• ६ चैत २०८०, मङ्गलबार

निर्वाचनमा जटिल सुरक्षा चुनौती देखिँदैन : विज्ञहरु

blog

काठमाडौं, साउन २७ गते । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा भएसँगै निर्वाचन आयोग, गृह मन्त्रालय र चार वटै सुरक्षा निकाय सुरक्षा कार्ययोजनाको तयारीमा जुटेका छन् ।

निर्वाचन सुरक्षासँग सम्बन्धित विज्ञहरूले अहिलेको निर्वाचनमा राजनीतिक रुपमै विद्रोही समूहको चुनौती नदेखिए पनि दल भित्रको आन्तरिक कलह, असमझदारी र वृद्धा नेतालाई विस्थापित गर्नुपर्ने जस्ता कुराले सुरक्षामा चुनौती थपिने देखिएको बताउनुभएको छ । उहाँहरूले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गराएर जनताको मन जितेकाले एकै चरणमा निर्वाचन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

सरकारले चुनाव गराउँछ : श्रेष्ठ
पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठका अनुसार चुनाव आवधिकरुपमा भइरहने प्रक्रिया हो । सरकारले एकै चरणमा चुनाव गर्न सक्ने क्षमता देखाइसकेको छ । अब पनि हुन्छ, स्थानीय तहको चुनाव एकै चरणमा गरिसकेकाले संसदीय चुनाव पनि गर्छ ।

“स्थानीय स्वयम् सेवक वा अस्थायी प्रहरीको व्यवस्थापन गर्नुपर्ने हुन्छ,” श्रेष्ठले भन्नुभयो “त्यो सुरक्षाकर्मीहरुले विचार गर्नुपर्ने कुरा हो ।” निर्वाचनविरुद्ध चुनौती अहिले नरहेकाले सुरक्षाकै कोणबाट मात्रै हेर्ने होइन, यो सामान्य प्रक्रिया हो उहाँले भन्नुभयो । 

निर्वाचन आवधिक क्रियाकलाप हो । यसलाई एकदमै असामान्य परिस्थिति सिर्जना गरेर ठूलो सङ्कट देखाएर अहिले सुरक्षाको वृहत्तर आयोजनाहरु बनाइरहनु पर्लाजस्तो मलाई लाग्दैन, पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठको भनाइ छ ।

युवा चुनौती बन्न सक्छन् : पूर्व एआइजी भण्डारी
नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारीले यस पटकको निर्वाचनमा बिगतमा जस्ता चुनौती कम रहेकाले युवा पुस्ताको चुनौती आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ युवाको जमात धेरै देखिएको छ, यस्ता समूहहरु वृद्धा नेतालाई विस्थापित गर्नुपर्छ भन्नेमा लागेकाले छिनभरमै प्रदर्शन गर्न सक्ने हुनसक्छ । निर्वाचनको समयमा तीन चरणको सुरक्षा चुनौती हुन्छ । निर्वाचन अघि, निर्वाचनकै अवधि र निर्वाचनपछिको चुनौती । यसलाई ख्याल गर्नुपर्ने हुन्छ ।’’

बहिस्कारवादी समूहहरुले चुनावमा भाग नलिने हुँदा कतिपय स्थानमा द्वन्द्वको स्थिति सिर्जना हुन सक्छ । कुनै बेला माओवादी, विप्लव, सीके राउतलगायतका दलहरु द्वन्द्वमा रहेका थिए, त्यतिबेला जस्तो अहिले अवस्था छैन । भण्डारीले भन्नुभयो, ‘‘अहिले त्यस्तो कुनै समूह नरहेकाले त्यति चुनौती देखिँदैन, त्यसकारण बिगतको तुलनामा यस पटक सुरक्षा चुनौती कम रहेको आँकलन गर्न सकिन्छ ।”

 “युवा शक्तिले पुराना दलका वृद्धा नेतालाई विस्थापित गर्ने र नयाँ नेतालाई स्थापित गर्ने युवामा नयाँ ट्रेन्ड रहेको सामाजिक सञ्जालमा छाएको छ, त्यसको प्रभावमा झडप हुन सक्ने स्थिति पनि रहनसक्छ ।”

अहिले नयाँ खालको चुनौती भने थपिएको उहाँले बताउनुभयो । “युवा शक्तिले पुराना दलका वृद्धा नेतालाई विस्थापित गर्ने र नयाँ नेतालाई स्थापित गर्ने युवामा नयाँ ट्रेन्ड रहेको सामाजिक सञ्जालमा छाएको छ, त्यसको प्रभावमा झडप हुन सक्ने स्थिति पनि रहनसक्छ ।”

दोस्रो चुनौतीमा, सीमा क्षेत्रमा आयातीत किसिमका अपराधिक हतियारलगायत गुण्डाहरुको प्रयोग हुनसक्छ । त्यसमा कतिपय स्थितिमा साना हातियार पनि प्रयोग हुन सक्ने भण्डारीको बुझाइ छ ।

तेस्रो चुनौतीमा पैसा र बल (मनि मसल) को प्रयोग हुने हुुँदा गुण्डा प्रकृतिका व्यक्तिको परिचालन र प्रयोग गरी निर्वाचन विथोलिने सम्भावना हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन एकै चरणमा गर्दा जनशक्तिको प्रयोगमा कमी हुनसक्छ, सानो समूहले पनि बुथ कब्जा गर्ने सम्भावना हुन्छ । सहयोगमा धेरै मानिस हुन नसक्दा घटना पनि हुनसक्छ ।”

लोकप्रियलाई सुरक्षा चुनौती कम
एकै पटक निर्वाचन गर्ने अभ्यास राम्रो भएको भण्डारीले बताउनुभयो । यो भन्दा पहिले भएको स्थानीय तह निर्वाचनमा पनि त्यति धेरै घटना घटेन, भण्डारीको भनाइ छ । आफूले प्रहरी प्रधान कार्यालयको प्रतिवेदन हेरेकाले स्थानीय निर्वाचनमा २८–२९ हजार बुथ रहेकोमा त्यस्तो अप्रिय घटना नभएको स्थानीय चुनाव वास्तवमा म्यादी प्रहरीको भरमा चलेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “मतदातामा त्यो भावना देखिन्छ, जसमा विश्वास हुन्छ ।”

भण्डारीका अनुसार मतपेटिकाहरु सौहार्दतापूर्वक पठाइएको देखिन्छ । लोकप्रिय नेतालाई निर्वाचनमा सुरक्षाको चुनौती पनि कम हुन्छ । उहाँले भन्नुभयो, “अहिले पुराना र वृद्धा नेताहरु विरुद्धमा युवाको जमात आक्रोशित रुपमा आएको छ, कतिपय कार्यक्रममा युवाहरुको जमात मात्रै देखिन्छ ।”

निर्वाचन व्यवस्थापन सधैँ कमजोर
पूर्व एआइजी भण्डारीले निर्वाचन व्यवस्थापन जहिले कमजोर हुनेगरेको बताउनुभयो । तर शान्तिपूर्ण निर्वाचनले ठूला घटना नभएका मात्र हुन् उहाँले थप्नुभयो, “अरु घटना होलाजस्तो लागेको छैन, निर्वाचन शान्तिपूर्ण हुनेमा म ढुक्क छुँ ।” अहिले भएकै सुरक्षाकर्मीले चुनाव भने नथेग्ने उहाँले बताउनुभयो । सुरक्षाकर्मी थप्नु पर्ने उहाँको सुझाव छ ।

एउटा निर्वाचन क्षेत्रमा केही नागरिक, केही सुरक्षाकर्मी खटिएका हुन्छन् । त्यसमा दुई–चारजना मानिस थप्दैमा फरक पर्दैन । त्यसकारण सहमति, सौहार्दताको वातावरण राजनीतिक दलहरुले गर्नुपर्ने उहाँको भनाइ छ ।

“अहिलेको निर्वाचन प्रणाली एकदमै पुरानो शैलीको छ” भण्डारीले भन्नुभयो, “मतपेटिका बोकेर अन्तै लग्नुपर्छ, लामो समयसम्म मतगणनामा रहनुपर्छ । मतदान स्थलमा पर्याप्त मात्रामा सुरक्षाको व्यवस्थापन गरेको हुँदैन । त्यसले हरेक निर्वाचन व्यवस्थापन पक्ष कमजोर हुन्छ भन्ने देखाउँछ ।”

सुरक्षाकर्मीको सङ्ख्या मात्रै बढाएर केही नहुने भन्दै भण्डारीले भन्नुभयो “भएकै सुरक्षाकर्मीलाई सही रुपले सदुपयोग गरेर म्यादी प्रहरीको प्रयोग मात्रै पनि पर्याप्त हुन्छ ।”

सुरक्षा चुनौती धेरै जटिल छैन : प्रा.डा. केसी
नागरिक अगुवा प्राध्यापक डा. सुरेन्द्र केसीका अनुसार निर्वाचन सुरक्षाको दृष्टिकोणबाट हेर्दा हिजो असन्तुष्ट पक्षहरु राजनीतिको मूलप्रवाहबाट बाहिर रहेर गतिविधि गरिरहेकाले देशमा सुरक्षाको चुनौती थियो । तर, अहिले ती सबै शक्तिहरु त्यसखालको गतिविधिमा नभएकाले संगठित रुपमा आउने निर्वाचनमा अहिलेको परिस्थिति हेर्दा सुरक्षा चुनौती देखिदैन ।

उहाँले भन्नुभयो, “निर्वाचनमा संगठित शक्तिहरु कहिलेकाहीँ शान्तिको मूल प्रवाहबाट बाहिर हुन्छन् । संगठित शक्ति राजनीतिको मूल प्रवाहबाट बाहिर रह्यो भने सुरक्षामा चुनौती बढ्छ ।” विगतमाजस्तो माओवादी, मधेशवादीजस्ता शक्तिहरु हिंसात्मक गतिविधिमा सक्रिय नरहेकाले सुरक्षा धेरै जटिल चुनौती नरहेको उहाँको भनाइ छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।