वेवास्तामा मानसिक स्वास्थ्य

saligram nepalशालिग्राम नेपाल


हतोत्साह, निराशा, तनाव, चिन्ता र यस्तै मानसिक स्वास्थ्यसम्बन्धी समस्याले विश्वमा नयाँ समस्या आउनथालेका छन् । ठूला सरुवा रोगहरूपछि मानसिक स्वास्थ्यसम्बन्धी रोगबाट विश्वको ठूलो जनसङ्ख्या प्रभावित भएको अनुमान गरिएको छ तर यस्ता समस्याको न्यूनीकरणमा विश्वव्यापी प्रयास हुन सकेको छैन ।
डिप्रेशन, गम्भीर मानसिक समस्या, पिर चिन्ता, टोलाउने, एकोहोरो हुने, एक्लै बस्न मनगर्ने जस्ता समस्याले मानिसलाई प्रभाव पारेको छ । यो समस्याबाट धनी गरीब सबै देशका मानिस प्रभावित छन् । विभिन्न सरुवा रोगविरुद्ध लडिरहेका विज्ञहरूलाई यस समस्यालाई कसरी कम सकिन्छ भन्ने चुनौती थपिएको छ । विकसित देशमा मानसिक रोग कम गर्नका लागि केही पहल भए पनि नेपालमा भने योजनाबद्धरूपमा काम भएको छैन ।
नेपालमा कति सङ्ख्यामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्ति छन् भन्ने यकिन तथ्याङ्क छैन । कूल जनसङ्ख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै रूपमा मानसिक समस्या छ भन्ने अनुमान गरिएको छ । मानसिक स्वास्थ्यका क्षेत्रमा केही गैरसरकारी संस्थाले अनुसन्धान गरे पनि सरकारी निकायबाट बृहतरूपमा अनुसन्धान भएको पाइँदैन । मानसिक समस्या भएका व्यक्तिको सङ्ख्या वृद्धि भइरहँदा यसको रोकथाम तथा उपचारका लागि सरकारी तहबाट ठोस काम हुन जरुरी देखिएको छ ।
मानसिक अस्पतालमा हुने खर्च, त्यहाँ काम गर्ने कर्मचारी तथा उपचारका लागि आउने विरामीको व्यवस्थापनका लागि छुट्याइएको बजेटबाहेक रोग निदान गर्नको लागि स्थानीय तहबाटै उपचारका कार्यक्रम छैनन् । सरकारले स्वास्थ्य क्षेत्रको कूल बजेटको एक प्रतिशत पनि मानसिक स्वास्थ्यसम्बन्धी शीर्षकमा छुट्याएको देखिँदैन । झण्डै तीन करोड जनसङ्ख्या भएको नेपालमा मानसिक स्वास्थ्यका लागि ललितपुरस्थित मानसिक स्वास्थ्य उपचार अस्पतालमा मात्रै बजेट छुट्याउने गरिएको छ तर यो रकम मानसिक स्वास्थ्य उपचार गर्न नीति निर्माण तथा कार्यक्रमको लागि चाहिँ होइन ।
चिकित्सकहरूका अनुसार अत्याधिक रक्सी सेवन, छारे रोग, गम्भीर प्रकृतिका मानसिक समस्या, डिप्रेशन, एन्जाइटिक, एकोहोरो हुने, चिन्तामा डुबिरहने, टोलाइरहने, आत्महत्या गर्न मन लाग्ने मानसिक समस्याका लक्षण हुन् । यस्ता समस्या भोग्नेहरूको सङ्ख्या समाजमा वृद्धि भइराखेको छ । गरिबी, अशिक्षा, पिछडिएका वर्ग, कमजोर आर्थिक अवस्था भएका, सम्पन्न वर्ग सबैमा यस्ता समस्या देखिन्छ । ती सबै विरामी आफूलाई मानसिक समस्या भएको छ भन्ने कुरा विश्वास गर्न सक्दैन । खुलेर उपचार गर्न आउन सकेको पनि पाइँदैन । मानसिक समस्या छ भन्ने स्वीकार्न नचाहने तर दैनिक आफ्नो काममा बाधा व्यवधान पारेपछि उपचारको लागि भौतारिने गर्छन् ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २००३ को तथ्याङ्कमा ४५ करोड मानिस विश्वमा कुनै न कुनै मानसिक समस्याका विरामी भएको उल्लेख छ । एक लाख जनसङ्ख्यामा १५ जना व्यक्ति विश्वमा आत्महत्याको कारणले मर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । त्यस्तैगरी प्रत्येक ४० सेकेन्डमा एक व्यक्ति आत्महत्याको कारण मृत्यु हुने गरेको उल्लेख छ । अकालमा आफ्नो ज्यान फाल्नको लागि गर्ने क्रियाकलाप पनि मानसिक समस्याको एउटा रूप हो । मानिस किन आत्महत्या गर्न खोज्छन्, यी समस्या हटाउनको लागि के गर्न सकिन्छ, मानसिक स्वास्थ्यलाई ध्यान दिन के गर्न सकिन्छ, समस्या भएका व्यक्तिको लक्षण के कस्तो हुन्छ, कति समयमा उपचार गराउनुपर्छ भन्ने लगायतको कार्यक्रम सरकारी निकायबाट हुन नसक्दा नेपालमा पनि मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिहरूको सङ्ख्या वृद्धि भएको पाइन्छ ।
मानसिक स्वास्थ्य सम्बन्धी उपचारको विषयमा विश्व स्वास्थ्य सङ्गठनको विवरणलाई हेर्दा पाँच जना विरामीमध्ये एक जनाले मात्र उपचार पाएको देखिन्छ । नेपालमा मानसिक समस्या भएका व्यक्तिहरूमध्ये के कस्तो सङ्ख्यामा उपचार पाएका छन् भन्ने सम्बन्धी केही सङ्घ संस्थाले अध्ययन गरे पनि कति सङ्ख्यामा विरामी छन्, कति व्यक्तिले उपचार पाएका छन् भन्ने विस्तृत जानकारी अहिले भई नसकेको यसै क्षेत्रमा अनुसन्धान गर्दै आइरहेको टीपीओ नेपालका नगेन्द्रप्रसाद लुइटेलको भनाइ छ ।
मानसिक स्वास्थ्य समस्या के कति कारणले हुन्छ भन्ने यकिन नभए पनि कुनै घटनाक्रमको कारण तथा वंशाणुगतको असर हुनसक्ने मानिन्छ । कुनै पनि व्यक्तिगत घटना, आगलागी, बाढी पहिरो, भूकम्प, दुर्घटना, महामारी रोगको भय, अभाव, मनोबलको कमी यो समस्या निम्त्याउने विषय मानिन्छ । आपतकालीन अवस्थामा मानिसमा हुने चिन्ता, डर, भय, तनावलाई व्यवस्थापन गर्न नसक्दा पनि विस्तारै समस्याले सताउने गर्छ । यसको लागि आपतकालीन अवस्थामा मानसिक स्वास्थ्य सम्बन्धी सेवा सरकारी निकायबाट गर्ने कार्यक्रम ल्याउनु पर्छ ।
गएको वैशाख महिनामा आएको भूकम्पको कारण मानिसमा डर चिन्ता, तनावले उच्च रूप लिएर मानसिक स्वास्थ्य समस्याको रूप लिएको थियो तर भूकम्पबाट तनावमा परेकाहरूलाई मनोविमर्श सेवा काठमाडौँमा रहेका केही मानसिक स्वास्थ्य सम्बन्धी क्षेत्रमा काम गर्ने सङ्घ संस्था, पाटन अस्पतालको एउटा सानो टोलीले केही स्थानमा सेवा दिए पनि सरकारी तहबाटै सबै क्षेत्रमा प्रभावकारी रूपमा सेवा दिएको देखिएन ।
नेपालमा सन् १९९७ मा मानसिक स्वास्थ्य सम्बन्धी नीति बने पनि त्यसको कार्यान्वयन भएको देखिँदैन । स्वास्थ्य मन्त्रालयमा मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिने स्रोत व्यक्ति नै नभएको अवस्थाले नीतिको कार्यान्वयन कति भएको छ भन्ने प्रस्ट देख्न सकिन्छ । मानसिक स्वास्थ्य सम्बन्धी नेपालमा भएको प्रयासको इतिहासलाई हेर्दा सन् १९६१ मा वीर अस्पतालमा ओपीडीबाट सेवा सुरु भएको पाउन सकिन्छ । त्यस्तै गरी सन् १९७२ मा आर्मी अस्पतालमा सेवा सुरु, सन् १९८४ मा २५ शै्याको मानसिक स्वास्थ्य सेवा वीर अस्पतालमा, सन् १९८५ मा ललितपुरको लगनखेलमा मानसिक अस्पताल स्थापना भएको देखिन्छ ।
७५ वटा जिल्लामध्ये चितवनको भरतपुर अस्पताल, विराटनगरको अस्पताल, वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल र पोखराको गण्डकी अस्पतालमा मात्रै मानसिक सेवा सञ्चालनमा छन् तर ती अस्पतालमा नाम मात्रको सेवा छ । देशभरमा जम्मा चारवटा अस्पतालमा सामान्य सेवा छ भने विरामीले कसरी राम्रो उपचार पाउँछन् ? मानसिक स्वास्थ्य समस्या भएर आएका विरामीलाई राख्ने सुरक्षित कक्ष, औषधि, पर्याप्त चिकित्सक र रोग सम्बन्धी जनचेतना कार्यक्रमको अभावलगायतको कारण गर्दा यस विषयमा गम्भीर ध्यान नगएको प्रस्ट देखिएको छ ।
रोगीको सङ्ख्याको अनुपातमा चिकित्सकको सङ्ख्या ज्यादै कमी छ । प्राप्त जानकारी अनुसार मानसिक स्वास्थ्य चिकित्सकको सङ्ख्या नेपालमा करिब ७० जना छन् । तीमध्ये अधिकांश राजधानी काठमाडौँमा बस्ने भएको कारण पनि जिल्लामा समस्या भएका व्यक्ति उपचारको लागि काडमाडौँसम्म जानुपर्ने बाध्यता छ । यो अवस्था हटाउन ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामार्फत मानसिक स्वास्थ्य सेवा प्रदान गर्न सकेमा पीडितले राहत पाउन सक्नेछन् । समस्या भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण, समाजमा पुनःएकीकरण, औषधि खाए निको हुन्छ भन्ने जानकारी दिने कार्यक्रम गर्न सरकारी निकायले ढिला गर्नु हुँदैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना