• ६ चैत २०८०, मङ्गलबार

‘घिया त्यार हो’ अथवा पौडी खेल्ने चाड मनाइयाे

blog

सल्यानमा लोपोन्मुख खेलमा रमाउँदै युवा । तस्विर– प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, भदौ २ गते । बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले भेल खेल्ने चाड मनाएका छन् । यस आसपासका क्षेत्रमा भदौ १ गतेलाई भेल खेल्ने चाड मनाइन्छ । 

देवस्थलको बनगाड खोलाको मोडदेखि अम्रासम्म तीन किलोमीटर पौडी खेलेर अम्राका १५/२० जना युवाले पौडी खेलेर ‘घिया त्यार हो’ अथवा पौडी खेल्ने चाड मनाएका हुन् । स्थानीय दोर्ण ऐरीले यहाँ हरेक वर्ष सधैँका वर्ष जसरी यस वर्ष पनि मनाएको बताउनुभयो । उहाँका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइँदै आएको छ । 

भेल खेल्ने पहिले सल्यानको नाम्रा, घटागाउ बुरेली र अम्रा र सुर्खेतको राकम, ठिग्नी, घोरेरीमा खेल्ने गर्दछन् । पछिल्नो समय भेल खेल लोप हुँदै गएको र यसको संरक्षणमा कसैको चासो गएको छैन । वनगाड कुपिण्डे नगरपालिका नाम्राका युवाले भने हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुइँ छोड्ने भनेर युवाले भेल खेल्ने पर्व मनाउने गरेका हुन् । 

भदौ १ गतेका दिने युवा भेल खेल्ने र महिला तथा बालबालिका जङ्गल पुगेर पङ्गैको ( पिङ्ग)को लागि कैयार(खर) काटेर ल्याउने चलन छ । कोही जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पङ्गै खेलेर रमाइरहेका थिए । 

जङ्गलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा डोरी बाटेर पङ्गै निर्माण गर्ने बताइन्छ । अम्राका स्थानीय वृद्धका अनुसार पहिले टाढाटाढाबाट धेरै गाउँका मानिसहरुले भेरीमा भेल खेल्ने आउने गरेको भए पनि अहिले स्थानीय अम्राका युवाले मात्र वर्षाको भेलमा पौडी खेल्ने गरेका छन् ।

स्थानीय नरेश एरीले भाद्र संक्रान्तिका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको बताउनुभयो ।  साहित्यकार वीरेन्द्र शाहीले भेल खेल्ने पर्व साहसिक खेल भएको र प्रकृतिसँगको सङ्घर्षबाट प्राप्त ज्ञानका रुपको प्रयोग भएको बताउनुभयोा । उहाँका अनुसार यो खेल सल्यानमा मात्र छ । एक दिन भए पनि जमिन छोड्नुपर्छ मान्यतामा यो खेल जोडिएको छ ।