• ६ चैत २०८०, मङ्गलबार

सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय नाघ्यो

blog

भारतको गौरीफन्टा नाका भएर फर्किदैं गरेका नेपाली । फाइल तस्बिर अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन ३१ गते । सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय २७ पुगेको छ । पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो । 

केही दिनसम्म कैलाली, कञ्चनपुरमामात्रै सङ्क्रमण देखिएको थियो । अहिले प्रदेशको दार्चुलाबाहेक बाँकी सबै जिल्लामा सक्रिय सङ्क्रमित थपिएका छन् ।

सबैभन्दा बढी २२४ जना सक्रिय सङ्क्रमित कैलालीमा रहेका छन् । यस्तै, कञ्चनपुरमा १६८ जना सक्रिय सङ्क्रमित छन् । बैतडीमा १६, अछाममा आठ, बझाङमा पाँच, डडेलधुरामा चार र डोटी, बाजुरामा एक/एक जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अहिले भारतबाट फर्कने व्यक्तिमा पनि सङ्क्रमण पुष्टि बढ्दो छ । तर, त्योभन्दा बढी सङ्ख्यामा यहाँ रहेकै व्यक्तिमा कोरोना पुष्टि भइरहेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार सुदूरपश्चिममा एक सय जनामा सङ्क्रमण पुष्टि हुँदा ३७ जना भारतबाट फर्केका व्यक्ति थिए । बाँकी सबै यहाँ रहेका व्यक्तिमा सङ्क्रमण पुष्टि भएका हो । 

सङ्क्रमण बढे पनि अस्पतालमा उपचारका लागि भर्ना हुनेको सङ्ख्या भने विगतको तुलनाका कम छ । अहिले आठ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् । जसमध्ये एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाँकी सक्रिय सङ्क्रमित घरकै आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका जनाइएको छ । 

अहिले सङ्क्रमण दर बढे पनि अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । ‘अहिले सङ्क्रमितलाई त्यस्तो जटिल समस्या छैन’, उहाँले भन्नुभयो । ‘खोप लगाएका कारणले पनि त्यस्ता भएको हुन सक्छ ।’ 

यो प्रदेशमा हालसम्म पाँच लाख ७१ हजार ९४५ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६० हजार ८८९ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाध्ये ६३४ जनाले ज्यान गुमाएका छन् भने ५९ हजार ८२८ जना निको भएका छन् । 

यस पटक केही दिन अगाडि कञ्चनपुरका एक सङ्क्रमितको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएका थियो । मृतक ति व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । यसैगरी, उहाँले बढी रक्सी खाने गरेका कारणले पनि एकैचोटी स्वास्थ्य समस्याले च्यापेर ज्यान गएको जनाइएको छ । 

कोरोना सङ्क्रमण तीव्र गतिमा पनि सतर्कता भने शून्य छ । स्वास्थ्य शतर्कता नअपनाइएका कारण सङ्क्रमण तीव्र गतिमा फैलि रहेको छ ।