत २०८०, मङ्गलबार

कृष्णाष्टमीको रौनक

blog

ललितपुर, भदौ ४ गते । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरूको घुइँचो लागेको छ। गत वर्ष कोरोना महामारीका कारण मन्दिरको बाहिरबाटै पूजा गरेका भक्तजनले यसपालि भने मन्दिरमा पूजाअर्चना गर्ने मौका पाए। मन्दिरमा भक्तजनहरूको बिहानैदेखि भीड लागेको थियो। त्यही भीडमा कृष्णको भेषमा सजिएका बालबालिका पनि देखिन्थ्यो। 

बिहान राधाकृष्ण बनाएर मन्दिर पुग्नुभएका सुवास सुवेदीले भन्नुभयो, “बालबालिकाको इच्छा भएर मन्दिरमा दर्शन गराउन ल्याइएको हो। कृष्ण जन्माष्टमीको दिन नै मेरो छोरीको जन्म भएको हुनाले हरेक वर्ष बालगोपालको भेषमा मन्दिर दर्शन गराउन ल्याउने गरेको छु।” सुवेदी मात्र होइन स–साना धेरै बालबालिका राधाकृष्णको भेषमा सजिएर फोटा खिचिरहेका थिए। 

सानी बालिका राधाको भेषमा निकै खुसी देखिनुहुन्थ्यो। आमाले टिकटक बनाउन आग्रह गरेपछि ‘मैया यशोदा य तेरा कनैया...’ बोलको गीतमा उहाँ छमछम नाच्नुभयो। यस्तै कृष्ण मन्दिरमा पूजा गर्न आउनुभएका मैया श्रेष्ठले गत दुई वर्ष कोरोनाका कारण मन्दिरमा दर्शन गर्न नपाएको गुनासो गर्दै यसपालि राम्ररी पूजाअर्चना गर्न पाएकोमा दङ्ग हुनुहुन्थ्यो। 

यस दिन व्रतालुहरू रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्दछन् । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने गर्दछन्। पौराणिक कथनअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ।

वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने गर्छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिने संस्कृतविद् डा. चुन्डा वज्राचार्यले बताउनुभयो। 

देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ रहेको पनि जानकारी दिनुभयो।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेको छ भने देशैभरका कृष्ण मन्दिरहरूमा भक्तालुको भीड लाग्ने गरेको छ।