• ६ चैत २०८०, मङ्गलबार

आठ पुस्ता हुर्किएको घर

blog

बहत्तर सालको भूकम्पपछि दाइ मोहन जोशी र म बुवा÷मुमाले दुःख गरेर २०१६ सालमा बनाउनुभएको उसबेलाको हिसाबले भव्य साढे तीनतले घरको निरीक्षण गर्न दोलखातिर लाग्ने तरखर गर्दै थियौँ । यही बेला पत्नी शारदाले प्वाक्क भनिन्, “बिग्रेको घर हेर्नलाई यहाँदेखि नै मनस्थिति ठीक बनाएर जानुस् ।” उनलाई मैले त्यो घर कति दुःख गरेर बनाएको हो र त्यसले कसरी हाम्रो परिवारको इज्जत धानेको थियो भनेर धेरै पटक सुनाएको थिएँ । त्यसैले त्यो घरप्रति अत्यन्त लगाव भएको मलाई कतै घरको अवस्था देखेर हृदयाघात नहोस् भनेर उनले यसरी सम्झाएकी थिइन् । 

दोलखा पुगेर हेर्दा घर त धुरीको दुई कुनाका गारोका केही ढुङ्गा खस्नुबाहेक केही भएको रहेनछ । यद्यपि डरले भित्र बस्ने अवस्था भने थिएन । यही कारण दुई पटक भूकम्पपीडित अनुदानका लागि निरीक्षणमा आएका इन्जिनियरले पनि हाम्रो घरलाई ‘बस्न हुने घर छ’ भनेर सिफारिस गरेका थिए । हाम्रो घर निर्माण गरेको संस्मरण गर्दै एक वृद्धले एक पटक मलाई सुनाउनुभएको थियो, “घर बनाउँदा तिम्रो बुवाले निर्माणाधीन घरतिर हेरेर कर्मीलाई ‘राम्ररी बनाउनु है, पछि छोरानाति मन्त्री हुने हो कि ! भनेर निर्देशन दिनुभएको देखेको थिएँ ।” यहाँ मैले चर्चा गर्न लागेको घर चाहिँ हाम्रो पुर्खाको अर्को घर हो । 

एक पटक दोलखा पुगेर हामीले हाम्रा पुर्खा मेजर धनमान जोशीले निर्माण गर्नुभएको घरको पूर्वी भागको आँगनमा एक जना भाइले बनाएको कटेरोमा ‘जोगीको घरमा सन्न्यासी पाहुना’जस्तो गरेर तीन÷चार रात बसेका थियौँ । त्यो पुरानो घरमा पनि खासै क्षति भएको थिएन । खालि २००२ सालको आगलागीले छोएको पश्चिमी कोठाको माथिल्लो भाग मात्र केही भत्केको थियो । अलि अलि मर्मत गरेर घर सुरक्षित राख्न सकिने अवस्था थियो । दोस्रो दिन बेलुका करिब ९ बजे भयानक जोडले हुरी चल्न थाल्यो ।

विवाहमा दुलही बोक्न र दशैँमा फूलपाती बोक्न प्रयोग गरिने डोली यही घरको पिँढीमा झुन्ड्याएर राखिएको हुन्थ्यो । विगतमा दोलखामा विधिवत् भएका विवाहका साक्षी यो डोली अहिलेसम्म पनि जीर्ण अवस्थामा यही घरको पिँढीमा झुण्डिएर बसेकै छ । 

हामी बसेको कटेरोको ठीक पछाडि ढुङ्गा छापेको बाटोमा एक्कासि ठूलो जोडले केही बज्रियो । आवाज सुनेर हाम्रो सातो गयो । अँध्यारोमा बाहिर हेर्न जाने आँट पनि आएन । हामी त्यसै सुत्यौँ । भोलिपल्ट बिहान एउटी बज्यैले “तिमीहरूलाई कुलदेवताले हात थापेकै हो” भनेर व्यङ्ग्य गर्नुभयो । हुरीले पुरानो घरको छानो टोपी फुकालेको जस्तो सिङ्गै पछाडितिर धकेलेको थियो । त्यसकै दुईवटा दलिन हुरीले हामी सुतेको कटेरोको पछाडि खसालेको रहेछ । त्यो घरका लागि त्यो नै ठूलो दुर्भाग्य थियो । मेरो आफ्नो बेग्लै घरलाई भने हुरीले केही असर पार्न सकेको थिएन । पुर्खाको घरको दलिन र जस्ता हराउन थाल्यो । सबैलाई अस्थायी कटेरो बनाउन जस्ता र दलिनको खाँचो थियो । सबैका आ–आफ्ना समस्या थिए । कसैले घर संरक्षण गर्न ध्यान दिएनन् । एक जना दाइ काठमाडौँबाट गएर जस्ता र त्रिपाल जम्मा गरेर छाना राखेर घर छोप्ने कोसिस त गर्नुभयो तर त्यो क्षणिक मात्र भयो । घाम, पानी, हावा, हुरीले त्यसलाई नष्ट ग¥यो । पछि फेरि उहाँले दाजुभाइसँग पैसा उठाएर पुनर्निर्माण गर्ने कोसिस गर्नुभयो तर ढिलो भइसकेको थियो । घर पुनर्निर्माण गर्ने अवस्थामा थिएन । घर त्यतिकै रह्यो र भत्किँदै गयो । 

सोह्रौँ÷सत्रौँ शताब्दीतिर दोलखाका राजाका आमन्त्रणमा दोलखा आएका काशीका पण्डित जयकृष्ण उपाध्याय तथा उनकी श्रीमतीको छैटौँ पुस्ताका थिए मेजर धनमान जोशी । धनमानका एक मात्र छोरा लक्ष्मीलालको पाँच जना छोरामध्ये साहिँलो दिव्यमानको छोरा थिएन । त्यसैले बाँकी चार जना छोराका सन्तानले उक्त घर चार भाग लगाई बस्दै आइरहेका थिए । काइँला छोरा काजीमानको पाँच छोरामध्ये ज्योतिमानको निधन भएकाले चार जना मात्र बाँकी भए । तीमध्ये जेठो छोरा प्रसमानको दुई छोरा थिए– गुमानसिं जोशी र लालबहादुर जोशी । २००२ सालमा घर आगलागीमा परेपछि मर्मतका लागि आएर फर्केपछि गुमानसिं भोजपुरमा नै घरजम गरेर बस्नुभयो । माहिलो छोरा लालबहादुरको परिवार भने २०१६ सालमा दोलखाकै बगर्छे टोलमा नयाँ घर निर्माण नगरेसम्म यही घरमा बसेका थिए ।

मेजर धनमानका पुर्खा जयकृष्ण उपाध्यायलाई काशी बनारसबाट राजपुरोहितका रूपमा दोलखा ल्याइएको थियो । दोलखाका धार्मिक, सांस्कृतिक तथा सामाजिक संस्कार गर्न र साइत हेर्नेजस्ता ज्योतिष कार्य गर्नका लागि ल्याइएको थियो । उसबेला कान्तिपुरका राजा प्रताप मल्लले पनि बनारसबाट विद्वान् पण्डित ल्याउने गरेका थिए । नेपालमै सर्वप्रथम चाँदीको मोहर चलाउने राजा इन्द्र सिंह देव वि.सं. १५९१ मा मात्र राजा भएका थिए । वि.सं. १६०३ मा उनले चाँदीको सिक्का निकालेका थिए । राजनीतिक सफलताको साथमा आर्थिक उन्नति तथा सांस्कृतिक उत्थान जरुरी छ भन्ने विचार भएको उनले चाँदीको मोहर निकाल्ने र धार्मिक–सांस्कृतिक सुधारसमेत गरेको देखिन्छ । अतः इन्द्र सिंह देवको शासनकालमा नै काशीबाट उपाध्याय पण्डित ल्याएको सहजै अनुमान गर्न सकिन्छ । (दोलखाको ऐतिहासिक रूपरेखा) 

जयकृष्णले आफ्नो साथमा आँप, कटहर, चाँप, पलाँस र बडहरको बेर्ना ल्याएर बारीमा लगाएका थिए; जसमध्ये केही अभैm देख्न सकिन्छ । जोशी परिवार बसेको पहिलो घर ‘पुरान्छे’ थियो, जसमा कुलदेवता प्रतिस्थापन गरिएको थियो । परिवार बढ्दै गएपछि भोजन्त उपाध्यायका एक जना छोरा मेजर धनमान जोशी र पत्नी मयुर वाणीले ‘थाबिछे’ (माथिल्लो घर) भनिने यो घर बनाएका थिए । इँटाले निर्माण गरिएको र कुँदिएको बुट्टे सःझ्याल र आँखी झ्याल राखिएको दोलखाका राम्रा पुरानो घरमध्ये एक घर हो– ड्वाकुलुङा (घर रहेको टोलको नाम)को यो घर । उक्त झ्याल र ढोकाहरू काठमाडौँबाट १४÷१५ दिन लगाएर ओसारिएको सहजै अनुमान गर्न सकिन्छ । उक्त घरको छाना सुरुमा फल्याकले छाएको थियो र २०४६ सालतिर मात्र जस्ताले छाइयो । विवाहमा दुलही बोक्न र दशैँमा फूलपाती बोक्न प्रयोग गरिने डोली यही घरको पिँढीमा झुन्ड्याएर राखिएको हुन्थ्यो । विगतमा दोलखामा विधिवत् भएका विवाहका साक्षी यो डोली अहिलेसम्म पनि जीर्ण अवस्थामा यही घरको पिँढीमा झुण्डिएर बसेकै छ । 

परिवार बढ्दै गएपछि कोठा साँघुरो र अपर्याप्त हुन थाल्यो । सक्नेले बेग्लै घर बनाएर पुरानो घर छाड्न थाले । भूकम्पताका केवल महेन्द्र जोशीको परिवार मात्र त्यो घरमा बस्थ्यो । धनमानको आठ पुस्ताले यो घरमा आश्रय पायो । साढे तीन तलाको यो घर २५० वर्षभन्दा पुरानो भएको अनुमान छ । अघिल्तिर ढुङ्गा छापिएको विशाल आँगनको यौटा कुनामा धान कुट्न ढुङ्गाको ओखल र एक छेउमा तुलसीको मन्दिर थियो । देउसीभैलो र भजनको बेला घरभरिका मानिस आँगनमा जम्मा हुँदा घरको रौनक नै बेग्लै हुन्थ्यो । चपिल भनिने पिँढीमा यौटा काठको खाट थियो; जसमा पाहुनालाई सुताउने गरिन्थ्यो । स्वर्गीय लालबहादुर जोशीले आफ्नो संस्मरणमा लेख्नुभएअनुसार बराजु काजीमानका पालामा धुलिखेलका साहुहरू र गोङ्गटाका गुरुङहरू बन्दव्यापार तथा अन्य काममा दोलखा आउँदा यही घरमा बस्थे । चपिलको एक कुनामा पिठो पिस्न जाँतो पनि राखिएको थियो । पूजाआजाका लागि पूजा सामग्री व्यवस्था गर्न र मर्दापर्दासमेत त्यो चपिल प्रयोग गरिन्थ्यो ।

काठमाडौँदेखि बोकाएर ल्याइएको इँटाले निर्माण गरिएको यो घर कोठा–कोठामा बाँडिएको थियो । आठ वर्षसम्म मैले पनि यो घरमा बाल्यकाल बिताएँ । घरको बुइँगलको एक चौथाइ भागको पनि आधा भागमा हाम्रो साँघुरो भान्छा थियो । एउटा कोठालाई नै विभक्त गरेर ढुकुटी र धान राख्ने ठाउँसमेत निकालिएको थियो । कोठामा हामी चार÷पाँच जना बालक लहरै सुत्ने गथ्र्यौं । घरको आँगनमा मेरो कान्छी बज्यै र मुमाले नुहाइदिँदा रोएर उफ्रेको, सधैँजसो पूर्वतिरको पेटीमा बसेर सिम्भुथानतिर हेरेर गीत गाउने गरेको र राति सिमसिम झरीमा आँखा मिच्दै कुमारीलाई ढोग्न मुमासँगै मच्छिन्द्रनाथको मन्दिरको आँगनमा ओर्लेको मलाई राम्रै याद छ ।

भनिन्छ कि धनमानले घर त निर्माण गरे तर कहिल्यै पनि घरमा बसेनन् । घर निर्माण भएपछि भित्र पस्न लाग्दा उनको टाउको मूलढोकामा ठोकिएको थियो । उनले भने, “यो घरले मलाई भित्र नपस भनेर सङ्केत ग¥यो, म भित्र पस्दिनँ ।” उनी घरभित्र नपसेर नै काठमाडौँतिर लागेका थिए । पहाडतिर घरको मूलढोका अलि होचो नै हुन्छ । मेजर भइसकेको मान्छेमा पनि अन्धविश्वासको प्रभाव देखिन्छ । उहाँले निर्माण गर्नुभएको थाबीछेंको दुईवटा घरमध्ये एउटा घर वि.सं. २००२ को भयानक आगलागीमा ध्वस्त भयो; जुन अग्निकाण्डमा ११ जना दिवङ्गत भएका थिए । त्यसबाट धनमानका कतिपय सन्तान घरविहीन हुन पुगेका थिए । मल्लकालीन शैलीमा निर्माण गरिएको यो घर मेजर धनमानको परिवारको मात्र नभएर सिङ्गो दोलखाकै ऐतिहासिक धरोहर भएर पनि भूकम्पपछि घरको संरक्षण गर्न सकिएन । ‘माझीको सल्लाहले सात गाउँ डुब्यो’ भनेजस्तै भयो ।

मेजर धनमान जोशी बहादुर शाहको शासनकालमा अङ्ग्रेजसँग नेपालको किल्ला काँगडाको युद्धमा सहभागी भएको देखिन्छ । लालबहादुर जोशीले उपलब्ध गराउनुभएको सामग्रीअनुसार (दोलखाको ऐतिहासिक रूपरेखा)मा यस्तो उल्लेख छ– “श्री शक १७३१ श्रावण शुक्ल ५ मा मेजर धनमानले किल्ला काँगडा नगरकोट सहरमा कास्मिरी पण्डित नन्दरामले लेखेको यो पुस्तक अध्ययन गर्नुभएको हो– ‘बालात्रिपुरा प्रातः क्रित्यादि स्नान विधि’ जुन उहाँको सङ्ग्रहमा थियो ।” शाहकालमा केही दोलखाली सैनिक सेवामा रही कुमाउ–गडवाल पुगेका थिए भन्ने इतिहासमा पनि उल्लेख छ ।

दोलखाको धार्मिक तथा आध्यात्मिक कार्यमा जोशी परिवारको विशेष भूमिका रहँदै आएको छ । मल्लकालीन समयदेखि नै भीमेश्वरको नित्यपूजा गर्न र बडादशैँ तथा चैतेदशैँमा विभिन्न देवदेवीका पूजाका लागि व्यवस्था गर्न ड्वाकुलुङा टोलका गुनेश्वर जोशीका परिवारलगायत चार गुठियारको व्यवस्था गरिएको थियो । जोशी परिवारलगायत चार गुठियारले अहिलेसम्म पनि विभिन्न विध्नबाधाका अतिरिक्त यो कार्य जारी राखेका छन् । 

दोलखाको इतिहासमा उल्लेख भएअनुसार त्यसबेला दोलखाका धनी वर्ग र शासक वर्गले गाईगोठ राख्थे । गोठको रेखदेख गर्न पनि मानिस राखिएको हुन्थ्यो । राजा जगजय मल्ल र पछिका सरकारले जनतालाई गाईगोठ राख्न खर्क र घाँस बिर्ता दिने गर्थे । जोशी परिवारले कालिञ्चोकको खर्कमा गाईगोठ राख्ने गरेका थिए भनेर लालबहादुर जोशीको संस्मरणमा उल्लेख छ । उक्त संस्मरणमा उल्लेख भएअनुसार “मेजर धनमानको नाति दोलखा सहरको प्रसिद्ध साहु लक्ष्मीलालको छोरा काजीमान जोशी (१९१२–१९७८)को पालामा गोठमा प्रशस्त गाईभँैसी थियो । उहाँको गोठ वर्षामा कालिञ्चोक लेकको खर्कसम्म पु¥याइन्थ्यो र हिउँदमा तलतल मार्बुसम्म लगिन्थ्यो । गोठको हेरचाहका लागि गोठालो राखिएको थियो जसलाई परिवारकै सदस्यका रूपमा व्यवहार गरिन्थ्यो ।