• ६ चैत २०८०, मङ्गलबार

शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री पौडेल

blog

तस्बिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल

काठमाडौं, साउन२८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।

इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिनेमा उहाँको जोड छ । त्यस्तै, उहाँले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने पनि बताउनुभयो ।

नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको बताउनुहुँदै उहाँले सरकार यसप्रति प्रतिवद्ध रहेको जानकारी दिनुभयो । शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।

मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकाले सेवा सुविधा पाइन भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने पनि बताउनुभयो ।

उहाँले देशमा विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताउनुभयो । उहाँले बाहिरबाट एसईईको नतिजा पोजेटिभ देखिए पनि भित्रि पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दाबी गर्नुभयो ।

मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्याङ्कन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिसामा बोर्ड रहेको बताउनुभयो । उहाँले यस वर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीहरुको नतिजा कम आएको र धेरै अनुत्तिर्ण भएको भन्ने कुरा सत्य रहेको भन्दै यसबारे विश्लेषण गर्ने बेला भएको पनि बताउनुभयो । उहाँले नतिजा कमजोर आउनुको वास्तविक कारण पत्ता लगाउने कुरामा परीक्षा बोर्ड लाग्ने बताउनुभयो ।