• ६ चैत २०८०, मङ्गलबार

सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न चाहन्छ : मन्त्री बडू

blog

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू । फाइल तस्बिर

काठमाडौं, साउन २६ गते। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताउनुभएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले सरकार निजी क्षेत्रसँग साझेदारीमा र पूर्ण विश्वासका साथ काम गर्न चाहेको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा नै अहिलेको आर्थिक अवस्थालाई सुधार गर्न चाहेको बताउनु भयो। मन्त्री बडूले सरकारले आफ्नो सीमा भित्र रहेको सहयोग गर्न तयार रहेको बताउनु भयो। उहाँले मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनुपर्ने पनि बताउनु भयो। उहाँले अहिले सञ्चालनमा आएका उद्योग पनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको बताउनु भयो । 

मन्त्री बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनु भयो। उहाँले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै निजी क्षेत्रले पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न तयार रहन आग्रह गर्नुभयो। उहाँले विश्वासका साथ सहकार्य गर्न र अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यकता भएको बताउनु भयो।

मन्त्री बडूले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढीरहेको बताउनु भयो। उहाँले निजी क्षेत्रलाई सरकार स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने काममा प्रतिवद्ध रहेको बताउनु भयो।