काँग्रेस अब यस्तो होस्

Hari prashad bhattraiहरिप्रसाद भटट्राई


नेपाली काँग्रेसको सम्पन्न महाधिवेशनसँगै गठन भएको पार्टी केन्द्रीय नयाँ नेतृत्वका बीच यतिखेर धेरैको आशा र कौतुहलता पलाएको छ । अब नयाँ नेतृत्वले मनोनित गर्ने पार्टी पदाधिकारी र सदस्यको छनोट तथा पार्टीलाई पूर्णता दिने कार्यले नै पार्टीको कार्यदिशालाई डो¥याउने हुँदा पार्टी नेता तथा कार्यकर्ता लगायत सम्बद्ध सबैमा त्यो आशा एवं कौतुहलता निम्ताएको हो । यससँगै पार्टीको नयाँ नेतृत्वका सामु यतिखेर यी आम आशा, भरोसा, विश्वाश र कौतुहलतालाई समन्वका साथ पूरा गर्न चुनौतीसँगै अवसरसमेत एकैसाथ उनिएर आएका छन् । जसको वस्तुपरक ढङ्गले यी चुनौतीलाई सामना गर्दै जानु पार्टी नेतृत्वका निम्ति केही हम्मे समेत हुने करालाई नकार्न सकिँदैन । हुने विरुवाको चिल्लो पात भनिएझैँ नयाँ पार्टी नेतृत्वले अब यी विषयमा गम्भीररूपले ध्यान दिई सुरुमै त्यस किसिमको पहलकदमी लिनु जरुरी छ ।
पार्टी नयाँ नेतृत्वको कुरा गर्दा समग्रमा पार्टी केन्द्रीय समितिलाई लिनुपर्ने हुन्छ तर सो समितिलाई लगाम दिने एवं हाँक्ने काम पार्टी सभापतिले नै हो । विशेषगरी पार्टी सभापति शेरबहादुर देउवाले नै यी सबै कुराको ख्याल राख्दै अगाडि बढनु जरुरी छ । पार्टी सहीरूपले चल्नसकेन भने त्यसको अपजस विशेषगरी सभापतिप्रति नै जान्छ । समयमै निर्णय गर्ने, सकभर विवादरहित हिसाबले काम गर्ने, पार्टी सञ्चालन तथा त्यसको उचित व्यवस्थापन हुने गरी पार्टीलाई अगाडि बढाउने सुजबुझ् सभापति देउवाले अपनाउनैपर्छ । पार्टीभित्र र बाहिर विभिन्न किसिमका मनोनयन, नियुक्ति तथा विभिन्न जिम्मेवारी दिनुपर्ने तथा सुम्पिनुपर्ने अवस्था आएमा आफ्ना मान्छे एवं पार्टी नेताबाट दबाब आउने र त्यसकै आधारमा काम गरिए पार्टी नेतृत्व आलोचनाको घेराबन्दीमा पर्ने अवस्था आइलाग्छ । यस अवस्थाबाट बच्न, बचाउनु पार्टी सभापतिको मूल कर्तव्य भएको कुरालाई सभापति देउवाले अहिलेदेखि सजग, सचेत हुनु बुद्धिमता हुन्छ ।
पार्टीलाई एकताबद्ध बनाएर लैजाने मुख्य दायित्व पार्टीमा नयाँ नेतृत्व लिएकै कारण देउवामाथि नै छ । त्यसमा सघाउने कर्तव्य अन्य पदाधिकारी तथा उहाँका विश्वासपात्रको हो, जुन भूमिका सम्बद्ध सबैले निभाउनु जरुरी छ । एक्लो प्रयासले मात्र पार्टी सहीरूपले चल्न, चलाउन सकिँदैन । त्यसमाथि मुलुककै ठूलो एवं पुरानो पार्टी भएको नाताले यसकाप्रति मुलुकवासीको ठूलो आशा, भरोसा छ । त्यस्तै पार्टी सभापतिले पनि सम्बद्ध नेता तथा कार्यकर्ताबाट आएका सुझाव, गुनासा आदि लिने, सुन्ने गरेर सहयोग पाउने वातावरणको निर्माण गर्न पनि त्यत्तिकै खाँचो छ । यस कुरामा सभापति देउवा विशेष सजग हुनु आवश्यक छ ।
पार्टी सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाउने उद्धोष गर्दै आउनुभएको छ, जुन अत्यन्त सकारात्मक छ । यति मात्र होइन, सभापति देउवाले त्यसको सङ्केत पनि दिई सक्नुभएको कुरा उहाँले पार्टी केन्द्रीय समितिमा पार्टीको महाधिवेशनका क्रममा निर्वाचनमा समकक्षी पदलगायत पदाधिकारीमा उठेर सफल हुन नसकेका लगायतलाई मनोनित गरेर एकताको सूत्र उन्न लागेको बुझ्न सकिन्छ । अब यही हिसाबले मनोनित गर्नुपर्ने पार्टीको उपसभापति र महामन्त्री एक एक जना विलम्ब नगरी मनोनीत गर्नेतर्फ उहाँँ जुट्नु हुनेमा कुनै सन्देह छैन । यो अपेक्षा सबैले राखेका छन् तर यतिखेर पार्टीको संसदीय दलको नेता चुन्नुपर्ने पहिलो आवश्यकता छ । यो विषयमा केही समय लाग्ने हुँदा संसदीय दलको नेता पहिले चुन्नु नै पार्टीको अबको पहिलो दायित्व हो । त्यसै कारण पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चुन्नलाई निर्वाचन समितिसमेत गठन गरिसकेको छ । सम्भवतः यसको टुङ्गो लागे लगत्तै पार्टीलाई पूर्णता दिने काम हुनेछ । सङ्गठन विस्तारको काम पनि सँगसँगै अगाडि बढ्ने छ ।
यतिखेर यस नेपाली काँगे्रस पार्टीको संसदीय दलको नेता पद खाली छ । मुलुकका अनगिन्ती जल्दाबल्दा समस्या थातिरहेका छन् । मधेस आन्दोलनले निकाश नपाइसकेको अवस्था छ । यस बाहेक जारी भएको नयाँ गणतन्त्रात्मक लोकतान्त्रिक संविधानको कार्यान्वयन मुलुककै मुख्य कार्यदिशा भएको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दलसमेत भएको नाताले संसदीय दलको नेता धैरै समय रिक्त रहनु राम्रो कुरा होइन । जसको यथाशीघ्र पूूर्ति हुनु जरुरी छ । अब किन्चित ढिलाइ नगरी संसदीय दलको नेता चुन्नु नै पार्टीको पहिलो प्राथमिकताको विषय हो । जुन यतिबेला कार्यान्वयनको कार्यसूचीमा प्रवेश पाइसकेको छ ।
पार्टी विधान अनुसार अबको नयाँ नेतृत्वले अब पार्टीका विभिन्न विभाग, समिति तथा उपसमितिको पूर्ति गर्नुपर्ने छ । यो दायित्व पूरा गर्नु एवं बेलैमा समेत पूर्ति गर्नु समग्रमा केन्द्रीय कार्य समितिको हो तर मुख्य दायित्व भने केन्द्रीय नेतृत्व हाक्ने पार्टी सभापतिकै भएकाले यसमा उहाँ विशेष चनाखो हुनु जरुरी छ । किनकि विगतमा यस सन्दर्भमा अनगिन्ती त्रुटीसँगै विलम्बको स्थिति पार्टीले व्यहोरेको जो कोहीले अनुभव गरेको विषय हो । यहाँसम्म कि कतिपय रिक्त पद त पार्टीको पूरा कार्यकालसम्म पनि पूर्ति गरिएन । अब त्यसो गरिनु हुँदैन । त्यो भूल दोहो¥याइनु हुँदैन । किनकि यस्तो प्रवृत्तिका काुरण पार्टीमा सिस्टम नै हराएको छ । योगदान, मूल्याङ्कन भन्ने कुरा कोरा कागज जस्तै बन्दै गएको छ ।
कुरा नचुवाई एवं नढाटिकन भन्ने हो भने अर्थात् पार्टीको तीतो अवस्था पोख्ने हो भने यतिखेरसम्म आइपुग्दा पार्टीभित्रको सिस्टम खोज्न अब बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । यसैकारण पार्टी सङ्गठन विस्तार हुनसकेको छैन । जे जति हात लागेको छ, त्यो सबै धेरै अघिदेखिको विगतको ब्याज हो । जो नेताहरूले यतिखेरसम्म असुली सक्नुभएको छ । त्यसैले गल्ती आफ्नो मान्छे होइन, हाम्रो र राम्रो मान्छे भनेर जिम्मेवारी सुम्पिनुपर्छ । यसो गरिए मात्रै पार्टी एक निश्चित प्रणालीबाट चल्छ । प्रणालीले सङ्गठनलाई दीगो, चुस्त बनाउने मात्र होइन नेताहरूलाई नै चलायमान बनाउँन सघाउ पु¥याउँछ । योगदान, क्षमता र मूल्याङ्कनको आधारमा सुम्पिने, दिइने जिम्मेवारी एवं नेता कार्यकर्तालाई चलायमान बनाउने प्रणाली नै पार्टीको मुख्य कडी हो । जो पार्टीमा धेरै वर्ष अघिदेखि बेवास्ता गरिँदै आएको धेरैको अनुभाव मात्र होइन गुनासै गुनासाका चाँग लाग्दै आएको अवस्था छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना