• ६ चैत २०८०, मङ्गलबार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

blog

फाइल फाेटाे

काठमाडौं, भदौ १ गते । सत्ता गठबन्धनको कार्यदलको बैठक बुधबार दिउँसो ४ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनेको गठबन्धनको कार्यदलको बैठकमा सिट बाँडफाँटकाे मापदण्ड बनाउने विषयमा ठोस छलफल हुने जनाइएको छ । 

आज बस्ने बैठकमा यी लगायतका विषयमा थप छलफल हुने कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुष्णप्रसाद सिटाैला संयोजक रहनुभएको ११ सदस्यीय कार्यदलमा कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका देव गुरुङ, वर्षामन पुन, एकीकृत समाजवादीका डा. वेदुराम भुषाल र प्रमेश हमाल हुनुहुन्छ । 

यसैगरी, जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ । 

यसअघि साउन ३० गते बसेको कार्यदलको बैठकमा सिट बाँडफाँट सम्बन्धमा २०७४ सालको समानुपातिक र २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणामलाई आधार मान्ने सहमति जुटेको थियो ।