ठेलाबाट कार, झुप्रोबाट महल


नवीनराज कुइँकेल, बेसीशहर, माघ १२ गते । ३७ बर्षीय गुणराज सिलवाल लमजुङको चर्चित सफल व्यवसायी मध्ये एक हुनुहुन्छ । केही बर्ष अघिसम्म ठेलामा तरकारी बेच्दै हिड्ने उहाँ अहिले एक दर्जन यूवालाई रोजगारी दिएर आफू कारमा सयर गर्ने हैसियतमा पुग्नुभएको छ ।
सुरुमा सागपात र मिठाइ बेच्दै अहिले कुखुरा पालेर फ्रेस हाउस चलाउँदै आउनुभएका सिलवालको सदरमुकाम बेसीशहरमा दुईवटा वटा पक्की घर छन् । दुई छोरालाई पोखराको बोर्डिङमा पढाउनुभएको छ । उहाँ जिल्लाको उदाहरणीय यूवा व्यवसायी हुनुहुन्छ । कुखुरा पालेर कारमा सयर गर्ने हैसियत एकैपटक बनेको भने होइन, दिनरातको परिश्रम जोडिएको छ । ‘कुनै दिन त दुई घन्टा पनि निदाइन, एउटा पाउरोटीको भरमा पनि छाक टारेँ’, सिलवालले भन्नुभयो, ‘दुःखपूर्ण अतीत सम्झिदा अहिलेको सफलता विश्वास गर्न आफैंलाई गाह्रो लाग्छ ।’
उहाँका मेहेनत र परिश्रमबाट सबै प्रभावित हुन्छन् । मेहेनत र परिक्षमबाट सफल भइने उदाहरण सिलवालले  दिएको लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश थापा बताउनुहुन्छ । हिजो केटाकेटीमा खेल्दादेखिका साथीहरु आज सिलवालको प्रगती देख्दा छक्क मात्र परेका छैनन, उहाँसँग सफलताको उपाय खोज्नपनि पुग्ने गरेका छन् ।
सडकबाट महलसम्म पुग्न सफल हुनुमा सिलवालको परिश्रम र लगाव मुख्य रहेको सिलवालका सानैदेखिका साथी पत्रकार मिलन शर्मा दनाई बताउनुहुन्छ । २०३४ सालमा गोर्खा छेपेटारमा जन्मनु भएका सिलवाल  सानैदेखि व्यवसामा रुची राख्नुहुन्थ्यो । जागिरे बाबुसँगै उहाँ लमजुङ आउनुभएको हो । बाबुको एक्लो कमाइले नपुग्ने भएपछि उयहाँ विद्यालय जाँदा पनि घरको फलफूल लगेर बेच्नुहुन्थ्यो । पछि पढाइ छाडेर मिठाइ व्यापार गर्न थाल्नुभयो । विभिन्न व्यवासय गर्दै कुखुराको मासु बेच्न थाल्नुभयो ।
जग्गा कारोबार गर्दा डुब्नुभएका उहाँलाई कुखुरा व्यवसायले नै उन्नति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जग्गा कारोबार गर्दा टाट पल्टिँए तर हरेस खाइनँ, पुनः कुखुरा व्यवसायमा फर्केर दिनरात यसैमा समर्पित गरेँ ।’ अहिले उहाँकै फ्रेस हाउसबाट जिल्लाका अधिकांश ठाउँमा मासु अण्डा र दाना सप्लाइ हुन्छ । उहाँको किराना पसल पनि छ ।  व्यवासयमा  श्रीमती सुशिलाको साथ छ । शुरुमा सानो कोठामा भकारी र स्याउला ओच्छयाएर शुरु भएको पसल अहिले ब्यवस्थित, सुविधा सम्पन्न र वाताबरण मैत्री बन्दै गएको छ । ब्यवसाय निकै चुनौतीपूर्ण र कष्टकर भएपनि सिलवालले जिललका थुप्रै किसानहरुलाई ब्यवसायमा लाग्न प्रेरणा दिने गर्नुभएको छ ।
 सिलवाल लमजुङ मासु व्यवसायी संघका अध्यक्ष, लमजुङ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लगायतका विभिन्न सहकारीमा आवद्ध हुनहुन्छ । अहिले उहाँसँग व्यवसायिक सल्लाह लिन आउने धेरै हुन्छन् । ‘म आफूले बुझे र जानेसम्म सल्लाह दिन्छु’, उहाँले भन्नुभयो ।
सिलवालले हुलाकी सप्लायर्स व्यवसाय सञ्चालन गरेको २५ बर्ष पुगेको छ । व्यवसाय सञ्चालनको रजत वर्षको अबसरमा तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गर्ने योजना सिलवालले बनाउनुभएको छ । यहि माघ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम राखिएको छ ।
३ दिनको अवधीमा ग्राहकहरुलाई दैनिक मासु, दाना तथा चल्ला खरीदमा अफर दिने, कुखुरा पालक किसानहरुलाई उपहार प्रदान, फर्ममा कार्यरत ५ जना कामदारको प्रतिब्यक्ति ५ लाखको बिमा गर्ने, कर्मचारीलाई उत्प्रेरणा दिने, बेसीशहर नगरपालिका भित्र रहेका अति अशक्त तथा अपाङ्गता भएका प्रति परिवारलाई १५÷१५ बटा चल्ला तथा दाना वितरण गर्ने कार्यक्रम छ । यस्तै तार्कुघाटस्थित जेष्ठ नागरिक आश्रमलाई भजन किर्तनका लागि बाद्यबादनको सामाग्री वितरण गर्ने, बेसीशहरस्थित बाल मन्दिर प्राविमा अधययन गर्ने विद्यार्थीहरुलाई स्टेश्नरी वितरण गर्ने र आदर्श महिला तथा बालविकास केन्द्र बेसीशहरमा संरक्षित बालबालिकलाई भ्रमण तथा खाद्य सामाग्रीहरु सहयोग दिने कार्यक्रम रहेको सिलवालले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना