पत्रकारको लाइसेन्स

krishna shresthaकृष्ण श्रेष्ठ

 

पत्रकारको वर्गीकरण र योग्यताबारे नेपालमा पनि औपचारिक बहस प्रारम्भ भएको छ । ‘पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धनका लागि’ स्थापना गरिएको प्रेस काउन्सिल नेपालले नेपालमा अखबारी पत्रकारिता प्रारम्भ भएको ११४ वर्षपछि गत माघमा यस विषयमा बहसको थालनी गरेको हो । यसले नेपाली सञ्चार माध्यम, सञ्चारकर्मी र पत्रकारिताका गुरुहरूलाई तताउन भने सकेको देखिँदैन ।
किन चाहियो योग्यता
काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीका अनुसार, कानुन व्यवसायी, इन्जिनियर, चिकित्सक, नर्स, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक वा शिक्षक हुन योग्यता चाहिन्छ भने पत्रकार हुन पनि योग्यता चाहिन्छ, परीक्षा उत्तीर्ण गर्नुपर्छ । त्यसैले यसबारेमा प्रेस काउन्सिलले छलफल अगाडि बढाएको छ ।
यहाँ तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले वि.सं. २०६६ मा उठाउनु भएको प्रश्न पनि स्मरणीय हुन आउँछ । उहाँको भनाइ थियो– ‘... सेना र प्रहरीमा भर्ती हुन नौ महिना तालिम लिनुपर्ने, परराष्ट्र सेवाको निम्ति परीक्षाको छुट्टै व्यवस्था हुने, निजामती सेवामा प्रवेश गर्दा लोकसेवा भिड्न पर्ने अनि केही पनि नगरी कुनै पनि परीक्षा नदिई पत्रकारको लाइसेन्स चाहिँ खुरुक्कै पाइने ? पत्रकारहरूलाई पनि मेडिकल काउन्सिलको जस्तो जाँच दिएर उत्तीर्ण गर्ने प्रावधान बनाउनु पर्छ कि ? कोही मान्छे पत्रकारितामा आएको छ भने त्यसले काउन्सिलबाट केही न केही परीक्षा त पास गर्नुप¥यो नि (संहिता, वि.सं. २०६६ साउन–असोज, प्रेस काउन्सिल नेपाल)!’
बेलाबेलामा अनौपचारिकरूपमा नै भए पनि कुरो उठ्ने गरेको यो विषयमा पत्रकारबीच नै पनि स्पष्टतः दुई धार देखिन्छ । एउटा धार यो बहस नै निरर्थक मान्छ । उनीहरू पत्रकार हुन कुनै खास शैक्षिक योग्यता हासिल गर्नुपर्ने र योग्यता परीक्षा दिनुपर्ने कुरालाई बाहियात मान्छन् ।
अर्को धार पत्रकारिता पेसामा लाग्न केही निश्चित मापदण्ड सम्बन्धित व्यक्तिले पूरा गरेको हुनुपर्ने ठान्छ । अझ पत्रकारिता शिक्षण पेसामा संलग्न केही व्यक्तिका विचारमा पत्रकारिता मूल विषय लिएर कम्तीमा स्नातक गरेको व्यक्तिले मात्र पत्रकारिता गर्न पाउनु पर्छ ।
कुनै बेला नेपालमा पत्रकारिताको स्नातकोत्तर पठनपाठन हुने एउटा मात्र शिक्षण संस्था थियो, रत्न राज्यलक्ष्मी । हाल पत्रकारितामा स्नातकोत्तरको पठनपाठन हुने कलेजको सङ्ख्या बढ्दो छ । देशभित्र कलेजको पठनपाठनमा ‘फङ्सनल पेपर’का रूपमा पत्रकारिता पढाउने मात्र होइन, ‘दश जोड दुई’ कक्षाहरूमा समेत पत्रकारिता पढाउन थालिएको छ । विदेशबाट पत्रकारितामा उच्चशिक्षा हासिल गरेर फर्केकाहरू पनि बढ्दैछन् । यसैको परिणाम हो, पत्रकारिता विषय पढेकाले मात्र पत्रकारिता गर्न पाउनुपर्ने चिन्तन ।
यहाँ विदेशमा भएका तीन घटनाको चर्चा प्रासङ्गिक हुन आउँछ । नेपालमाभन्दा झण्डै सवा सय वर्षअघि पत्रकारिताको थालनी भएको तथा विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भनिने भारतमा सन् २०१३ मार्चमा त्यहाँको प्रेस काउन्सिलका तत्कालीन अध्यक्ष मार्केण्डेय काट्जूले पत्रकार हुन चाहिने न्यूनतम योग्यताबारे सिफारिस गर्न एउटा कमिटी नै गठन गर्नुभएपछि त्यहाँ ठूलै हङ्गामा भयो । काट्जूले कानुन व्यवसायी हुन एलएलबीको डिग्री र बार काउन्सिलमा दर्ता भएको हुनुपर्ने, चिकित्सा पेसामा लाग्न एमबिबिएस डिग्री र मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने, शिक्षक हुन शिक्षक तालिम प्रमाणपत्र हुनुपर्ने वा अन्य पेसामा लाग्न डिग्री हुनुपर्ने तर पत्रकारिता पेसामा प्रवेशका लागि कुनै योग्यता नचाहिने स्थिति रहेको भन्दै असन्तुष्टि व्यक्त मात्र गर्नु भएन, पत्रकारिता विषयमा थोरै वा अपर्याप्त तालिम लिएकाहरू यस पेसामा प्रवेश गरेका र उनीहरूले पत्रकारिताको उच्चस्तरलाई प्रायशः कायम नराखेकै कारण नकारात्मक असरतर्फ डो¥याएको धारणा पनि सार्वजनिक गर्नुभयो । काट्जूद्वारा प्रस्तुत अवधारणाप्रति त्यहाँका पत्रकारितासँग सम्बन्धित संस्था तथा चर्चित पत्रकारहरूले असहमति जनाए । कतिपय पत्रकारले त्यसलाई ‘सिल्ली’ र ‘नन्सेन्स’ समेत भने ।
काट्जूको भनाइ सार्वजनिक भएको केही महिनापछि भारतकै तत्कालीन सूचना एवं प्रसारणमन्त्री मनीष तिवारीले पनि पत्रकार अनुमतिपत्रका लागि योग्य हुन एउटा परीक्षाको प्रस्ताव सार्वजनिक गर्नुभयो । उक्त प्रस्तावप्रति पत्रकारितासँग सम्बन्धित संस्थाहरूले तत्कालै विमति जनाए । कसै–कसैले त त्यसलाई ‘निर्बुद्धि’को संज्ञासमेत दिए ।
अफ्रिकी मुुलुक उगाण्डामा केही साताअघि त्यहाँको संसद्ले नयाँ निर्देशिका जारी गर्दै संसद्को गतिविधि रिपोर्टिङ गर्न सञ्चार माध्यमबाट खटाइने पत्रकारले पत्रकारिता, सञ्चार वा सम्बन्धित क्षेत्रमा स्नातक गरेको र कम्तीमा तीन वर्ष पत्रकारिता गरेको हुनुपर्ने उल्लेख ग¥यो । त्यसले त्यहाँ हङ्गामा मच्चियो र विवाद तन्किएर अदालतसम्म पुग्यो ।
नेपालमा प्रेस काउन्सिलले प्रारम्भ गरेको बहसमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले कम्तीमा पत्रकारितामा स्नातक गरेको हुनुपर्ने, सँगै तालिमको पनि आवश्यकता रहेको औंँल्याउनुभएको सार्वजनिक भएको छ ।
शैक्षिक कि पेसागत योग्यता
पत्रकारितामा स्नातक गरेका व्यक्ति मात्रै पत्रकारितामा सफल हुन्छन् भन्ने चिन्तनलाई प्रचलित अभ्यासले पूर्ण सत्य प्रमाणित गर्दैन । स्थापित वा ठूला सञ्चार माध्यमहरूले पत्रकारहरू भर्ना गर्दा सामान्यतः आमसञ्चार वा पत्रकारिता विषयमा स्नातक गरेकालाई प्राथमिकता दिने गर्छन् तर यसरी भर्ना गर्दा उनीहरूले ‘फ्रेस कलेज ग्राजुयट’भन्दा अनुभवीलाई प्राथमिकता दिन्छन् र उनीहरूका प्रकाशित–प्रसारित सामग्रीलाई मुख्य आधार मान्छन् ।
अनुभवसिद्ध कुरो के हो भने ‘लिडका प्रकार’ वा ‘हेडिङका प्रकार’ वा सम्पादकीय वा ‘लेआउट डिजाइन’को परिभाषा जानिँदैमा वा पत्रकारितासँग सम्बन्धित विभिन्न पारिभाषिक शब्दावली घोक्दैमा पत्रकारिता गर्न सकिँदैन । पत्रकारिताको कर्मभूमिमा शैक्षिक योग्यता मात्र पर्याप्त छैन भन्ने अनुभव इन्टर्नसिपमा आउने गरेका प्रशिक्षार्थीहरूको कुरा र काम गराइबाट सञ्चार माध्यमका सम्पादकहरूले गर्ने गरेका छन् । यसैले कुनै कुनै सञ्चार माध्यमले इन्टर्नसिपमा राख्न पनि लेखन सिपको परीक्षा लिने गरेका छन् । यस्तै, पत्रकारिता शिक्षणमा सफल मानिएका विश्वविद्यालय शिक्षकहरूमध्ये नै पनि कतिपय कर्मभूमिमा ‘फिस्स’ सावित भएका छन् । विदेशबाट पत्रकारिता विषयमा नै विद्यावारिधि गर्नुभएका एक व्यक्ति विद्यावारिधिपछि पत्रकारिताको तालिम प्रदान गर्ने एउटा संस्थामा भर्ना भएको घटनाबाट पनि पत्रकारिता पढेर मात्र गर्न सकिने कुरो होइन भन्ने प्रमाणित हुन्छ ।
अर्को कुरो, पत्रकारिताका केही विद्यार्थीमा ‘हामी त पत्रकारिता पढेर आएका’ भन्ने ‘दम्भ’ले जितेको पाइन्छ । यसमाथि ‘फङ्सनल पेपर’ले त पत्रकारिताको हुर्मत लिने काम गजबसँग गरिरहेको छ । छापा तथा टेलिभिजन पत्रकारितासँग सम्बन्धित संस्थाको बारम्बार नेतृत्वसमेत गरेका एक पत्रकारका अनुभवमा पत्रकारिताका ‘फ्रेस ग्राजुयट’हरूमा औसतमा काम गर्ने ‘एटिच्युड’को अभाव छ । यस्तै, शब्द भण्डारमा बहुप्रचलित दुई हजार शब्दको ज्ञान पनि नभएको व्यक्तिले ‘फिचर लेखन’को तालिम लिएका भरमा ‘फिचर’ लेखक बन्न सक्दैन भन्ने अर्का वरिष्ठ पत्रकारको भनाइ पनि यहाँ त्यतिकै मननयोग्य छ । यसरी के देखिन्छ भने पत्रकारितासम्बन्धी शैक्षिक योग्यताले पेसागत योग्यता वृद्धि गर्छ भन्ने कुरो निर्धक्कसँग भन्न सकिने स्थिति छैन ।
पत्रकारिता पेसामा लाग्न चाहने व्यक्तिमा विषयगत ज्ञानको त खाँचो पर्छ नै, उसमा लेखन सिप, सम्बन्धित भाषामाथि पकड, अध्ययनको निरन्तर भोक र उत्सुकता, समय व्यवस्थापन, कामप्रतिको प्रतिबद्धतालगायतका गुणको आवश्यकता पनि रहन्छ, जसले उसलाई यस पेसामा दक्षतापूर्वक टिकिरहन सघाउँछ । अन्यथा शैक्षिक योग्यता ‘देखाउने दाँत’ मात्र हुन पुग्छ । पत्रकारिता ‘ग्लेमर’को पेसा त हो तर यो त्यसभन्दा अधिक गहन जिम्मेवारीयुक्त पेसा पनि हो । यो ‘बाबु’ वा ‘हाकिम’ बन्ने पेसा पनि होइन । यथार्थमा बहुसङ्ख्यक पेसागत प्रतिबद्धताभन्दा ‘ग्लेमर’ र केही ‘पत्रकार’का शानसौकत र रवाफबाट प्रेरित–प्रभावित देखिन्छन् । त्यसैको मनोवैज्ञानिक प्रभावका रूपमा ‘फङ्सनल पेपर’ भए पनि पत्रकारिता लिने र पत्रकारिता पेसामा लाग्न चाहनेहरूको पनि कमी छैन । छापामा नाम छापिने, रेडियोमा नाम प्रसारण हुने वा टेलिभिजनमा मुहार देखाउन पाइने कुराबाट निर्देशित भएपछि त्यसले पत्रकारिताको स्वस्थ विकासभन्दा विकृति बढाउने काम गर्दछ । यस कारण पनि पत्रकारितामा प्रवेशका लागि निश्चित मापदण्डको कुरो सिद्धान्त र व्यवहार दुवैलाई बराबरी ध्यानमा राखेर अघि बढाउन जरुरी छ ।
नेपालको कानुनी व्यवस्था
कम्तीमा नेपालको कानुनी व्यवस्था पत्रकारको योग्यतामा मौन छैन, भलै वर्तमान सन्दर्भमा त्यो अपर्याप्त होस् । छापाखाना र प्रकाशनसम्बन्धी नियमावलीमा सम्पादक, प्रेस प्रतिनिधि तथा स्वतन्त्र पत्रकारको योग्यतासम्बन्धी व्यवस्था छ (नियम १५) । यसअनुसार, सम्पादक हुन ‘नेपाल सरकारबाट मान्यताप्राप्त कुनै शिक्षण संस्थाबाट स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको’ वा ‘नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा उत्तीर्ण भई नियमितरूपमा प्रकाशित हुने कुनै समाचारप्रधान दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक वा पाक्षिक पत्रपत्रिका वा समाचार समितिमा समाचार सङ्कलन तथा सम्पादन सम्बन्धमा कम्तीमा दश वर्षसम्म काम गरेकोे’ हुनु पर्छ ।
प्रेस प्रतिनिधि वा अस्थायी प्रेस प्रतिनिधि हुन पनि ‘नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट प्रवेशिका वा सो सरहको परीक्षा उत्तीर्ण गरेको’ वा ‘समाचार सङ्कलन वा रिपोर्टिङ सम्बन्धमा कम्तीमा पा“च वर्ष काम गरेको’ हुनुपर्ने प्रावधान छ । स्वतन्त्र पत्रकार हुन ‘नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट पत्रकारितासम्बन्धी विषयमा स्नातक परीक्षा उत्तीर्ण भई १० वर्ष वा सोभन्दा बढी अवधिसम्म पत्रपत्रिकाको सम्पादन वा स्तम्भ लेखनको काम गरेको’ वा ‘नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भई १५ वर्ष वा सोभन्दा बढी अवधिसम्म पत्रपत्रिकाको सम्पादन वा स्तम्भ लेखनको काम गरेको’ हुनु पर्छ ।
सरकारी स्वामित्वका सञ्चार माध्यमहरूमा त निश्चित योग्यता निर्धारण गरिएको मात्र छैन, स्थायी सेवाका लागि पत्रकारितासम्बन्धी परीक्षा दिनुपर्ने व्यवस्था पनि छ ।
फराकिँदो मैदान
नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका पत्रकारहरू १० हजारभन्दा बढी छन् । आर्थिक वर्ष २०७१÷७२ को अन्त्यसम्ममा नेपालभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या दैनिक ६३० र साप्ताहिक दुई हजार ६७२ समेत गरी तिन हजार ७३१ रहेको प्रेस काउन्सिलको अभिलेखले देखाउँछ । यी पत्रिकामध्ये कतिपय प्रकाशित छैनन् र प्रकाशितमध्ये पनि कतिपय अनियमित छन् ।
यस्तै, वि.सं. २०७२ मङ्सिर १४ सम्ममा इजाजत प्राप्त एफ्एम् रेडियोहरूको सङ्ख्या ६५२ र टेलिभिजनको सङ्ख्या ८५ रहेको सूचना तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाउँछ । यीमध्ये कतिपयले फ्रिक्वेन्सी ओगट्ने काम मात्र गरिरहेका छन् । अनलाइन माध्यमको सङ्ख्या वि.सं. २०७२ भदौ २४ सम्ममा २२० पुगेको प्रेस काउन्सिलको सूचीकरणले देखाउँछ ।
अर्थात् सञ्चार माध्यमको मैदान फराकिँलो छ । यससँगै यी सञ्चार माध्यमका लागि आवश्यक जनशक्ति पनि बढ्नु स्वाभाविक हो । यस्तो जनशक्ति पत्रकारिताका मूलभूत सिद्धान्त र व्यवहारसँग अपरिचित रहेमा सञ्चार क्षेत्रमा विकृति जन्मने सम्भावना हुन्छ । यसकारण पनि पत्रकारको योग्यतासम्बन्धी बहस नेपाली सञ्चार माध्यमका सन्दर्भमा महìवपूर्ण छ । बहसलाई ध्यानमा राख्दा तीन कुरो विचारणीय हुन आउँछ ।
पहिलो, नियमावलीले निर्धारण गरेको योग्यता र त्यसको पर्याप्तता । नेपालको सन्दर्भमा पत्रकारितामा प्रवेशका लागि कुनै योग्यता चाहिँदैन भन्ने सोचलाई छापाखाना र प्रकाशनसम्बन्धी नियमावलीले नै गलत साबित गरिदिएको छ तर अढाइ दशकअघिको सो कानुनी प्रावधान वर्तमान सन्दर्भमा भने अनुपयुक्त छ र संशोधन अपरिहार्य छ ।
दोस्रो, पत्रकारितामा स्नातकले मात्र पत्रकारिताका गर्न पाउनु पर्ने तर्क सिद्धान्ततः आकर्षक र पत्रकारिताका विद्यार्थीहरूको पक्षमा देखिए पनि नेपालमा अझैँ पनि केही वर्ष व्यावहारिक देखिँदैन । ध्यानयोग्य पक्ष के हो भने विगतमा पत्रकारितामा सफल व्यक्तिमध्ये कतिपयले पत्रकारिता मूल विषय लिएर स्नातक गरेका थिएनन् । नेपालकै अग्रज पुस्ताका अत्यधिक पत्रकारले पत्रकारिता मूल विषय लिएर अध्ययन गरेका थिएनन्, छैनन् । हो, पत्रकारितासम्बन्धी विभिन्न तालिमबाट सुसज्जित भएर उनीहरूले आफ्नो कामलाई सफलतापूर्वक सम्पादन गरे । तसर्थ, के निश्चित छ भने पत्रकारिता मूल विषय लिएकाहरूले मात्र सफल पत्रकारिता गर्न सक्छन् भन्नु प्रयोगसिद्ध कुरो होइन । पत्रकारितामा स्नातक गरेको व्यक्तिले भन्दा पत्रकारिताको उपयुक्त तालिम लिएको अर्थशास्त्र विषयमा स्नातकले आर्थिक पत्रकारिता बढी सही तरिकाले गर्न सक्छ । अन्य विधागत पत्रकारितामा पनि यो कुरा लागू हुन्छ । हो, पत्रकारिता विषयमा स्नातक व्यक्तिले पनि अन्य विषयको अध्ययन गरेर आपूmलाई सम्बन्धित विषयमा माहिर बनाउन सक्छ । विदेशमा जस्तो विधागत पत्रकारिताको अध्ययन–अध्यापनमा नेपाल अझँै पनि धेरै पछाडि रहेको अर्को विचारणीय पक्ष छ ।
तेस्रो, पत्रकारिता पेसामा प्रवेशका लागि परीक्षाको व्यवस्था । ‘नागरिक पत्रकारिता’ले यस्तो परीक्षाको औचित्यलाई ठाडै नकार्दछ तर व्यावसायिक तथा संस्थागत पत्रकारितामा यस्तो अभ्यासले पत्रकारितामा सम्बन्धित विषयमा आधारभूत जानकारी भएका व्यक्तिहरूको मात्र प्रवेशलाई सुनिश्चित गर्न सक्छ । यसो हुन सकेमा निश्चय नै पत्रकारिताको स्वस्थ विकासमा सघाउ पुग्छ ।
निष्कर्ष
पत्रकारिता पेसामा लागेकाको लापरवाहीले विकराल स्थिति जन्माउन सक्छ भन्ने कुराको उदाहरण नेपालकै ऋतिक रोशन काण्डलाई लिन सकिन्छ । यस्ता अरू पनि थुप्रै ‘ब्लन्डर’का उदाहरण दिन सकिन्छ । यसैले पत्रकारका लागि योग्यतासम्बन्धी बहस एउटा सकारात्मक थालनी हो । यसलाई निचोडमा पु¥याउने काम पनि मूलतः सञ्चारकर्मी र सञ्चारमाध्यमकै हो । एउटा चाहिँ पक्कै हो, निश्चित मानदण्ड पूरा नगरेको व्यक्तिलाई पत्रकारिता पेसामा लाग्ने अनुमति दिनु हुँदैन र पत्रकारको ‘लाइसेन्स’ जन्मदिनमा ‘दहीचिउरा’ बाँडेजस्तो बाँडिनु हुँदैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना