• ६ चैत २०८०, मङ्गलबार

बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको चाप

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, साउन २९ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चापाकोट–१०, किसानमा सञ्चालन गरेको किसान बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ। 

शान्त र वातावरणीय हिसाबले राम्रो मानिएको प्राविधिक शिक्षालयमा वार्षिक रूपमा विद्यार्थी सङ्ख्यामा वृद्धि हुँदै आएको हो। सरकारले प्रत्येक पालिकामा स्थापना गर्ने नीतिअनुसार प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको स्थापनाको चौथो वर्षमा विद्यार्थी आउने क्रमले तीव्रता पाएसँगै आकर्षण देखिएको हो। 

शिक्षालय यातायात सुविधाका हिसाबले सिद्धार्थ राजमार्ग र निर्माणाधीन कालीगण्डकी कोरिडोरजस्ता राष्ट्रिय राजमार्गको नजिकै भएको र शाखा सडकसँग जोडिएको छ। किसान प्राविधिक शिक्षालय सीटीईभीटीको देशभरका ६३ वटा आङ्गिक शिक्षालयमध्ये एक हो। 

यहाँ तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्स, तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर एन्ड भेटेरेनरी साइन्स, तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ भइरहेको शिक्षालय प्रमुख मोहनबहादुर कार्कीले बताउनुभयो। 

एक विषयमा ४० जना अध्ययन गर्न सक्ने र तीनवटै विषयमा वार्षिक भर्ना हुनेको सङ्ख्या थपिँदै गएको छ। अन्य ठाउँमा विद्यार्थीको अभाव रहँदा यो शिक्षालयमा विद्यार्थीको चापले फर्काउन परेको छ। दलित, मुस्लिम र पिछडिएका वर्गका लागि विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत ४० जनाको कोटा रहेकोमा ३५ जना सुविधामा अध्ययनरत छन्। 

उनीहरूले निर्वाह भत्तास्वरूप तीन हजार पाँच सय रुपियाँ पाउँछन् भने पोसाकबापत दुई हजार पाँच सय र गाडी भाडाबापत एक हजार पाँच सय रुपियाँ पाउने गरेका छन्।

तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्सका ३८ जना विद्यार्थीले तेस्रो वर्षको परीक्षा दिएर नतिजाको पर्खाइमा छन् भने तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङका विद्यार्थीहरू तेस्रो वर्षको परीक्षाको तयारीमा छन्।