बीउबिजन र खाद्य सुरक्षा

dipendra pokhrelदिपेन्द्र पोखरेल

“जस्तो रोप्यो त्यस्तै फल्छ” भन्ने हाम्रो समाजको पुरानो उक्तिबाटै बुझिन्छ, कि बाली उत्पादनमा मात्रात्मक तथा गुणात्मक वृद्धि ल्याउन बीउको अहं भूमिका रहन्छ । बाली उत्पादन गर्न बीउ एउटा प्रमुख पक्ष हो । बाली उत्पादन गर्न आवश्यक सामग्रीमध्ये गुणस्तरयुक्त बीउ एक अपरिहार्य वस्तु भएले बीउ उत्पादन कार्यक्रम व्यावसायीकरणतर्फ रूपान्तरण हुँदै गइरहेको छ । गुणस्तरयुक्त बीउको अभावमा उत्पादनमा ठूलो ह्रास हुन्छ । बीउ एउटा जीवित विरुवाको सानो रूप हो । त्यसमा विरुवाका सम्पूर्ण गुण जस्तै उम्रने क्षमता रहन्छ । नेपालका अधिकांश कृषकले बीउ आफैँ उत्पादन गरी प्रयोग गर्दै आएकामा पछिल्ला वर्षदेखि कृषि कार्यालय, निजी फार्म, पसल÷केन्द्रबाट किन्ने गरेका पाइन्छ । बीउबिजनको लागि अरूको भर पर्दा बीउ महँङ्गो पर्ने, समयमा उपलब्ध नहुन सक्नेजस्ता समस्या आउन सक्छन् । नेपालमा कृषि उत्पादकत्व कम हुनुको एक मुख्य कारणमध्ये गुणस्तरीय बीउको अभाव पनि एक हो । गुणस्तरीय बीउको प्रयोगबाट उत्पादनको प्रत्याभूति हुने हुँदा बीउ उत्पादन कार्यक्रमलाई विशेष प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।
सन् १९६० को हरित क्रान्ति प्रविधिको प्रवेशसँगै नेपालमा धान, मकै र गहुँका विभिन्न जात भिœयाइएको र सँगसँगै औपचारिक बीउ प्रणालीको सुरुवात भएको थियो । नेपाली बीउ प्रणालीमा सुरुदेखि परम्परागत घरैमा राख्ने गरिएका हुन्थे । त्यसपछि सन् १९९० सम्म सरकारी क्षेत्रको बढी भूमिका थियो भने सन १९९१ निजी बीउ व्यावसायी सङ्गठित भई बीउबिजन प्रणालीमा प्रवेश गरेको पाइन्छ छ । खाद्यान्न उत्पादन वृद्धि तथा खाद्य सुरक्षाको लक्ष्यसहित विभिन्न आयोजना तथा परियोजना पनि सञ्चालन भइसकेका छन् । सन् १९८८ पछि मात्र करिब २० वटा बीउबिजन सम्बन्धी आयोजना कार्यान्वयन भएका थिए, जसले विशेषगरी समुदायमा आधारित बीउबिजन पद्धतिको सुरुवात, निजी क्षेत्रलाई बीउ उत्पादनमा संलग्न, बीउबिजनको बजारीकरण तथा निर्यात बजारको खोजीजस्ता कार्यमा सहयोग पु¥याएको देखिन्छ । नेपालले बीउबिजन प्रणालीलाई थप व्यवस्थित गराउन सन् १९८८ मा बीउबिजन ऐन (संशोधन २००८), बीउबिजन नियमावली १९९७, बीउबिजन उत्पादन निर्देशिका १९९८ र बीउबिजन नीति १९९९
(संशोधन २०१२) ल्याइ बीउबिजन व्यवसायलाई सहयोग पु¥याइएरहेका छन् ।
विभिन्न अनुसन्धानका अनुसार स्थानीय खेती व्यवस्थामा पनि असल बीउ प्रयोग गर्दा १५ देखि २० प्रतिशत प्रतिशतसम्म वृद्धि ल्याउन सकिन्छ । वैज्ञानिक खेती व्यवस्थाको साथमा असल बीउ प्रयोग गर्दा उन्नत जातको पूरै क्षमता लिनसकिन्छ र उत्पादनमा अरू धेरै वृद्धि हुनसक्छ । जसले गर्दा प्रत्येक वर्ष बीउबिजनको मागको परिमाण वृद्धि हुँदै आएको पाइएको छ । नेपालको स्थिति हेर्ने हो भने अझै पनि गुणस्तरीय बीउबिजनको प्रयोग हुनसकेको छैन । नेपालमा अहिले पनि बीउ प्रतिस्थापन वा बदल्ने दर अति नै कम रहेको छ । सैद्धान्तिकरूपमा बीउ बदल्ने दर स्वयंसेचित बालीमा २५, परसेचित बालीमा ३३ प्रतिशत र हाईब्रिड जातमा शतप्रतिशत हुनुपर्ने मान्यता छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा बीउ बदल्ने दर धानमा नौ मकैमा सात र गहुँमा नौ प्रतिशत रहेको तथा तरकारी बालीमा ६६ प्रतिशत रहेको छ । यसको मतलब नेपाली कृषकले अझसम्म पनि आफैँले सञ्चय गरी राखेको बीउ प्रयोग गरिरहेको बुझिन्छ । नेपाली कृषक कृषि विज्ञानसम्बन्धमा खासै जानकार नभएकाले बीउ प्रतिस्थापन दर अत्यन्तै कम हुनुले नेपालमा कृषि उपजको उत्पादकत्व कम रहेको प्रस्ट्याउँछ ।
सरकारी तथ्याङ्कअनुसार विगतका वर्षमा खाद्यान्न तथा तरकारी बालीमा उन्नत बीउको प्रयोग बर्सेनि बढ्दै गइरहेको देखिन्छ । धानबालीको बीउ प्रतिस्थापन दर २०६४÷६५ मा ५.८३, २०६५÷६६ मा ६.५१, २०६६÷६७ मा ९.१ र २०६७÷६८ मा ९.६ पाइएको र बीउ बदल्ने दरमा आएको परिवर्तनसँगै उत्पादकत्वमा पनि सुधार भएको देखिन्छ । बीउबिजनको विगतका वर्षमा आपूर्ति परिणाम पनि बढ्दै गइरहेको छ । धान बालीमा गुणस्तरीय बीउको आपूर्ति परिणाम २०६४÷६५ मा चार हजार ५१९, २०६५÷६६ मा पाँच ०७१, २०६६÷६७ मा छ हजार ७६८ र २०६७÷६८ मा सात २०९ मेट्रिक टन रहेको छ भने यी वर्षहरूमा माग ७७,४६३, ७७,७९७, ७४,०६४ र ७४,८२३ मेट्रिक टन रहेको थियो । आवश्यक मात्रामा गुणस्तरीय बीउको उपलब्धता हुनसकेको अवस्था छैन तथापि बर्सेनि बढिरहेको वर्तमान अवस्थाले पनि बीउ व्यवसायमा सकारात्मक सुधारको सङ्केत मान्नु जरुरी रहन्छ ।
बीउबिजन मूल्य शृङ्खलाका विभिन्न तहमा विभिन्न किसिमका व्यवधान रहेका कारण माग अनुसार बीउबिजन आपूर्ति हुनसकेको छैन । केही वर्षअघिसम्म बीउबिजनको उत्पादन तथा वितरण सरकारी क्षेत्रबाट अधिक हुने थियो तर हाल सरकारी क्षेत्रको योगदान ५० प्रतिशतभन्दा कम रहेको छ । हाल निजी क्षेत्रको बीउ व्यवसायमा प्रवेश, कृषक समूह तथा सहकारीमार्फत बीउवृद्धि कार्यक्रम सञ्चालनमा रहेकोले पनि निजी क्षेत्रले बीउको आपूर्तिमा योगदान बढाउँदै गइरहेको हो । बीउबिजनका विभिन्न कार्यक्रम देशभरका जिल्लामा सञ्चालन भए पनि मध्यपहाड तथा उच्चपहाडी जिल्ला जहाँ खाद्यान्न उत्पादन तथा उत्पादकत्व कम भइरहेकोमा बाली वा बीउ अधिकृत तथा सहायक कर्मचारीको दरबन्दी नहुनुले पनि बीउ उत्पादन तथा प्रतिस्थापनमा प्रभावकारी काम हुनुसकेको छैन । नेपाली कृषकहरूमा बीउको महŒव सम्बन्धी जानकारी नभएकाले गुणस्तरीय बीउबिजन उत्पादन, प्रयोगसम्बन्धी प्राविधिक ज्ञान, सीपसँगै क्षमता अभिवृद्धि गर्नु जरुरी देखिन्छ । बीउबिजन सम्बन्धी कृषि प्राविधिकमा पनि दखल कम रहेकाले विभिन्न जिल्ला कृषि विकास कार्यलय तथा फार्म÷केन्द्रमा ठूलो मात्रामा बीउबिजन कुहिएर खेरगएका समाचार आइरहेका छन् । तसर्थ दक्ष व्यक्तिद्वारा कृषि प्राविधिकलाई पनि समायनुकूल बीउबिजनसम्बन्धी तालिम प्रदान गर्नु त्यत्तिकै महŒवपूर्ण छ ।
हुनत फार्म÷केन्द्र तथा बीउबिजन कम्पनी गुणस्तरीय बीउ उत्पादन तथा वितरणमा लागि परेका छन् । यसका साथै गुणस्तर नियन्त्रणका लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र तथा क्षेत्रीयस्तरमा रहेका बीउबिजन परीक्षण प्रयोगशालाले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । तथापि बीउबिजन उत्पादनको क्रममा कृषक समूह तथा सहकारीको बीउ निरीक्षण गर्नको लागि निरीक्षकको कम उपलब्धता रहेको देखिन्छ । यी चुनौतीका भए पनि उन्नत तथा गुणस्तरीय बीउको माग तथा आपूर्ति बर्सेनि बढिरहेको छ । जिल्लास्तरीय बीउबिजन आत्मनिर्भर कार्यक्रम, सामुदायिक संस्थामार्फत उत्पादन, प्रशोधन तथा बजारीकरण कार्यमा अनुदानजस्ता वर्तमान पहलले बीउबिजन उत्पादन तथा महŒव जानकारी आमकृषकमा सम्प्रेशण गर्देजानु आवश्यक छ । कमसल बीउबिजनको प्रयोगसँगै जटिल बन्दै गइरहेको खाद्यान्न उत्पादनको सन्दर्भमा नेपालमा रहेका बीउबिजन सरोकारवालालाई एकै थलो ल्याइ बीउबिजनसँग सम्बन्धित विद्यमान समस्यामाथि छलफल गरी अगाडि बढ्नका लागि बाटो पहिल्याउन जरुरी भएको छ ।
बढ्दो खाद्य असुरक्षाबाट उन्मुक्ति पाउन नेपाली कृषकलाई बीउप्रतिको जनचेतना तथा बीउ उत्पादन प्रविधि जस्ता विषयमा क्षमता अभिवृद्धि गर्नुपर्छ । साथै बीज वृद्धि सम्बन्धी दिगो कार्यक्रम सञ्चालन गरी गुणस्तरीय बीउको सर्वशुलभ उपलब्धता हुने वातावरण बनाउनुपर्छ, जसको कारण बीउ बदल्ने दरमा वृद्धिका साथ कृषि उपजको उत्पादकत्व वृद्धि हुने र खाद्य सुरक्षामा टेवा पुग्ने छ ।
( लेखक बाली विकास अधिकृत हुनुहुन्छ )

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना