• ६ चैत २०८०, मङ्गलबार

जग्गा विवादले अस्पताल अलपत्र

blog

बैतडी समाचारदाता 

बैतडी, भदौ ३ गते । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने निर्णय तीन वर्षअघि भए पनि जग्गा विवादका कारण अलपत्र परेको छ।

तीन वर्षअघि नगरपालिकाले वडा नम्बर ७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई वडा नम्बर १ मा सारेर १५ शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो।

सो निर्णयपछि स्थानीयवासीबीच जग्गा विवाद भएको थियो। भएको स्वास्थ्य संरचनामा डाक्टर बोलाउन नसक्ने तर स्वास्थ्य केन्द्र सार्ने भन्दै स्थानीयवासीले विरोध गरेका थिए। अस्पतालको अध्ययन गर्न आएको परामर्शदाता कम्पनीसमेत स्थानीयवासीबीच जग्गा विवादका कारण फर्केको थियो।

अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट प्रत्येक वर्ष करिब एक करोड रुपियाँ बजेट विनियोजन हुने गरेको भए पनि जग्गा विवादका कारण अस्पताल निर्माणको काम अघि बढ्न नसकेको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो। मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर १५ शय्याको अस्पताल निर्माण गर्न पहल गरिने बताउनुभयो। 

एमबीबीएस डाक्टरको दरबन्दीसहित २३ वर्षअघि बैतडीको मेलौली नगरपालिका–७ मा स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा परेका छन्। २०१६ सालमा केशरपुर हेल्थ सेन्टरका नामले स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २०५६ सालदेखि एक जना डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी कायम भएको थियो। यद्यपि स्वास्थ्य केन्द्रमा डाक्टरको अनुहार देख्न मुस्किल परेको स्थानीयवासी बताउँछन्।

बैतडीको तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका गरेर तीनवटा स्थानीय तहका करिब ७० हजार स्थानीयवासीलाई स्वास्थ्य उपचार गराउने जिम्मा पाएको स्वास्थ्य केन्द्र लामो समयदेखि अहेवका भरमा सञ्चालनमा रहेको छ। डाक्टर र स्टाफ नर्सको दरबन्दी भए पनि अहेवका भरमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको अहेव मुकेशकान्त दयालले बताउनुभयो। 

मेलौली नगरपालिका–९ का अध्यक्ष लोकराज भट्टले स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेको बताउनुभयो।

वडाध्यक्ष भट्टले भन्नुभयो, “२३ वर्षदेखि डाक्टरको नाम मात्रै सुन्यौँ, डाक्टर आएनन्। एक वर्षअघि आएका डाक्टर पनि पाँच महिनामै सरुवा भए। दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि स्टाफ नर्ससमेत सरुवा भएर गए।”

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले सङ्घीय सरकारबाट मेलौली नगरपालिकाको खातामा प्रत्येक वर्ष दरबन्दीका डाक्टरको तलब भत्ता आउने गरेको बताउनुभयो।

सो रकममा नगरपालिकाले पैसा थपेर डाक्टर नियुक्त गर्न सक्ने अधिकार भए पनि नगरपालिकाको ध्यान नपुगेको प्रमुख भट्टले बताउनुभयो। मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले कार्यपालिकामा छलफल गरेर डाक्टरको पदपूर्ति गर्न आवेदन आह्वान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।