साँढे पाँच वर्षमा काँग्रेसका १२९ बैठक

काठमाडौँ, फागुन २२ गते  । नेपाली काँग्रेसले २०६७ साल असोज पहिलो साता सम्पन्न १२ औं महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको हालसम्म १२९ पटक बैठक भएको जनाएको छ ।

काँग्रेसको १३ आँै महाधिवेशनको शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । बन्दसत्रमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत पार्टीको साङ्गठनिक प्रतिवेदनमा कार्यकालभरिका बैठक र समितिले कार्यकालमा गरेका प्रमुख कामका बारेमा उल्लेख छ ।

प्रतिवेदनमा जननायक बिपी कोइराला, नेता सुवर्णशम्शेर, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, लोकतान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइराला, निष्ठावान् नेता सुशील कोइरालालाई उहाँहरूका काम र योगदानका साथ स्मरण गरिएको छ ।

त्यस्तै काँग्रेसको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको र तराई–मधेसको असन्तुष्टिलाई समेटेर संविधानको पहिलो संशोधनको पहल पनि काँग्रेसको नेतृत्वमा नै भएको उल्लेख छ । संविधानको प्रभावकारी कार्यान्वयनको नेतृत्व काँग्रेसले लिने र संविधानअनुरुप पार्टीको नयाँ संरचना निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ ।

आज बन्द सत्रमा छलफल हुने सो प्रतिवेदनमा काँग्रेसले शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संविधान निर्माणमा पार्टीले खेलेको भूमिकाको चर्चा गर्नाका साथै भूकम्पपछि पार्टीले उद्धार तथा राहतमा उल्लेख्य भूमिका निर्वाह गरेको जनाइएको छ ।

केही समयअघि दक्षिणी सीमामा देखिएको अवरोध हटाउन पार्टीले जिम्मेवारी भूमिका निर्वाह गरेको, सङ्गठन विस्तारमा भए गरेका काम, पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेका काम लगायत विषय पनि उल्लेख छ । सो कार्यकालमा पार्टीको दुई पटक जिल्ला सभापतिको भेला र २०६९ चैत २६ देखि २९ गतेसम्म नवलपरासीमा महासमिति भेला सम्पन्न भएको थियो ।

बन्द सत्रको पहिलो दिन शुक्रबार कावा सभापति रामचन्द्र पौडेलका तर्फबाट पार्टीको नीति तथा कार्यक्रम, महामन्त्रीद्वयको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

आज सबै प्रतिवेदनमाथिको छलफल हुने र बन्द सत्रपछि यही फागुन २३ गते मतदान हुने कार्यतालिका छ ।

शुक्रबारको बन्द सत्रले काँग्रेसको विधानमा उल्लेख अञ्चलबाट निर्वाचित एक जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यको प्रावधानलाई संशोधन गरेको छ । सो प्रावधानलाई केन्द्रीय समितिले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गरी प्रत्येक प्रदेशबाट दुईका दरले केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था यसअघि गरेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना