राष्ट्रको गौरव नेपाली सेना

premsingh basnetडा. प्रेमसिंह बस्न्यात

परापूर्वकालमा पनि नेपाल विशाल थियो भने बीच–बीचमा यो फुटेर करिब ५३÷५४ वटा साना राज्यसमेत बन्यो । काठमाडौँ उपत्यकाको बस्ती (पछि राज्य) लाई नै नेपाल मानिएको छ र त्यसकै नामबाट नेपाल बनेकोले बडामहाराज पृथ्वीनारायण शाहले वि.सं. १८२५ को इन्द्रजात्राको दिन कान्तिपुर राज्य जितेपछि मात्र नेपाल एकीकरण थालेको मानिनुपर्छ । त्यसपछिको इतिहासलाई मात्र नेपाली इतिहासको मान्यता दिनको लागि वि.सं. २०६३ सालतिरबाट नेपालको तत्कालीन राजसंस्थालाई ‘२४० वर्षदेखिको सामन्ती वा स्वेच्छाचारी’ भनेर गाली गर्न थालियो । त्यसमा ऐतिहासिक सत्यता देखिँदैन । प्राज्ञिक वर्गसमेत राजनीतिक बोलीमा लागेर नेपालको इतिहास बिगार्न दिने हो भने त्योभन्दा ठूलो दुर्भाग्य केही हुने छैन ।
किनभने वि.सं. १८२५ भन्दा अगाडि नेपाली सेनाले तिब्बत र चीनसँग लडेको दुई वटा युद्ध, बङ्गालको नवाबको फौजविरुद्ध मकवानपुरमा लडेको युद्ध, अङ््ग्रेज क्याप्टेन किनलकको फौजविरुद्ध सिन्धुलीमा लडेको युद्धलाई नेपालले लडेको मान्ने कि, नमान्ने त ? अनि कान्तिपुर
(नेपाल भनिएको) राज्यलाई हमला गर्ने पृथ्वीनारायण शाह र गोर्खा फौजलाई नेपालीको शत्रु मान्ने कि नमान्ने यदि कान्तिपुरलाई मात्र नेपाल मान्ने हो भने ? वि.सं. १८०१ देखि १८२५ इन्द्रजात्राको दिन अगाडिसम्म पृथ्वीनारायण शाहले जितेको प्रदेश र उनको जीवन यात्रालाई नेपालको इतिहासभित्र पार्ने कि नपार्ने ?
अझै उदेकलाग्दो कुरो त उपत्यकाको सबैभन्दा पुरानो भक्तपुर राज्यलाई राजा यक्ष मल्लले आफ्ना छोरालाई अंश दिएर उपत्यकामा भक्तपुर, ललितपुर र कान्तिपुर गरी तीन वटा राज्य जन्माए । भक्तपुरलाई नेपाल नमानिने अनि भक्तपुरभन्दा करिब १०० वर्ष कान्छो राज्य कान्तिपुरलाई कसरी नेपाल मान्ने त ? माओवादी जनयुद्धपछि बोलिएको ‘२४० वर्ष’ ले नेपालको इतिहास बिग्रिएको छ । जसबाट नेपाली कूटनीतिक इतिहास पनि अल्मलिएको छ ।
वि.सं. १८०१ पछिलाई नेपालको आधुनिक इतिहासले समेटेकोले त्यसयता नेपालको कूटनीतिक इतिहासमा बडामहाराजा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल मात्र नभनी, ती दुवै ठूला ढुङ्गा चीन र हिन्दुस्तानमा सन्तुलित सम्बन्ध कायम राख्न प्रयत्न गरे । दुवै देशमा कम्तीमा वार्षिकरूपले र जरुरी पर्दा जहिले पनि दूत (राजाको दूत) पठाइ कूटनीतिकरूपले व्यवधान समाधान गरिन्थे भने सद्भावना पनि साटासाट गरिन्थ्यो । त्यसको लागि सैनिक अधिकृतहरू पठाइन्थ्यो र उत्तरी छिमेकमा पाँडे परिवार र दक्षिणी छिमेकमा बस्न्यात परिवार तोकिएका थिए तर यो प्रक्रिया भीमसेन थापाको उदयपछि अन्त भयो । वि.सं. १९१२ मा जंगबहादुर राणाले भोटमा हमला गर्नु अगाडिसम्म पनि गड्तौला परिवारका सैनिक अधिकृतहरूले सद्भावना टोलीको नेतृत्व गर्थे ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास केलाउँदा चीनसँगको सम्बन्ध सयौँ वर्ष पुरानो देखिन्छ भने भारततिरको धेरै नयाँ छ । किनभने अङ्ग्रेजले कब्जा जमाउनु अगाडि भारतमा करिब ४०० भन्दा बढी राज्य थिए भने काँशी, गयालगायतका छिमेकी क्षेत्रमा नेपालको धार्मिक र वैवाहिक सम्बन्धमात्र थियो । वि.सं. २००४ मा अङ्ग्रेजले भारत छाडेपछिमात्र नेपालको भारतसँगको औपचारिक कूटनीतिक सम्बन्ध सुरु भएको हो । त्योभन्दा अगाडि भारत भन्ने देश नै थिएन ।
संवैधानिक सरकारको आदेशमा सेनाले काम गरे पनि उसले देशको कूटनीतिक पाटोमा गरेको कामलाई सम्बोधन गरिनु राम्रो हुनेछ । नेपालले कूटनीतिक हिसाबले अन्तर्राष्ट्रिय सहयोग दिएको आधुनिककालीन अभिलेख खोतल्दा बृटिश इन्डिया सरकारको अनुरोधमा विजयगढका राजा चेतसिंहले काँशीमा बन्धक बनाएका अङ्ग्रेजको उद्दार गर्न काजी धौकलसिंह बस्न्यातका नेतृत्वमा वि.सं. १८३४ मा पाँच कम्पनी फौज पठाइ उक्त काम सफल ग¥यो । बृटिशसँगको इतिहासमा नेपाल सरकारले उनीहरूलाई दिएको त्यो पहिलो सैनिक सहयोग थियो । त्यसपछि वि.सं. १९१३ (सन् १८५७) मा भारतमा भएको सिपाही विद्रोह (भारतले भने यसलाई स्वतन्त्रताको पहिलो सङ्ग्राम लेख्छ) मा तत्कालीन बृटिश इन्डियाको कूटनीतिक मागअनुसार नेपालले करिब १४ हजार सेना पठाएको थियो । प्रधानमन्त्री जंगबहादुर राणा आफैँले सैनिक कारबाही सञ्चालन गरेका थिए । नेपाली सेनाको बहादुरीको र जंगबहादुरको कूटनीतिबाट यो विद्रोह शान्त पार्न सहयोग गरे वापत नेपाल–अङ्ग्रेज युद्धमा नेपालले गुमाएको भू–भागमध्ये बाँके, बर्दिया, कैलाली र कन्चनपुर अङ्ग्रेजबाट फिर्ता पायो । अन्तर्राष्ट्रिय क्षेत्रको कूटनीतिक सहयोगमा यो कार्य नेपालको दोस्रो पहलकदमी थियो ।
त्यसैगरी वि.सं. १९७१ (सन् १९१४) बाट सुरु भएको प्रथम विश्वयुद्धमा तत्कालीन बृटिश इन्डियाकै कूटनीतिक मागअनुसार नेपालले पहिला १४ हजार र पछि थप दुई हजार ५२२ गरी १६ हजार ११८ नेपाली फौज युद्धभूमिमा पठायो । नेपाली फौजको कामबाट बेलायत प्रभावित भई नेपाल सरकारलाई ठूलो प्रतिष्ठा प्राप्त भयो । श्री ३ चन्द्रशमशेर राणाको कूटनीतिबाट नेपालले वार्षिक रु. १० लाख रुपियाँ प्राप्त ग¥यो भने त्योभन्दा ठूलो कुरो एसिया महादेशमै नेपालले एक सार्वभौम राष्ट्रको मान्यता पायो । यो राजनीतिक पाटोमा ठूलो उपलब्धि थियो । साथै नेपालको राजालाई ‘हीज हाईनेस’ को सट्टा ‘हिज म्याजेस्ट्री’, प्रधानमन्त्रीलाई ‘हिज एक्सेलेन्सी’ को सट्टा ‘हीज हाईनेस’ र नेपाल सरकारलाई ‘गोर्खा दरबार’ को सट्टा ‘गर्भमेन्ट अफ नेपाल’ भनी सम्बोधन हुन थाल्यो । संसारमै नेपालको मर्यादा बढ्यो । यसभन्दा अगाडिसम्म नेपाललाई पश्चिमा मुलुकमा ‘गोर्खा’ र नेपाली सेनालाई ‘गोर्खा आर्मीज’ भनिन्थ्यो । प्रथम विश्वयुद्धपछिको दिनहरूमा नेपालले राजनीतिक र कूटनीतिक प्रतिष्ठा प्राप्त गरेकै हो । चन्द्र शमशेरको पालाबाट नै बृटिश इन्डियामा रहने गर्भनर जनरललाई नेपाली सेनाको मानार्थ महारथिको पदले सम्मान गर्ने र नेपालको श्री ३ लाई भने सन् १९०८ देखि नै फोर्थ गोर्खा रेजिमेन्टको ‘अनरी कर्नेल’ (मानार्थ महासेनानी) दिन थालियो । पछि बृटिशले भारत छाडेपछि पनि नेपाल र भारतबीच एक–अर्को सेनाको प्रधानसेनापतिले मानार्थ महारथिको सम्मान दिन थालियो । जुन हाल पनि छ तर चिनियाँ सेनासँग हाम्रो परम्परा छैन ।
श्री ३ जुद्धले पनि अङ्ग्रेजको अनुरोधमा वि.सं. १९९६ (सन् १९३९) बाट सुरु भएको दोस्रो विश्वयुद्धमा पनि करिब आठ हजार नेपाली सेना पठाइ सहयोग गरेका थिए । नेपाली सेनामा ‘गोर्खा ह्याट’ लगाउने प्रचलन यही दोस्रो विश्व युद्धपछि भएको थियो । विशेषगरी अङ्ग्रेज र जापानबीचको युद्धमा हालको बर्माका विभिन्न स्थलमा जापानीसँग युद्ध लडी, धेरै जना नेपाली सैनिकले मिलिटरी क्रस तक्मा पाएका थिए । यसपछि नेपाल र बेलायतबीच डिफेन्स डिप्लोमेसी (प्रतिरक्ष कूटनीति) मा बढोत्तरी भई उच्चस्तरका दुवै देशको सैनिक नेतृत्वको एक आपसमा भ्रमण हुने क्रम बढ्यो । उक्त युद्धपछि बेलायतमा नेपाली राजदूतावास खुल्ने र त्यहाँ सैनिक सहचारी पनि रहने व्यवस्था सुरु भयो । एसिया महादेशको नेपालले त्यसबखत बेलायतमा राजदूतावास खोल्न पाउनुभनेको कूटनीतिक इतिहासमा ठूलै फड्को मारेको हो । प्रथम र दोस्रो विश्वयुद्धमा लड्नको लागि नेपालले बृटिश आर्मीमा भर्ति हुन लाखौँ युवा पठाएको थियो । त्यो पनि कूटनीतिक सम्बन्ध बढाउनको लागि पठाइएको हो । त्यो जमानामा त्यही कुरो ठीक थियो । हाल विरोध गरेर कुनै काम छैन ।
अङ्ग्रेजले भारत छाडेपछि मात्र कूटनीतिक रूपमा नेपाल–भारत सम्बन्धको सुरुवात भएको हो । अङ्ग्रेजले भारत छाडनु अगाडि भारत र पाकिस्तानको सिर्जना गरी हिन्दु र मुसलमानको लागि छुट्टाछुट्टै देश खडा गरिदियो । मुस्लिमहरू पाकिस्तान र हिन्दु जति भारतमा रहने सम्झौता अनुसार कतिपय राज्यमा कुरा मिलेन । तीमध्ये हैदरावाद एक थियो र हिन्दु र मुसलमानबीचमा दङ्गा बढेपछि र भारतीय सेनाको नियन्त्रणभन्दा बाहिर हुन गएपछि प्रधानमन्त्री जवाहरलाल नेहरूको अनुरोधमा श्री ३ मोहन समशेर राणाले २० पल्टन (रेजिमेन्ट), करिब १८ हजारभन्दा बढी नेपाली फौज शान्ति स्थापनाको लागि हैदरावाद पठाए । वि.सं. २००५ (४ अगस्त १९४८) मा हिँडेका नेपाली फौजले लाखौँ हिन्दु–मुसलमानको ज्यान बचाए । जसको लागि भारत सरकारले ठूलो आभार व्यक्त ग¥यो । नेपालले पठाएको उक्त सैनिक टोली नेपाल–भारत कूटनीतिक सम्बन्धको शुभारम्भ (‘आइसव्रेक’) थियो ।
अर्कोतर्फ हेर्ने हो भने वि.सं. २०३१ (सन् १९७४) मा मुस्ताङ इलाकामा लुकेर रहेका दलाई लामा समर्थित तिब्बती खम्पा फौजले चीनको तिब्बतभित्र पसेर आङ्तक सिर्जना गरी जनधनको क्षति गर्न थालेपछि नेपाल–चीन सम्बन्धमा ठूलो सङ्कट छायो । त्यसबेला राजा वीरेन्द्रको संयम तथा नेपाल सरकार र नेपाली सेनाको बुद्धिमताबाट खम्पा मार्ने नाममा नेपाली भूमिमाथि चीनबाट हुनसक्ने हमलाको खतरा टारियो । अनि २०३१ असार १ गतेबाट नेपाली सेना परिचालन गरी मुस्ताङ जिल्लामा रहेका खम्पा निशस्त्रीकरण गर्न सैनिक कारबाही सुरु गरियो र खम्पा सेनाको सेनापति वाङदी
मारिएपछि यो कारबाही समाप्त भयो । यो सैनिक कारबाहीपछि नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बनेको छ ।
वर्तमानमा पनि संयुक्त राष्ट्रसङ्घको आह्वानमा वि.सं. २०१५ जेठ (सन् १९५८) बाट हालसम्म विश्व शान्ति कार्यमा नेपालले शान्ति सेना पठाउने कार्य गरी ठूलो योगदान दिएको छ । नेपाली सेनाले हरेक शान्ति मिसनमा गरेको कार्यलाई विश्वले प्रशंसा गरेको छ ।
दोस्रो विश्वयुद्धपछि बेलायतबाट नेपालले सुरु गरेको सैनिक सहचारी राख्ने काम हालसम्म पनि कायम रही हाल अमेरिका, बेलायत, चीन, भारत, पाकिस्तान र बङ्गलादेशमा काम गर्दैछन् भने डिफेन्स डिप्लोमेसीको पाटोलाई बलियो बनाइ अन्ततः कूटनीतिक पक्षको यशोवृद्धि गर्ने काम भएको छ । मित्रराष्ट्र रुसमा पठाइने सैनिक सहचारी केही वर्ष अघिबाट कटौती भई पठाउन रोकिएको छ ।
नेपाल एकीकरण गर्नु, विदेशी आक्रमणको विरुद्ध प्रतिकार गर्नु, कूटनीतिक सहयोगको लागि अन्य मुलुकमा सैनिक कारबाही गर्नु, विश्व शान्ति कार्यमा प्रशंसनीय काम गर्नु, देशमा प्रकृति संरक्षण, आन्तरिक सुरक्षा तथा विकास निर्माण जस्ता कार्य गर्नु आदि नेपाली सेनाका टड्कारा इतिहास र वर्तमान दुवै हुन् ।
(लेखक नेपाली सेनाको पूर्व ब्रिगेडिएर जनरल पनि हुनुहुन्छ )

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना