• ६ चैत २०८०, मङ्गलबार

दिवा खाजा कार्यक्रमले शैक्षिक गुणस्तरमा सुधार

blog

बूढीनन्दा नगरपालिका–९ स्थित शिद्धेश्वरी आधारभूत विद्यालयका कर्मचारी विद्यार्थीहरुलाई दिवा खाजा खुवाउँदै । तस्बिर: शेरबहादुर सार्की

बाजुरा, भदौ ३ गते । बालबालिकाहरुले विद्यालयमै दिवा खाजा खान पाएपछि बालबालिका हर्षित हुनुका साथै पढाइमा पनि निकै सुधार आउन थालेको विद्यालयहरुले जनाएको छ ।

भर्ना नभएका बालवालिका समेत खाजा कार्यक्रमले विद्यालय आउन थालेका छन् । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा  अहिले दिवा खाजा कार्यक्रम सुरु भएको छ ।

बूढीनन्दा नगरपालिका –९ को सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायाले, दिउँसो भोक लागेको समय विद्यालयमै खाजा खान पाएपछि निकै हर्षित भएको बताउनुभयो । उहाँले भन्नभयो, एक घण्टा पैदल  हिडेर बिहान खायो नखायो गरी छिट्टै विद्यालयमा आउनु पर्छ , अनी १२ नबज्दै भोक लाग्न सुरु हुन्छ, भोक लागेपछि पढ्न नसक्ने र पढाइ छोडेर घरमा जानु पर्ने बाध्यता थियो । विद्यालयमै खाजा खान पाउँदा पढाइमा समेत सहज भएको र भाई पनि विद्यालय आउन सुरु गरेको उहाँले बताउनुभयो । 

विद्यालयमा सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको पढाइमा पनि निकै सुधार आएको सिद्धेश्वरी आधारभूत विद्यालय शिक्षक तुला रावतले बताउनुभयो । दिउँसो भोक लागेपछि पढाइ छोडेर नास्ताका लागि घरमा जाने अधिकाशं विद्यार्थीहरुले अहिले विद्यालयमै नास्ता खान पाउने खाजाको  आशले पुरा विषय पढ्न थालेपछि अहिले उनीहरुको पढाइमा पनि निकै सुधार आएको उहाँको भनाई छ । 

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालवालिकाहरुको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा राखिने र पालिकाले त्यो रकम  सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यार्थीहरुलाई दिवा खाजा खुवाउने कार्यक्रम सुरु भएको हो । 

सरकारले बालवालिकालाई १५ रुपियाँका दरले रकम दिन सुरु गरेको छ । यो रकमबाट विष्कुट, चना चिउरा र फलफुल खुवाउने गरेको शिक्षक रावतले बताउनुभयो । बाजुराका ७ वटा पालिकाका झण्डै १३८ विद्यालयमा विश्व खाद्यान कार्यक्रम र दुई वटा पालिकाका झण्डै १०१ विद्यालयमा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगबाट दिवा खाजा कार्यक्रम सुरु गरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्क सिहले बताउनुभयो । 

खाद्यान कार्यक्रम लागु भएका विद्यालयमा एक विद्यार्थीका लागि ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, २ ग्राम नुन गरी ११२ ग्राम खाद्यान कार्यक्रमले  दिने र त्यो कार्यक्रम लागु नभएका विद्यालयमा सरकारले दैनिक १५ रुपियाँका दरले विद्यार्थी उपलब्ध गराउने गरेको छ । 

यो कार्यक्रमले विद्यालय छोडेका बालवालिकाहरु पनि पुन विद्यालयमा भर्ना भएका छन् भने विद्यालय छोड्नेको सङ्ख्या पनि घट्दो क्रममा रहेको प्रमुख सिंहले बताउनुभयो । 

Author

शेरबहादुर सार्की