• ६ चैत २०८०, मङ्गलबार

तराईमा खडेरी : महँगो डिजेल खर्चेर धानमा सिँचाई

blog

धान बाली सुक्न थालेपछि पम्पसेट चलाएर सिचाइँ गरिँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, भदौ ३ गते । सर्लाहीसहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ । 

वर्षा हुन नसक्दा किसानले पम्पसेटमा महँगो डिजेल खर्चेर पानी लगाइरहेका छन् । प्रतिलिटर १७३ रुपियाँ ५० पैसाको डिजेल खर्चेर धानमा पानी लगाउनुपरेको चन्द्रनगर गाउँपालिका –२, बबरगन्जका किसान राजेन्द्र साहले गुनासो गर्नुभयो । 

तत्काल वर्षा नभए धान खेतीमा ठूलो क्षति पुग्ने देखिन्छ, उत्पादनमै ह्रास आउन सक्छ ।

यो वर्ष पर्याप्त वर्षा नहुँदा धान रोप्न र रोपिसकेपछि सिँचाइ गर्न पम्पसेट चलाउनुपरेको साहले बताउनुभयो । “असार र साउन पानी नपरेरै बित्यो, भदौ लागेपछि पनि उही अवस्था छ, बाहिर हेर्दा चैतमासजस्तो खण्डहर देखिन्छ,” साहले भन्नुभयो, “हामी किसानलाई न वर्षाले साथ दियो न सरकारले, पम्पसेट चलाएर जसोतसो पानी लगाएपछि पनि खेतमा हाल्ने रसायनिक मल छैन् ।” 

जिल्लामा अहिले चन्द्रनगर, हरिपूर्वा, ब्रह्मपुरी, पर्सा, कविलासीलगायत पालिकाका किसानले पम्पसेट चलाएर धान बालीमा सिँचाई गरिरहेका छन् । लालबन्दी र ईश्वरपुर नगरपालिकाको राजमार्गदेखि दक्षिणी भेगमा पनि धान बालीमा सिँचाइ गर्न दर्जनौँ पम्पसेट चलिरहेका छन् । 

हामी किसानलाई न वर्षाले साथ दियो न सरकारले, पम्पसेट चलाएर जसोतसो पानी लगाएपछि पनि खेतमा हाल्ने रासायनिक मल छैन् ।

पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फका अधिकांश किसानले लगाएको धानबाली भने सुकेर गइरहेको छ । पानीको सतह निकै तल रहेकाले उत्तरी भेगमा पम्पसेट चल्दैन । उत्तरी भेगमा केही किसानको खेतमा कुलोको पानी लागे पनि खोलामा पानी सुकेपछि पानी लगाउन किसानबीच हानाथाप छ । 

कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहाले ९० प्रतिशत खेतमा धान रोपाइँ भए पनि पानी नपर्दा खेत चिराचिरा परेर धान बाली नै सुक्न थालेको बताउनुभयो । “पानी नपर्दा किसान निराश छन्, धान खेत हेर्न गयो सबै चिराचिरा परेर सुक्न थालेको देखिन्छ,” कुशवाहाले भन्नुभयो, “तत्काल वर्षा नभए धान खेतीमा ठूलो क्षति पुग्ने देखिन्छ, उत्पादनमै ह्रास आउन सक्छ ।” कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा ४६ हजार ५०० हेक्टर जमिनमा धान खेती हुनेगरेको छ ।