बाघ संरक्षणका नायक भदै

bijay raj paudelविजयराज पौड्याल


गत मार्च ३ अर्थात् फागुन २० गते विश्व वन्यजन्तु दिवसका दिन बर्दिया जिल्लाको खाता जैविक मार्गमा रहेको संरक्षित वन क्षेत्र वरपर बाघ संरक्षणका सवाल र समाधानका उपायबारे खोजबिन र अध्ययन गर्ने यात्राको क्रममा बाघ संरक्षणका नायक भदै थारूसँग भलाकुसरी गर्ने मौका मिल्यो । बर्दिया राष्ट्रिय निकुञ्ज पाटे बाघको बासस्थान हो ।
५२ वर्षीय भदै थारू यसै जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज नजिकैको ढोढरी– ९ खाता निवासी । पङ्क्तिकारसँगको भेटमा भदैले भन्नुभयो, “१२ वर्षपहिले जब म गौरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा निर्विरोध निर्वाचित भएँ, सो लगत्तै वि.सं. २०६० पुस २२ गते खरखडाइ खोलेको बेला वन अनुगमन गर्न गएकै बेला पाटे बाघले मलाई आक्रमण गरेको थियो” ।
कालो चश्मा लगाएका जोशिला युवाको कुरा सुनेर थप प्रश्न राखेँ– अनि के भो भदैजी ? । उहाँले थप्नुभयो “सुरुमा नै पाटे बाघले आँखा कोपरिहाल्यो नि, म घोप्टो परेँ, चिच्याएँ, वनमा खरखडाइ लिन आएका गाँउले भागिहाले, कसले उद्धार गर्ने, मेरो पालो कुइनाले हिर्काएँ बाघलाई, अनि बाघ मलाई लछार पछार पारेर झाडीतिर लाग्यो, त्यतिन्जेलमा मेरो एउटा आँखा नराम्ररी दुखिरहेको थियो” । उपचार गर्ने क्रममा फेरि गाउँका साथीले उहाँलाई नेपालगञ्जसम्म लगेछन्, जब उहाँ होसमा आउनुभयो, उहाँको एउटा आँखा गुमिसकेको थियो र उहाँलाई सञ्चो हुन एक महिना लागेको रहेछ । वन्यजन्तु संरक्षणमा लाग्नुअघि १३ वर्ष कमैया रहनुभएका भदै बाघको आक्रमणबाट देब्रे आँखा गुमाएर पनि बाघ संरक्षण मै लागिरहनु भएको छ नि
त ? भन्ने मेरा जिज्ञासामा उहाँले भन्नुभयो, “बाघप्रति मेरो वैरभाव छैन, गुनासो छैन” । उहाँ थप्छन्, ‘बाघको आक्रमणपछि मात्रै मलाई संसारभरका विभिन्न मानिसले भदै थारू कहाँ छन् ? भन्दै आएर भेटे, मैले पनि धेरै मानिससँग भेट्ने मौका पाएँ, यो मेरो भाग्य हो’ ।
भदै चोरी तस्करी तथा अवैध व्यापारविरुद्ध ईकाइ नै गठन गरी वन्यजन्तु संरक्षणमा लाग्नुभएको छ । निकुञ्जबाहिर रहेका राष्ट्रिय वनलाई गौरी सामुदायिक वनलगायतका सामुदायिक वनका रूपमा हस्तान्तरण भई खाता संरक्षित वनका रूपमा व्यवस्थापन भइरहेको छ ।
भारतीय सीमावर्ती क्षेत्रमा रहेको यो वनसँग जोडिएका कारण वन्यजन्तुको कोरिडोरका रूपमा चिनिन्छ । भलाकुसारीमा उहाँ भन्दै हुनुहुन्थ्यो, “म वन जङ्गलको गस्तीमा गइरहन्छु । गत वैशाखमा झण्डै बाघ र हात्तीले आक्रमण गरेका ! यिनीहरूले लखेट्दा पनि म त रमाउँछु । ’’ खाता जैविक मार्गमा वन जङ्गल मासेर वनभोज स्थल बनाउने बर्दिया जिल्ला विकास समितिका पदाधिकारीले राखेको प्रस्ताव उहाँले ठाडै अस्वीकार गर्नुभयो । अर्थात् वन जङ्गल अतिक्रमण गर्ने र वन्यजन्तुको बासस्थानमा खलल पार्ने जो कोही उपर पनि भदै थारू कडाइका साथ प्रतिवाद गर्नुहुने रहेछ ।
वन र वन्यजन्तु संरक्षणमा भदै थारू बिहानदेखि साँझसम्म तल्लिन रहनुहुन्छ । उहाँसित नेतृत्व गर्ने कला, काम गर्ने हिम्मत र आँटका साथै इमानदारी र लगनशीलता पनि रहेछ । उहाँसँग समन्वय गर्ने क्षमता र कार्यशैली पनि पारदर्शी रहेको छ । त्यसैले बाघ संरक्षणका लागि उहाँ नायक नै हुनुहुन्छ । त्यसैले उहाँलाई भेट्न देश र विदेशबाट संरक्षणकर्मी आइरहेका पाइन्छ । को को आए त तपाईंलाई भेट्न ? उहाँले भन्नुभयो, “राजेश हमाल त आइरहन्छन्, राजेशले त भेट्ने बित्तिकै के छ हो हालखबर भन्छन् । ”
भदैको उत्साह, जोश जाँगर निकै रहेको पाइन्छ । सबभन्दा चाखलाग्दो कुरो त प्रसिद्ध हलिउड अभिनेता लियोनाद्रो डिक्याप्रियोले चार वर्षअघि भदैलाई भेटेर अङ्गालो मार्दै “यु आर गे्रट एण्ड यु आर हिरो अफ सेभ टाइगर” (तपाई महान् र बाघ बचाउको हिरो हुनुहुन्छ) भनेको उहाँ कहिल्यै भुल्नुहुन्न । उहाँ भन्दै हुनुहुन्थ्यो, “हिरोइनहरू त कत्तिले अङ्गालो नै मारे !”
बाघ संरक्षण उपायबारे उहाँले भन्नुभयो, “नियमितरूपले स्थानीयस्तरमा बैठक हुनुपर्छ । ’’ बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग मात्र होइन बाँकी रहेको वनका उपभोक्ता समूहमा पनि बाघ र वन्यजन्तु संरक्षणको महŒव बुझाउनुपर्ने उहाँको ठम्याइ छ । उहाँ थप्नुहुन्छ, “बाघ संरक्षणको पहिलो शर्त जनचेतना नै हो, जस्तै, सडक नाटक, तालिम, गोष्ठि, विद्यालयमा इको क्लब गठन र परिचालन आदि । ”
वन्यजन्तु चोरी तस्करी तथा अवैध व्यापार नियन्त्रण दल परिचालनलाई निरन्तर दिनुपर्ने उहाँको भनाइ छ । तत्काल अर्थात् आरआरटी परिचालन र उनीहरूलाई तालिम र सामग्री प्रदान गर्न प्राथमिकता दिन जरुरी छ । साथै राज्य र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले स्थानीयका लागि आय आर्जनका क्रियाकलाप पनि सँगसँगै सञ्चालन गर्नुपर्ने भदैको अनुभव छ ।
भदै थारू भन्दै हुनुहुन्थ्यो, “चोरलाई साँचो भनेझैँ चरा, चित्तल मार्नेलाई वन्यजन्तु चोरी तस्करी तथा अवैध व्यापार नियन्त्रण दलमा समावेश गर्नाले संरक्षणमा टेवा पुग्छ । ’’ गस्ती परिचालन, मोबाइलको सुविधा, स्वीपीङ अपरेसन, गाँउमा आउने नयाँ व्यक्ति र सवारी साधनको निगरानी, मध्यवर्ती क्षेत्र विस्तार, वन्यजन्तु चोरी तस्करी तथा अवैध व्यापारमा संलग्न बञ्जारा समुदायको निगरानी, सरकारी निकायबीचकै समन्वय जस्ता कार्य पनि बाघ संरक्षणमा सहयोगी हुने बाघ संरक्षणका नायक भदै थारूको भनाइ छ ।
बाघ संरक्षण गर्नेभन्दा कुर्सीमा बस्ने नै हप्तै पिच्छे विदेश जाने गरेकोमा उहाँको गुनासो थियो । ‘‘बाघको आक्रमणबाट आँखा गुमाए पनि मैले बाघ र प्रकृति संरक्षणमा योगदान दिएकोमा देशभित्रबाट सम्मान पाएँ । अब एकपटक पाटे बाघबारे विदेशमा प्रचार गर्न र विदेशको वन्यजन्तु संरक्षणका क्रियाकलाप हेर्ने र बुझ्ने मौका सरकारले मिलाइदिए म आभारी हुने थिएँ । ”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना