नागरिक लगानी कोष समाजवादी कार्यक्रम

debendra raj pandeडा. देवेन्द्रराज पाण्डे

 

 

पञ्चायती व्यवस्थासित धेरैको व्यापक असन्तुष्टि थियो । म त अर्थसचिव छोडेरै हिँडेको मानिस परँे । मेरो पनि सन्तुष्टि हुने कुरा भएन । विदेशी सहयोगमै आधारित भएर देश चल्दै थियो । सहयोगका व्यापक दुरूपयोग पनि थियो । म आत्मनिर्भरताको कुरा गर्ने मानिस, विदेशी सहयोगमा निर्भर हुँदै गएको कुराको मैले विरोध गरेँ । सहयोगको दुरूपयोगले भ्रष्टाचार बढायो । पञ्चायतविरुद्धको असन्तुष्टिले राजनीतिकरूपमा आन्दोलनको रूपमा लियो । आन्दोलन सफल भयो ।
छयालीस सालको परिवर्तनसँगै नयाँ सरकार बन्ने भयो । कृष्णप्रसाद भट्टराई  (किशुनजी) प्रधानमन्त्री बन्ने हुनुभयो । मलाई किशुनजी अर्थात् परिवर्तनको मुख्य शक्ति नेपाली काँगे्रसले अर्थमन्त्री बन्न प्रस्ताव ग¥यो । म नेपाली काँग्रेसको सदस्य त थिइनँ । ‘डेमोक्रयाट’ मात्रै थिएँ । अर्थमन्त्री बन्न अस्विकार गर्न सकिनँ । केही सोचेरै स्वीकार गरेँ । अन्तरिम सरकारको अर्थमन्त्री भएँ । एउटा शासन पद्धति वा व्यवस्था गएर अर्को व्यवस्था आएको थियो । काम गर्न सजिलो भने पक्कै थिएन । सामान्य मानिसको पनि महत्वकांक्षा बढेको थियो । परिस्थति बेग्लै थियो ।
अन्तरिम सरकारको मुख्य कार्यभार दुईवटा थिए । पहिलो नयाँ संविधान बनाउनु र अर्को त्यसै संविधान अनुरूप निर्वाचन गराउनु । अन्तरिम सरकारले ती दुईवटा काम सफलतापूर्ण सम्पन्न पनि भयो । प्रधानमन्त्री, मन्त्री सबैले कसैले केही माग गरे नयाँ सरकारले गर्नेछ भन्ने भनाइ हुन्थ्यो तर त्यसो भनेरमात्रै जनआकाङ्क्षा सम्बोधन हुनसक्ने कुरा थिएन । मलाई सुरुदेखि नै केही गर्नु थियो । परिकल्पनालाई साकार पार्नु थियो । आत्मनिर्भर अर्थतन्त्रका बिजारोपण गर्नु थियो । विदेशी सहयोग हटाउन सकिने त थिएन तर दीर्घकालमा न्यून गर्दै जाने बाटो खोज्नु थियो । देशभित्र वित्तीय साधनको पनि अभाव थियो । संरचना पनि थिएन । सीमित सरकारी बैङ्क थिए । निजी क्षेत्रका बैङ्क तथा वित्तीय क्षेत्र आउन खोज्दै थिए । अनुमतिका लागि मलाई पनि दबाब थियो तर मैले अध्ययन गरेपछि निर्वाचित सरकारले नीति बनाउने र त्यसै नीति अनुरूप निजी क्षेत्रका लागि बाटो खोज्नु राम्रो हुने ठानेँ । मैलै स्वीकृति दिइनँ । बरू अलि अलग बाटो रोजेँ ।
आत्मनिर्भरताका लागि देशभित्रै साधन र स्रोतको संरचना बनाउनुपर्ने थियो तर सजिलो थिएन । संरचना थिएनन् । त्यसै सन्दर्भमा बचत र लगानी गर्ने संस्थाको परिकल्पना गरियो । बचतबिना लगानी सम्भव हुँदैन । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नागरिकलाई बचतको बानी बसाउनु जरुरी थियो । देशभित्र बचतको अवस्था राम्रो थिएन । बचतमा वृद्धि नगरी लगानी सम्भव पनि हुने कुरा भएन । नागरिकलाई लगानीमा बानी बसाउन नागरिक लगानी कोष स्थापना गरिएको हो । नागरिकले बचत गरेको कुरा देशको विकासमा लगानी गर्ने उद्देश्य थियो । पछि त नागरिक लगानी कोष, कर्मचारी लगानी कोष जस्तो भयो तर त्यस्तो मात्र यसको उद्देश्य थिएन ।
पाँच प्रतिशत तलबबाट कोषमा कटाउने व्यवस्था पनि मेरै पालामा भयो । अहिले त कर्मचारीको बचत राम्रै (झण्डै ७० अर्ब रुपियाँ) भइरहेको सुनेको छु तर कर्मचारीबाट बचत सङ्कलन गर्ने मात्र यसको उद्देश्य होइन । यो नागरिकको माझमा लगेर व्यापक बचत सङ्कलन गर्दै त्यसलाई लगानी गरेर हाम्रो आफ्नै बलमा आर्थिक विकासको गति अगाडि बढाउने परिकल्पना गरी स्थापना भएको संस्था हो । हरेक तह र तप्काका नागरिक बचतमा सहभागी हुन सकून् भन्ने यो संस्थाको उद्देश्य थियो । आर्थिक गतिविधिमा सहभागी हुनेदेखि सर्वसाधारण सबै नागरिकलाई बचतसित जोड्ने उद्देश्य थियो । । त्यसरी सङ्कलन भएको बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने ध्येय हो । पुँजी बजारमा लगानीको परिकल्पना गरिए पनि त्यति बेला पुँजी बजारको विकास भएको थिएन । ठूलो पुँजी आवश्यक पर्ने उत्पादनमूलक परियोजनामा नागरिकको पुँजी लगानी गरी त्यसको बचतबाट नागरिकले प्रतिफल पनि पाउन सकून् भनेर नागरिक लगानी कोष स्थापना गरिएको हो ।
यो संस्थाको नाम नागरिक लगानी कोष हुनुमा पनि अलि बेग्लै प्रसङ्ग छ । जनता भन्ने शब्द धेरै प्रयोग हुन्थ्यो त्यति बेला । राणाहरू रैती, दुनियाँ, प्रजा यस्तै शब्द प्रयोग गर्थे तर जब हामी राज्य वा राष्ट्रको कुरा गछौँ भने त्यस अनुरूपको शब्द चयन जरुरी हुन्छ । राष्ट्र वा राज्यसित न नागरिकको सम्बन्ध हुन्छ । रैती, दुनियाँ, प्रजा शब्द त राम्रा शब्द थिएनन्, होइन पनि । ती शब्दका ठाउँमा जनता शब्द पनि प्रयोग गर्न थालियो ।
जनता पनि त्यति सम्मानयोग्य शब्द होइन । छयालीस सालले ल्याएको परिवर्तनपछि पनि जनता नै शब्द व्यापक प्रयोग हुन थाल्यो । जनता भनेको शब्द पनि धेरैलाई राम्रो लाग्थेन । मलाई पनि राम्रो लागेन । मेरा लागि त नागरिक शब्द प्रिय थियो । त्यसैले देशको आत्मनिर्भरताका लागि स्थापना भएको संस्थाको नाम नागरिकसित जोड्नु उचित हुने मेरो प्रस्ताव धेरैलाई राम्रो लाग्यो । त्यो संस्थाको नाम नागरिक लगानी कोष भयो ।
नागरिक लगानी कोषको अवधारणा समाजवादी कार्यक्रमको सुरुवात थियो । वैदेशिक सहयोगप्रति देश व्यापक निर्भर थियो त्यतिबेला । अहिले पनि निर्भरता कम त भएको छैन तर माथिल्लो तामाकोशी जस्ता ठूलो आयोजनामा देशभित्रैको पुँजीले बन्दै छ र त्यसमा नागरिक लगानी कोषको लगानी छ रे । त्यस्ता आयोजना पहिल्यै बन्नुपर्ने थियो । त्यस्तो ठूलो आयोजनाका लागि कोषले सेयर लगानी गरेको छ । ऋण पनि लगानी गरेको छ भन्ने सुन्दा खुुसी नै लाग्छ तर त्यतिमात्रै यसको उद्देश्य पक्कै होइन ।
वैदेशिक सहयोगका लागि निर्भरता एकैपटक हट्दैन । न्यूनीकरण भने गर्दै लैजान सकिन्छ तर यसका लागि देशभित्रै व्यापक साधन परिचालन हुन सक्नुपर्छ । वित्तीय साधन परिचालन हुन सक्नुपर्छ । त्यस्तो वित्तीय साधन बचतबाट मात्र प्राप्त गर्न सकिन्छ । राम्रो प्रतिफल दिन नसकी बचत परिचालन हुनसक्दैन । बचत सङ्कलनका लागि त प्रतिफल प्राप्त हुने खालका कल्याणकारी कार्यक्रम सञ्चालन जरुरी हुन्छ । त्यसलाई सम्बोधन गर्नकै लागि नागरिक लगानी कोष स्थापना भएको हो । नागरिक लगानी कोषलाई कर्मचारी लगानी कोष जस्तो बनाउनु हुँदैन ।
त्यसो त कर्मचारी पनि नागरिक नै हुन् तर आम नागरिकलाई कसरी समेट्न सकिन्छ भन्नेतर्फ लगानी कोष लाग्नुपर्छ । अहिले पनि देश आत्मनिर्भरतामा जानसकेको छैन । चालीस लाख युवा विदेशमा छन् । उनीहरूले पठाएको पैसामा देशको अर्थतन्त्र चलेको छ । बचत अहिले पनि कम नै छ । विदेशमा आर्जन गरेको आयलाई पनि बचतमा रूपान्तरण गरी त्यसबाट व्यापक लगानी जरुरी छ । कृषि, जलस्रोत र पर्यटनमा लगानी गरेर उत्पादन बढाउनु जरुरी छ । आय, उत्पादन र लगानी बढाउनु जरुरी छ ।
म अर्थमन्त्री हुँदा पनि म स्वतन्त्र बुद्धिजीवीका रूपमा अर्थमन्त्री भएको थिएँ । नेपाली नेपाली काँग्रेसको सदस्य थिएनँ । नेपाली काँग्रेस बी.पी. कोइरालाको विचारमा अगाडि बढेको पार्टी हो । अरू पार्टी पनि समाजवाद नै भन्छन् तर त्यस अनुरूपको अर्थतन्त्र बन्न सकेन । बैङ्क तथा वित्तीय संस्था व्यापक खुलेका छन् तर अहिले पनि देश परनिर्भर नै छ । देशभित्रैको बचत परिचालन र त्यसमा तमाम नागरिकको सहभागिता जरुरी छ । नागरिक लगानी कोषले त्यसदिशातिर काम गर्न सक्नुपर्छ ।
(गोरखापत्रका जुनारबाबु बस्नेतसँगको कुराकानीमा आधारित)

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना