• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण

blog

राष्ट्रपति विद्यादेवी भण्डारी ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रम्हकुमारी राजदीदीबाट पवित्रताको सूचक राखी ग्रहण गर्नुहुँदै । तस्बिर : राष्ट्रपति भवन

काठमाडौं, साउन २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा राष्ट्रपति भवन‚ महाराजगञ्जमा आयोजित विविध कार्यक्रममा सहभागी हुनुभएको छ। 

महत्वपूर्ण सांस्कृतिक पर्वको अवसरमा राष्ट्रपतिले वैदिक विधिअनुरूप पण्डित खेमचन्द्र ढकालबाट रक्षा बन्धन ग्रहण गर्नुभएको छ।  राष्ट्रपति भवनमा आयोजित अर्को कार्यक्रममा  राष्ट्रपतिले काठमाडौंका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसादसमेत ग्रहण गर्नुभएको छ।

श्रावणीकर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहे बमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ। 

यसैगरी राष्ट्रपतिले शुक्रबार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रम्हकुमारी राजदीदीबाट पवित्रताको सूचक राखीसमेत ग्रहण गर्नुभयो। रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व देशभरका धार्मिक स्थलमा विशेष पूजा आराधनासहित मनाउने परम्परा रहिआएको छ। आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रूपमा यस पर्वको सांस्कृतिक महत्त्व स्थापित छ।