• ६ चैत २०८०, मङ्गलबार

‘अफ सिजन’मा खुम्बुमा बढे पर्यटक

blog

सन्तोष राउत

सोलुखुम्बु, भदौ ४ गते । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र घुम्न आउने विदेशी पर्यटक बढेका छन् । गत वर्ष यही समयमा दैनिक दुई/तीन जना मात्र विदेशी पर्यटक आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२–१४ जनासम्म भित्रिरहेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको हो । 

खुम्बुमा विशेष गरी वर्षको दुई पटक पर्यटकको चाप हुने गर्दछ । ‘स्प्रिङ’ सिजनका रूपमा वैशाख, जेठ, असार र अटम सिजनका रूपमा असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजनका रूपमा मानिन्छ । यी सिजनमा पर्यटक भरिभराउ हुने सो क्षेत्रमा अरू बेला चहलपहल कम हुने गर्छ । यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटक आइरहेका खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको पर्यटन व्यवसायी बताउँछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, लुक्लाका प्रमुख द्वारिका अछामीका अनुसार अहिले दैनिक तीनवटासम्म उडान हुने गरेको छ भने हेलिकोप्टरले समेत दैनिक दुई दर्जनभन्दा बढी उडान गर्ने गरेको छ ।