कांग्रेस सभापतिमा देउवा विजयी ‘पार्टीलाई एकताबद्ध बनाउँछु’

नारद गौतम/सुरेशकुमार यादव
काठमाडौँ, फागुन २५ गते । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापति पदमा निर्वाचित हुनुभएको छ । विभिन्न समयमा तीन पटक देशको प्रधानमन्त्री भइसक्नुभएका ६९ वर्षीय देउवा सोमबार भएको दोस्रो चरणको मतदानमा एक हजार ८२२ मत प्राप्त गरी नेपाली काँग्रेसको सभापति निर्वाचित हुनुभएको हो ।
आइतबार भएको निर्वाचनअन्तर्गत पहिलो चरणको मतदानमा ११ मत कम हुँदा उहाँ सभापतिमा विजयी हुन सक्नुभएको थिएन । पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६  मतले पछाडि पार्दै देउवा सभापति पदमा निर्वाचित हुनुभएको हो । नेता पौडेलले एक  हजार २९६ मत प्राप्त गर्नुभएको छ ।
 निर्वाचन समितिका अनुसार पहिलो चरणको मतदानमा भन्दा दोस्रो चरणको मतदानमा देउवाले २५८ बढी मत प्राप्त गर्नुभएको छ भने पौडेलले १३६ मत बढाउनुभएको छ । यसअघि देउवा, पौडैल र महामन्त्री कृष्णप्रसाद सिटौला तीन जना प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
कुल मतदाता सङ्ख्या तीन हजार १६१ रहेकोमा सोमबार तीन हजार १४० मत खसेको थियो । आइतबार १०० र सोमबार २२ मत बदर भएका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि सोमबार दोस्रो चरणको मतदान भएको थियो । नेपाली काँग्रेसको पार्टी इतिहासमै एउटै महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको मतदान भएको यो पहिलो पटक हो ।
काँग्रेस पार्टीको विधान अनुसार सभापति पदका लागि निर्वाचनमा खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान छ । वरिष्ठ नेता देउवाले दोस्रो चरणमा आवश्यक मत प्राप्त गर्नुभएको छ । यो व्यवस्था १०औँ महाधिवेशनबाट राखिएको हो ।
 निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले सभापति पदमा वरिष्ठ नेता देउवालाई निर्वाचित भएको घोषणा गर्नुभयो । उहाँले मङ्गलबार दिनको १ बजेबाट महामन्त्री र कोषाध्यक्ष पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने जानकारी दिनुभयो ।
वरिष्ठ नेता देउवाले पार्टी सभापति पदका लागि २०५७ सालदेखि प्रयास गर्दै आउनुभएको थियो । पोखरामा सम्पन्न पार्टीको १०औँ महाधिवेशनमा उहाँ गिरिजाप्रसाद कोइरालासँग पराजित हुनुभएको थियो । काठमाडौँमा भएको ११औँ महाधिवेशनमा भने देउवा नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति हुनुहुन्थ्यो । एघारौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग नरहरि आचार्यले प्रतिस्पर्धा गर्नुभएको थियो ।
पार्टीलाई एकताबद्ध बनाउँछु ः देउवा
सभापति देउवाले पराजित हुने नेताहरुलाई पनि मिलाएर लैजाने र पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभापति देउवाले सोमबार बिहान पनि आफ्ना प्रतिस्पर्धीहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग भेट गरी मिलेर जान प्रस्ताव गर्नुभएको थियो । त्यसपछि सिटौलाले एकताका लागि आह्वान गर्दै वक्तव्य नै प्रकाशित गर्नुभएको थियो भने पौडेलले अन्तर पार्टी लोकतन्त्रलाई सहज रुपमा लिऔं र निर्वाचन प्रक्रियालाई आत्मसात् गर्ने बताउनुभएको थियो ।
यसैगरी, देउवा विजयी भएपछि नेता डा. प्रकाशशरण महतले निर्वाचन स्वस्थ प्रक्रिया भएकाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने जानकारी दिँदै देउवाले एकताको मर्मलाई बुझेको बताउनुभयो ।  उहाँले अब पार्टीमा योग्यता, क्षमता र क्रियाशीलताको कदर हुने दाबी पनि गर्नुभयो ।
अर्का नेता बालकृष्ण खाँडले देउवाको विजयले पार्टीमा नयाँ ऊर्जा थपिएको र सबैलाई मिलाएर लैजाने क्षमता पनि सभापति देउवासँग छ भन्नुभयो । उहाँले कांग्रेस, एमाओवादी र मधेसी मोर्चासहितको सरकार गठन हुने दाबी पनि गर्नुभयो । देउवा निर्वाचित भएपछि राष्ट्रिय सभागृह वरिपरि उहाँका समर्थकहरुले नारा जुलुस गर्नुका साथै खुसियाली मनाएका थिए ।
इतिहास बदलियो
कार्यवाहक सभापति भए पनि पौडेलले सभापतिका लागि भएको निर्वाचन जित्न सक्नुभएन । काँग्रेसका तत्कालीन कार्यवाहक सभापतिहरु बीपी कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले सभापति पद जित्नुभएको थियो ।  
दुवै उम्मेदवारसँगै
आफूलाई सहयोग गर्न मतदातासँग आग्रह गरेर थकित हुनुभएका दुवै उम्मेदवार दोस्रो चरणको मतदान हुँदा सँगै बस्नुभएको थियो । पाँचवटा बुथमा मतदान गर्ने व्यवस्था गरिएको थियो भने मतदानका लागि महिला र पुरुषको छुट्टै लाम लगाइएको थियो ।  दिउँसो ३ बजेबाट सुरु भएको मतदान साँझ मात्रै सकिएको थियो । आइतबारको मतदानमा सबैभन्दा पहिला देउवाले मतदान गर्नुभएको थियो भने सोमबार भने पौडेलले उछिन्नुभयो ।
दोस्रो चरणको मतदान भइरहँदा प्रदर्शनीमार्गमा पार्टीका कार्यकर्ताबीच पटक पटक झडप भएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो । सोमबार बिहान सम्पन्न पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार ५६४ र कार्यवाहक सभापति रामचन्द्र पौडेलले एक हजार १५२ मत प्राप्त गर्नुभएको थियो ।
अर्का प्रतिस्पर्धी महामन्त्री कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको जानकारी निर्वाचन समितिले दिएको छ । राष्ट्रिय सभागृहमा भएको निर्वाचनमा कुल तीन हजार १६१ मतदातामध्ये तीन हजार १४८ जना मतदानमा सहभागी थिए ।
जित्नलाई नेताहरुको कसरत
आइतबारको निर्वाचनमा आवश्यक ५० प्रतिशत नपुग भएपछि सोमबार बिहानदेखि नै देउवा र पौडेल दुवैले आफ्नो पक्षमा मत परिणाम पार्न राम्रै कसरत गर्नुभएको थियो । कार्यवाहक सभापति पौडेलले दोस्रो चरणबाट बाहिरिनुभएका सभापतिका उम्मेद्वार कृष्णप्रसाद सिटौलासँग भेट गरी सहयोगका लागि अनुरोध गर्नुभएको थियो । यस्तै अनुरोध देउवाले पनि गर्नुभएको थियो ।
सिटौलाको पहल
नेता सिटौलाले बिहानै एक वक्तव्य जारी गरी पार्टीलाई गुट उपगुटमा विभाजित हुनबाट मुक्त गरी एकताबद्ध बनाउन पहलकदमी लिने बताउनुभएको थियो । उहाँले देउवा वा पौडेल कसलाई समर्थन गर्ने भन्ने कुरा स्पष्ट खुलाउनुभएन । उहाँले फेरि मतदानमा सहभागी हुन आफ्ना समर्थकहरुलाई अनुरोध गर्नुभयो ।
कार्यवाहक सभापति पौडेलको पहलमा ४१ जिल्लाका काँग्रेस सभापतिले संयुक्त वक्तव्य जारी गर्दै पौडेलका पक्षमा मतदान गर्न सार्वजनिक अपिल गर्नुभएको थियो ।
 
    पहिलो चरण            दोस्रो चरण
कुल मतदाता सङ्ख्या     ः    ३,१६१            ३,१६१
कुल खसेको मत सङ्ख्या  ः    ३,१४८            ३,१४०
शेरबहादुर देउवा    ः    १,५६४            १,८२२
रामचन्द्र पौडेल     ः    १,१६०            १,२९६
कृष्णप्रसाद सिटौला     ः    ३२४            –
बदर मत सङ्ख्या     ः    १००            २२

शब्दचित्रमा देउवा
विसं २००३ जेठ ३१ गते डडेलधुरामा जन्मनुभएका देउवाले विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएको हो । उहाँ काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको संस्थापक केन्द्रीय सदस्य र पहिलो निर्वाचित अध्यक्ष पनि हुनुभयो ।
२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि देउवा काँग्रेसका सशक्त युवा नेताका रुपमा उदाउनुभएको हो । ०४८ सालको आम निर्वाचनमा उहाँ अत्यधिक मत अन्तरले डडेलधुराबाट विजयी हुनुभएको थियो । त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उहाँ गृहमन्त्री हुनुभयो ।
यसैगरी, देउवाले २०५१ साल र २०५६ सालको संसदीय निर्वाचन, २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा पनि जीत हासिल गर्नुभयो । पछिल्लो संविधानसभा चुनावमा उहाँ डडेलधुरा र कैलालीबाट निर्वाचित हुनुभएको हो । उहाँ २०५२ सालमा प्रधानमन्त्री बन्नुभएपछि उहाँको व्यक्तित्व थप चुलियो ।
पार्टीभित्र आन्तरिक झगडा चुलिँदा देउवाले २०५९ सालमा काँग्रेस पार्टी फुटाएर नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरी त्यसको सभापति बन्नुभएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट २०५९ सालमा उहाँको नेतृत्वको सरकार विघटन गरिएको थियो तर दुई वर्षपछि २०६१ सालमा उहाँलाई पुनः प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
संविधानसभा निर्वाचन अघि २०६४ सालमा प्रजातान्त्रिक काँग्रेस मूलधारमै विलय भएको थियो । सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष रहनुभएका देउवा सन् २०१३ देखि हालसम्म सो सङ्गठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तर्र्र्रािष्ट्रय उपाध्यक्ष हुनुहुन्छ ।
देउवा राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ । उहाँ सन् १९८८ देखि १९८९ सम्म बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्समा राजनीतिशास्त्र विषयक रिसर्च फेलो समेत हुनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका क्रममा देउवाले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको छ । सिङ्गो काँग्रेसको सभापति बन्ने उहाँको लामो समयदेखिको सपना यस पटक साकार भएको छ ।  

काँग्रेसका सभापतिहरु
    विसं २००३     पहिलो महाधिवेशन ः टङ्कप्रसाद आचार्य
    २००४ दोस्रो महाधिवेशन ः डा. डिल्लीरमण रेग्मी
    २००५ तेस्रो महाधिवेशन  ः मातृकाप्रसाद कोइराला
    २००६ चौथो महाधिवेशन  ः मातृकाप्रसाद कोइराला
    २००९ पाँचौँ महाधिवेशन ः बी.पी. कोइराला
    २०१२ छैटौँ महाधिवेशन  ः सुवर्ण समशेर राणा
    २०१४ ः विशेष अधिवेशन ः बी.पी. कोइराला
    २०१७ः सातौँ महाधिवेशन  ः बी.पी. कोइराला
    २०४८ आठौँ महाधिवेशन ः कृष्णप्रसाद भट्टराई
    २०५३  नवौँ महाधिवेशन ः गिरिजाप्रसाद कोइराला
    २०५७ दशौँ महाधिवेशन ः गिरिजाप्रसाद कोइराला
    २०६२ एघारौँ महाधिवेशन ः गिरिजाप्रसाद कोइराला
    २०६७ बाह्रौँ महाधिवेशन ः सुशील कोइराला
    २०७२ तेह्रौँ महाधिवेशन ः शेरबहादुर देउवा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना