राष्ट्रिय पत्रकारिता दिवसको सार्थकता

Shriramsingh basnetश्रीरामसिंह बस्नेत

मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक ऐतिहासिक निर्णय गरेको छ, वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरेर । वास्तवमा यो निर्णय गोरखापत्रले शतवार्षिकी मनाइरहेको वर्ष २०५८ मै हुनुपर्ने थियो तर त्यतिखेरका नीति निर्माता वा निर्यणकर्ताका घैँटामा घाम लागेन । घोषणा त परै जाओस्, राष्ट्रिय पत्रकारिता दिवसको आवश्यकताबारे चर्चासम्म पनि गरिएन त्यतिखेर । जे होस् ढिलै भए पनि एउटा सकारात्मक शुभारम्भ हुन लागेको छ । अबको प्रश्न हो– कसरी मनाउने राष्ट्रिय पत्रकारिता दिवस ?
कुनै पनि कुरा घोषणा गर्न जति सजिलो हुन्छ, त्यसलाई सार्थकता दिन त्यति सजिलो हुँदैन । नेपालमा सरकारले धेरै कुरा घोषणा गरेको छ र गरिरहने छ तर त्यसको सार्थकताको लेखाजोखा गर्दा भने नाक खुम्च्याउनुपर्ने स्थिति छ । नव घोषित पत्रकारिता दिवसले पनि यही नियति भोग्न नपरोस्, चनाखो हुनुपर्ने पहिलो चुनौती यही नै हो । नेपालमा हरेक विषय वा सन्दर्भलाई राजनीतिक रङ्गको चश्माले हेर्ने विगत २५ वर्षदेखि चलिआएको गलत परिपाटीका कारण कैयौँ सकारात्मक प्रयास पनि तुहिन वा कुहिन पुगेका छन् । यस परिप्रेक्ष्यमा पत्रकारिता दिवस मनाउने निर्णयलाई राजनीतिक सङ्कीर्णताबाट टाढा राख्नु सबैभन्दा आवश्यक छ । अन्यथा, अहिले नेकपा एमालेको नेतृत्वमा सरकार रहेको, सूचना तथा सञ्चार मन्त्रालयमा पनि नेकपा एमालेकै मन्त्री रहेको र गोरखापत्रका निमित्त प्रधानसम्पादक पनि अहिलेकै सरकारले नियुक्त गरेको निहँु देखाइ पत्रकारिता दिवसलाई नै एमालेको मात्र सरोकार ठानेर अन्य पक्षले यसलाई उपेक्षा नगर्लान् भन्न सकिँदैन । किनकि विगतका सरकारहरूले गरेका धेरै निर्णयलाई राष्ट्रले गरेको निर्णय नठानी कुनै पार्टी वा समूहले गरेको निर्णय जस्तो मात्र ठानी कार्यान्वयनमा कञ्जुस्याइँ गर्ने गरिएका धेरै उदाहरण पाइन्छन् । त्यस्ता उदाहरण खोज्न टाढा जानुपर्दैन, सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत नै बग्रेल्ती भेटिन्छन् । साथै पत्रकारिता दिवसलाई आफ्नो पालाको निर्णय भन्दै नेकपा एमाले र अहिलेका सम्बन्धित पदाधिकारीले आफ्नै वपौती ठान्न खोजेमा त्यो अर्को विडम्बना हुनेछ । तसर्थ यस दिवसलाई यो वा त्यो पक्षको नभई राष्ट्रकै धरोहरको सम्मानको रूपमा उदार मनले मनाउन सकेमा मात्र यसको सार्थकता रहनेछ ।
नेपालमा राष्ट्रिय पत्रकारिता दिवस मनाउन वैशाख २४ गतेभन्दा उपयुक्त दिन अरू कुनै थिएन र हुने पनि छैन । किनकि राणा शासन कालकै बेला भए पनि कालो बादलको छेउमा चाँदीको घेराझैँ उदाएका सुधारवादी शासक देव शमशेरकै साहस र सत्कर्म अनि नरदेव पाण्डे जस्ता कर्मठ पत्रकारकै प्रतिभाका कारण पहिलो अखबारको रूपमा प्रकाशित गोरखापत्र जनताको हातमा पुगेको पहिलो दिनभन्दा बढी गौरव गर्नसकिने अरू कुनै दिन नेपाली पत्रकारिताको इतिहासमा छैन । तसर्थ यो दिनलाई गोरखापत्रको मात्र जन्मदिन होइन, नेपालमा अखबारी पत्रकारिताकै जन्मदिनका रूपमा सम्मान गरिनुपर्छ । विशेषगरी नेपालको समग्र पत्रकारिता क्षेत्रले नै वैशाख २४ लाई पत्रकारिता दिवसका रूपमा मनाउनुपर्छ, यसलाई आजको गोरखापत्रसँग मात्र जोडेर हेर्ने हो भने यो दिवसले सार्थकता पाउन सक्दैन ।
२०७२ सालसम्म वैशाख २४ गते गोरखापत्रको मात्र वार्षिकोत्सव वा जन्मदिवसमा सिमित थियो तर २०७३ वैशाख २४ गतेदेखि यो दिवसले गोरखापत्रको घेरा नाघेर देशव्यापी बन्ने सौभाग्य पाउने छ । तसर्थ त्यस दिन विगतमा झैँ एउटा सभाकक्षमा केही मानिस भेला गरेर दुई चार जनाको काम चलाउ औपचारिक भाषणमा मात्र अब मनाइने राष्ट्रिय पत्रकारिता दिवस सिमित हुनुहुँदैन । यसलाई राष्ट्रव्यापी रूपमा मनाइनुपर्छ । यसका लागि नेपाल पत्रकार महासङ्घ र त्यसका जिल्ला शाखालाई परिचालन गर्न सकिन्छ ।
नेपालमा फोटो पत्रकारिता दिवस पनि गोरखापत्रमा पहिलोपटक फोटो छापिएको मिति (वि.सं.१९८४ वैशाख १३ गते) कै आधारमा वैशाख १३ गते मनाउने गरिएको छ । गोरखापत्र संस्थानका फोटो पत्रकारहरू मात्र होइन नेपालका सबै क्रियाशील फोटो पत्रकारहरूले उत्साहपूर्वक त्यो दिवस मनाउँछन् । यो परिपाटी सुरु गर्ने नेपालका फोटो पत्रकारहरू धन्यवादका पात्र छन् । यही अवधारणालाई राष्ट्रिय पत्रकारिता दिवसमा पनि अनुकरण गर्नु आवश्यक छ ।
त्यस दिन पत्रकारिता सम्बन्धी विभिन्न सङ्घसंस्थाले नेपालको समग्र पत्रकारिता, प्रेस स्वतन्त्रता, लोकतन्त्रमा प्रेसको भूमिका, सामाजिक रूपान्तरण र आर्थिक विकासमा अब नेपाली प्रेसले निर्वाह गर्नुपर्ने दायित्व, पत्रकारहरूको पेसागत सुरक्षा, व्यावसायिक पत्रकारिताको विकास जस्ता विभिन्न अहं विषयमा गहन छलफल चलाई ठोस निष्कर्ष निकाल्ने प्रयोजनका कार्यक्रम आयोजना गर्नु सान्दर्भिक हुनेछ ।
राष्ट्रिय पत्रकारिता दिवस अन्य दिवसजस्तै एउटा रूखो औपचारिकता, निरर्थक भाषण, अनावश्यक तामझाम र सस्तो प्रचारबाजीमा नरुमल्लियोस् । जसरी गोरखापत्र सबै नेपालीले गर्व गर्न सक्ने धरोहर बनेको छ, यसकै कारण सम्भव भएको राष्ट्रिय पत्रकारिता दिवस पनि कमसेकम सम्पूर्ण नेपाली आमसञ्चारकर्मीले अपनत्व र गर्वको अनुभूति गर्नसक्ने दिन बनोस् भन्नेमा सम्बन्धित सबै पक्ष सजग भएर कार्यान्वयन गरेमा मात्र यो नव घोषित ऐतिहासिक दिवसले सार्थकता पाउने छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना