• ६ चैत २०८०, मङ्गलबार

कलिंग साहित्य महोत्सव हुने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २ गते । भारतमा रहेको प्रतिष्ठित साहित्य संस्था ‘कलिंगा साहित्य महोत्सव’ को पहिलो अन्तर्राष्ट्रिय संस्करण काठमाडाैंमा हुने भएको छ । आगामी असोज २९–३० गतेसम्म आयोजना हुने दुई दिवसीय महोत्वसको नेपाल संयोजन राष्ट्रिका साहित्य प्रतिष्ठानले गर्नेछ । 

ओडिसाको राजधानी भुवनेश्वरमा विगत १० वर्षदेखि मनाउँदै आएको उक्त महोत्सव भारतकै प्रमुख साहित्यिक महामेला हुँदै आएको नेपाल संयोजक तथा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले बताउनुभयो । नेपालको अनलाइन पत्रिका हिमालयन डायरी र राष्ट्रिका साहित्य प्रतिष्ठानको सहकार्यमा फेस्टिभल गर्न लागिएको हो ।

अध्यक्ष ऋषभदेव घिमिरेकाअनुसार कलिंग साहित्य महोत्सवका संस्थापक निर्देशक रश्मी रञ्जन परिडाको परिकल्पना र संयोजनमा पहिलोपटक काठमाडौंमा महोत्सव आयोजना गर्न लागिएको हो ।  

महोत्सवमा नेपालका करिव ७० र भारतका ३० जना साहित्य, कला र संस्कति  क्षेत्रका मूर्धन्यका वक्ताहरूको सहभागिता रहने छ । महोत्सवमा ‘नेपालको कला, संस्कृति र साहित्य’ छलफल र बहसको मुख्य विषय रहने छ । 

महोत्सवले  नेपाल र भारतबीचको साहित्यिक, संस्कृतिक, धार्मिक गतिविधिलाई अझ मजबुत बनाउदै दुवै देशका लेखक तथा सर्जकहरूबिचको सम्बन्ध विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ । 

महोत्सवमा नेपालका प्रसिद्ध संस्कृतिविद्व सत्यमोहन जोशी, प्रसिद्ध संस्कृतिविद्व तथा नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति डा. जगमान गुरुङ, वरिष्ठ समालोचक डा. वासुदेव त्रिपाठी, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ कथाकार माया ठकुरी, वरिष्ठ कथाकार, हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार डा.अभि सुवेदी, वरिष्ठ नाटककार, अशेष मल्ल, वरिष्ठ कवि तथा गीतकार  वसन्त चौधरीलगायतको सहभागिता रहने छ । 

यसैगरी, भारतका प्रसिद्ध साहित्यकारहरु रञ्जित राय लेखक तथा भुतपूर्व राजदुत, गीताञ्जली श्री (इन्टरनेशनल बुकर अवार्ड विजेता) अशोक बाजपायी वरिष्ठ साहित्यकार, अरुण कमल वरिष्ठ साहित्यकार, मृदुला गार्ग वरिष्ठ साहित्यकार, समीर ( प्रसिद्ध गीतकार), मालिनी अवस्थी यतिसकुमार, आसुतोष राणा, दिप्ती नवललगायतको सहभागिता रहने महोत्सवको नेपाल निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो । 

निर्देशक निरौलाका अनुसार महोत्सव सफल बनाउन विभिन्न उपसमिति बनाइएको छ ।